काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएको छ। त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपली आउने प्रसारण लाइनमा चाप परेको छ।
वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गृहकार्य अगाडि बढाएको जनाएको छ। प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नेपाल विद्युत् प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ।
मन्त्रालयले मङ्गलवार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको कार्य अगाडि बढाएको छ।
कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौँ महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत् व्यवस्थापनको सहकार्यका लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताए।
छलफलमा सडक विभागका काठमाडौँ डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माण विभागका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए।
काठमाडौँ महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए।
विद्युत् प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौँ उपत्यकाभित्र गरिरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताबमोजिम सहकार्य गर्ने बताए।
छलफलमा काठमाडौँको लोड व्यवस्थापन र आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गर्दै नेपाल विद्युत् प्राधिकरणले टास्क फोर्स बनाएर हिउँदे माग व्यवस्थापनको काम अगाडि बढाइरहेको जानकारी दिए।
छलफलमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौँको हिउँदे मागको व्यवस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताए। उनले हिउँदमा विद्युत्को चापलाई सहज व्यवस्थापनमार्फत सम्बोधन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको पनि बताए।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.