गोली र गिरफ्तारी झेलेका अनिल खनाल कांग्रेस केन्द्रीय सदस्यको दौडमा

गोली र गिरफ्तारी झेलेका अनिल खनाल कांग्रेस केन्द्रीय सदस्यको दौडमा

119
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अनिल खनालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। बदलिँदो कांग्रेस, जनमुखी कांग्रेस र जिम्मेवार कांग्रेस निर्माणसँगै पार्टीभित्र लोकतन्त्र र पारदर्शिताको एजेन्डा अघि सार्दै खनालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

सडक आन्दोलनबाट उदाएका खनालले अपाङ्गता कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। उनले काम नगरी पद मात्रै ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गर्दै पार्टी र सङ्गठनलाई मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

खनालले अग्रजको सम्मान गर्दै युवालाई प्रोत्साहन गर्ने, राजनीतिमा सृजनशीलताको विकास गर्ने तथा राजनीतिलाई अध्ययन र उद्यमसँग जोड्ने आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले नेपाली कांग्रेसलाई प्रविधिमैत्री, गतिशील तथा ऊर्जाशील पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्तै, उनले स्वरोजगारमूलक वातावरण सिर्जना गर्ने, पार्टीको नीति तथा कार्यक्रमलाई जनताको नीति तथा कार्यक्रममा रूपान्तरण गर्ने र पार्टीका सबै तहका कार्यकर्ताको सम्मान सुनिश्चित गर्ने आफ्नो एजेन्डा रहेको बताएका छन्। आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउँदै समाजवादको लक्ष्यमा पुग्न तथा जेनजी आन्दोलनको मर्म र भावनालाई पार्टीमा स्थापित गर्न पनि आफूले भूमिका खेल्ने खनालको भनाइ छ।

खनालको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी सङ्घसँग आबद्ध हुँदै सुरु भएको हो। उनले २०५६ सालमा काठमाडौँ जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए। २०५६ सालदेखि पटक–पटक गरी पाटन क्याम्पसको इकाई उपाध्यक्षका रूपमा पाँच पटक काम गरेका खनाल पार्टीले आह्वान गरेका हरेक आन्दोलनमा सहभागी हुँदै आएका छन्।

२०५८ साल जेठ १९ गते तत्कालीन शाही प्रहरीबाट गिरफ्तार भएका खनाल निरङ्कुश राजतन्त्रविरुद्धको आन्दोलनमा निरन्तर सक्रिय रहे। २०६२ सालपछि पनि उनी पटक–पटक गिरफ्तार भएका थिए। निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्षकै क्रममा २०६२ साल चैत २४ गते तत्कालीन प्रहरीले आफूलाई सबैभन्दा पहिले गोली प्रहार गरेको खनालले बताएका छन्।

नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्यका रूपमा समेत काम गरेका खनाल २०६४ सालमा तत्कालीन वाईसीएल नेपालका कार्यकर्ताबाट मरणासन्न हुने गरी कुटपिटमा परेको र शरीरका विभिन्न भागमा अङ्गभङ्ग भएको बताउँछन्। अधिनायकवादविरुद्ध तथा लोकतन्त्र रक्षाका लागि आफूले पटक–पटक सङ्घर्ष गरेको उनको भनाइ छ।

‘युवा नेतृत्व अब हाम्रो काँधमा, हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नारासहित खनालले आफ्नो उम्मेदवारी अघि सारेका हुन्। काम नगरी पद मात्रै ओगटेर बस्ने प्रवृत्तिको अन्त्य, पार्टी र सङ्गठनको सुदृढीकरण तथा युवाको सक्रिय सहभागितालाई उनले आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

खनाल नेपाली विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य हुन्। नेपाली कांग्रेस ललितपुर वडा नम्बर ८ का क्षेत्रीय प्रतिनिधि हुँदै उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। अब उनी केन्द्रीय सदस्य बन्ने तयारी लागेका छन्।

समाचार शेयर गर्नुहोस्
119
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.