राज्यले तेस्रोलिंगीमाथिको अन्याय सच्याउनुपर्छ : शिक्षिका न्यौपाने

राज्यले तेस्रोलिंगीमाथिको अन्याय सच्याउनुपर्छ : शिक्षिका न्यौपाने

89
SHARES

झापा – सामाजिक सचेतना अभिवृद्धि गर्न विद्यालय सबैभन्दा उपयुक्त मञ्च भएको शिक्षिका अम्बिका न्यौपानेले बताएकी छन्। भुइँतहमा रहेका समुदायका विषयलाई माथि ल्याउन र सबैलाई सचेत गराउन विद्यालयको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

“भुईँबाट माथि ल्याउन र सबैलाई सचेत गराउनका लागि सबैभन्दा राम्रो मञ्च स्कुल हो। स्कुल–स्कुलमा यस खालका कार्यक्रम दिन सकियो भने सबैभन्दा छिटो सामाजिक सचेतना आउँछ भन्ने मलाई लाग्छ,” उनले भनिन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार चुनौती तथा सामाजिक समावेशीकरण सम्बन्धी दमकमा भएको दुई दिने कार्यशालामा सहभागी शिक्षिका न्यौपानेले तेस्रोलिंगी समुदायमा अन्तर्राष्ट्रिय स्तरको छवि भएका व्यक्तिहरू पनि रहेको आफूले थाहा पाएको बताइन्। तेस्रोलिंगी शब्द प्रयोग गर्दा केही व्यक्तिले आपत्ति जनाउने गरेको विषयतर्फ सङ्केत गर्दै शिक्षिका न्यौपानेले भनिन्, “तेस्रोलिंगी समुदाय भन्दा फरक पर्दैन होला नि।”

तेस्रोलिंगी समुदायमा यति धेरै सीप, योग्यता र क्षमता भएका व्यक्तिहरू रहेको आफूले पाएको उनले बताइन्। “यति धेरै सीप, योग्यता, क्षमता भएको समुदाय रहेछ। यो हुँदाहुँदै पनि राज्यले कदर गर्दैन जस्तो मलाई लाग्थेन,” उनले भनिन्, “अहिले आएर त्यो समुदायको दुःख देख्दा, पीडा सुन्दा राज्यले गरेको यो साँच्चिकै अन्याय हो भन्ने लाग्यो। राज्यले यसलाई सुधारेर अघि बढाउनुपर्छ भन्ने मलाई लाग्यो।”

तेस्रोलिंगीहरू आफैँमा निर्भर भएको देख्दा खुसी लागेको पनि उनले बताइन्। पढेलेखेका, योग्य र सक्षम व्यक्तिहरू समुदायमा रहेको पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ छ।

“तेस्रोलिंगीहरू आफैँमा निर्भर भएको देख्दा खुसी पनि लागेको छ। पढेलेखेका, योग्य, सक्षम व्यक्तिहरूको समुदाय रहेछ। उहाँहरूलाई भेटेर धेरै खुसी भएको छु,” उनले भनिन्।

अहिलेसम्म धेरै कार्यक्रममा सहभागी भए पनि यो कार्यक्रम नितान्त फरक लागेको उनले बताइन्। कार्यक्रममा सहभागी भएपछि समुदायका विषयमा धेरै कुरा बुझ्न पाएको महसुस भएको र सिकेका कुराको सदुपयोग गर्नुपर्ने आफूलाई लागेको उनले उल्लेख गरिन्।

“यो मेरो लागि नितान्त फरक कार्यक्रम थियो। मैले अहिलेसम्म कति धेरै कार्यक्रममा भाग लिएको छु, तर यो नितान्त फरक कार्यक्रममा आइपुगेँ। यति धेरै कुरा बुझेँ जस्तो मलाई महसुस भयो। यसको सदुपयोग गर्नुपर्छ भन्ने लागिरहेको छ,” उनले भनिन्।

युरोपियन युनियनको आर्थिक सहयोग तथा एक्सन एडको समन्वयमा मायाको पहिचान नेपाल, लिड नेपाल र समावेशी मञ्च नेपालको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।

लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले स्थानीय सरकार, नगरपालिका तथा गाउँपालिकाको सहयोगमा विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। अरूले नगरेको हुन सक्छ, तर लिड नेपालले शिक्षक र अभिभावकसँग छलफलसमेत गरेको उनले बताइन्।

समाचार शेयर गर्नुहोस्
89
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.