‘पुरुषको पाठेघर’ : मन्त्री मेहताको सन्दर्भ बीमा अनियमितताको, भाइरल लैङ्गिक पहिचानतर्फ

‘पुरुषको पाठेघर’ : मन्त्री मेहताको सन्दर्भ बीमा अनियमितताको, भाइरल लैङ्गिक पहिचानतर्फ

‘भाइरल क्लिपमा एउटा अर्थ, मन्त्रीको आशय अर्कै’

127
SHARES

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘पुरुषहरूको पनि पाठेघर हुन्छ’ भन्ने अभिव्यक्ति लैङ्गिक पहिचान वा कुनै विशेष समुदायलाई लक्षित गरेर नदिएको प्रस्टीकरण दिएकी छन्।

स्वास्थ्य मन्त्रीको ‘नयाँ खोज, पुरुषहरूको पाठेघर पत्ता लागेको छ’ भन्ने आशयमा सामाजिक सञ्जालमा भाइरल बनाइएको भिडियोबारे मन्त्री मेहताले प्रष्टीकरण दिएकी हुन्। पहिचान मिडियाले स्वास्थ्य मन्त्री निशा मेहतालाई सोधेको प्रश्नमा उनले उक्त अभिव्यक्ति लैङ्गिक पहिचान वा कुनै विशेष समुदायलाई लक्षित गरेर नदिएको प्रस्टीकरण दिएकी हुन्।

मन्त्री मेहताले ‘पुरुषहरूको पनि पाठेघर हुन्छ’ भन्नुभएको रहेछ। यस्तो जानकारी उहाँले कहाँबाट प्राप्त गर्नुभएको हो? उहाँले कुन वर्ग वा समुदायलाई सम्बोधन गर्न खोज्नुभएको हो? पहिचान मिडियाले प्रश्न गरेको थियो।

‘यदि जन्मँदा महिला भएर हुर्किँदै जाँदा पुरुष लैङ्गिक पहिचान अपनाएका व्यक्तिहरूलाई सम्बोधन गर्न खोज्नुभएको हो भने, उनीहरूलाई सामान्य अर्थमा ‘पुरुष’ मात्र नभई ट्रान्सम्यान अर्थात् तेस्रोलिंगी पुरुष भनिन्छ। त्यसैले उहाँले ‘पुरुषहरूको पनि पाठेघर हुन्छ’ भन्नुको खास आशय के हो? कुन लैङ्गिक समूहलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिनुभएको हो? कृपया स्पष्ट पारिदिनुहोस्,’ पहिचान मिडियाले प्रश्न गरेको थियो।

मन्त्री मेहताले ‘पुरुषहरूको पनि पाठेघर निकालेको, हतारहतार …. पैसा क्लेम गर्ने….अहिले हामीलाई धान्न गाह्रो छ’ भनेकी थिइन्। बीमासम्बन्धी मन्त्रीको पूर्ण अभिव्यक्ति नराखी केही अंश मात्र क्लिपका रूपमा सार्वजनिक गरेर भ्रम फैलाइएको सचिवालयले प्रस्ट पारेको छ।

मन्त्री मेहताले स्वास्थ्य बीमामार्फत उपचार खर्च दाबी गर्ने क्रममा केही स्वास्थ्य संस्थाले वास्तविक उपचारसँग मेल नखाने वा झुटा विवरणसहितका कागजात तयार गर्ने गरेको सन्दर्भ उठाउँदै उक्त कुरा उल्लेख गर्नुभएको मन्त्री मेहताको सचिवालयले प्रस्ट पारेको छ।

बीमा दाबीका क्रममा पुरुषको समेत पाठेघर निकालिएको देखाउने कागजात तयार पारिएको तथा एउटै दिनमा दुई पटकसम्म एमआरआई गरिएको देखाउनेजस्ता अस्वाभाविक विवरण भेटिने गरेको विषयतर्फ मन्त्री मेहताले सङ्केत गरेको सचिवालयले बताएको छ।

‘त्यसैले उक्त अभिव्यक्तिलाई ट्रान्सम्यान वा कुनै लैङ्गिक समूहलाई सम्बोधन गरिएको अभिव्यक्तिका रूपमा नबुझिदिनु होला। उहाँको आशय स्वास्थ्य बीमा प्रणालीमा देखिएका गलत विवरण, अनियमितता तथा झुटा कागजात बनाएर भुक्तानी दाबी गर्ने प्रवृत्तितर्फ ध्यानाकर्षण गराउनु थियो,’ मन्त्री मेहताको सचिवालयले प्रस्ट पारेको छ।

मन्त्रीको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा कुनै वर्ग वा समुदाय लक्षित अभिव्यक्तिका रूपमा भाइरल बनाइएको भए पनि, सचिवालयले भने त्यसको सन्दर्भ स्वास्थ्य बीमामा उपचार खर्च दाबी गर्दा देखिएका अस्वाभाविक तथा वास्तविक उपचारसँग मेल नखाने विवरण र कागजातसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।

समाचार शेयर गर्नुहोस्
127
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.