ग्लोबल आइएमई बैङ्कको शेयरधनीहरुलाई १० प्रतिशत लाभांश

ग्लोबल आइएमई बैङ्कको शेयरधनीहरुलाई १० प्रतिशत लाभांश

६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल

68
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ।

शुक्रवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न ग्लोबल आइएमई बैङ्कको २० औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ।

समीक्षा अवधिमा बैङ्कले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। यसैगरी, बैङ्कको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ। स्वीकृत बोनस शेयर वितरणसँगै बैङ्कको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शेयरधनी महानुभावहरूको अटूट विश्वास र निरन्तर साथप्रति आभार व्यक्त गरे। उनले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूको साथ र सहयोगकै कारण बैङ्कले गौरवमय दुई दशकको यात्रा सफलतापूर्वक पूरा गर्न सकेको बताए।

नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैङ्कलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता उनले दोहोर्‍याए।

साथै, ग्राहकहरूलाई अझ सहज र अत्याधुनिक सेवा प्रवाह गर्न डिजिटल बैङ्किङ प्रणालीमा थप लगानी विस्तार गरिने जानकारी पनि उनले दिए।

सभाले बैङ्कको प्रबन्धपत्र तथा नियमावली आवश्यकता अनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैङ्क हो। बैङ्कले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैङ्किङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदै आइरहेको छ।

साथै, यस बैङ्क विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा रेमिट्यान्स भित्र्याउने मुलुककै प्रमुख वित्तीय संस्थाका रूपमा स्थापित छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

साथै, हालैको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूलाई तत्काल राहत र उद्धारको लागि बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा बैङ्कका कर्मचारीहरूको १ दिनको तलब बराबरको रकम सहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.