कांग्रेस महाधिवेशनले गुन्जिँदै खुलामञ्च, देउवा आउने अपेक्षा

कांग्रेस महाधिवेशनले गुन्जिँदै खुलामञ्च, देउवा आउने अपेक्षा

83
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशन उद्घाटनका लागि काठमाडौँको खुलामञ्च झकिझकाउ पारिएको छ।

२०७२ सालको भूकम्पपछि सर्वसाधारणको पहुँचबाट टाढिएको खुलामञ्चमा १० वर्षपछि आइतबार महत्त्वपूर्ण राजनीतिक जमघट हुँदैछ। कांग्रेसको इतिहासमै सबैभन्दा धेरै ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि खुलामञ्चमा सहभागी हुँदैछन्। महाधिवेशनमा करिब ७ हजारदेखि ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ।

देशभरबाट कांग्रेस महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता चलिरहेको छ। पार्टी कार्यालयमा भिड लागेको छ। आइतबार २ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। सहभागी प्रतिनिधिहरूले ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गर्नुपर्ने चालिसेले जानकारी दिए।

महाधिवेशन प्रतिनिधिहरूको सहजताका लागि बसोबास, भोजन र कार्यक्रमसम्बन्धी सम्पूर्ण सूचनाहरू क्युआर कोड र एसएमएसमार्फत उपलब्ध गराउने डिजिटल प्रबन्धसमेत मिलाइएको छ।

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुलामञ्चमा सुरु हुनेछ। कांग्रेसले महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू सोमबार र मङ्गलवार गर्नेछ। निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोज तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनमा यसपटक जेनजी पुस्ताको सहभागितालाई पनि चासोका साथ हेरिएको छ। गत वर्षको जेनजी आन्दोलनपछि कांग्रेसभित्र युवा पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको बहस तीव्र बनेको थियो। त्यसको प्रभाव वडा अधिवेशनदेखि क्षेत्रीय प्रतिनिधि चयनसम्म देखिएको छ। विभिन्न जिल्लामा जेनजी उमेर समूहका युवाहरू वडा सभापति, क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनमा जेनजी युवाको सहभागिता केवल नारामा सीमित नभई पार्टीको तल्लो तहदेखि महाधिवेशन प्रतिनिधिसम्म देखिन थालेको छ। यद्यपि, महाधिवेशनमा सहभागी हुने जेनजी प्रतिनिधिहरूको कुल संख्या भने सार्वजनिक रूपमा यकिन भइसकेको छैन।

युवा सहभागिता बढाउने विषय भने महाधिवेशनको मुख्य बहसमध्ये एक बनेको छ। संशोधित कांग्रेस विधानले पनि पार्टीका विभिन्न तहमा ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ।

१५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यसपश्चात् हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने ब्यहोरा निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले पुनः स्मरण गराएका छन्।

साथै, पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यवस्था रहेको निर्वाचन समितिले स्पष्ट गरेको छ।

महाधिवेशनले विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउने तयारीसमेत गरेको छ। संख्या बढ्ने र घट्ने निर्णय महाधिवेशनको हलबाट हुने प्रवक्ता देवराज चालिसेले बताए।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा भने करिब २१ वर्षपछि कांग्रेसको महाधिवेशनमा सहभागी नहुने भएका छन्। २०५९ सालमा कांग्रेस विभाजन गरी तत्कालीन कांग्रेस प्रजातान्त्रिक बनाएका देउवा २०६२ सालमा भएको कांग्रेसको ११औँ महाधिवेशन बाहिर थिए।

२०६४ मा कांग्रेस र तत्कालीन कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि देउवा कांग्रेसको १२औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धी थिए। सुशील कोइरालासँग सभापतिमा पराजित भएका देउवा १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए।

२०८२ पुसमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति भङ्ग गरिदिएपछि देउवा दलविहीन अवस्थामा छन्। विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट बनेको नेतृत्वलाई लिएर कांग्रेसभित्र विवाद छ।

कांग्रेसले देउवालाई दलविहीन अवस्थामा नबस्न आग्रह मात्रै गरेको छैन, आइतबारदेखि सुरु हुने महाधिवेशन उद्घाटनका लागि अनुरोधसमेत गरिएको प्रवक्ता चालिसेले बताए।

देउवासँगै कांग्रेसमा पारिवारिक विरासत बोकेका केही नेताहरू यो महाधिवेशनमा सहभागी नहुने देखिएको छ। बीपी कोइरालापुत्र शशाङ्क, पूर्णबहादुर खड्का, शेखर कोइराला, गणेशमान सिंहपुत्र प्रकाशमान र कृष्ण सिटौला पनि महाधिवेशनमा सहभागी हुने छैनन्।

गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता भने महाधिवेशनमा सहभागी हुने निश्चित भएको छ। देउवा भने कांग्रेसको समानान्तर अधिवेशनतिर लागेका छन्। जसले कांग्रेसमा विभाजन देखिएको छ।

तर, देउवा पक्षका अधिकांश नेताहरू गगन नेतृत्वको कांग्रेसमा आएका छन्। भटाभट उम्मेदवारी घोषणा गरिरहेका छन्। कांग्रेसमा देउवा पक्षका नेताका रूपमा चिनिएका नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। पार्टीमा गुट अन्त्य गर्ने उनको एजेन्डा छ।

कांग्रेसको सभापतिमा भने आधिकारिक रूपमा उम्मेदवारी घोषणा भइसकेको छैन। महाधिवेशन प्रतिनिधिहरू पनि खुलेका छैनन्। सभापति बाहेकका पदमा भने उम्मेदवारी घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। कांग्रेस नेता सुनिल शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ऐतिहासिक १५औँ महाधिवेशनमा सरकारको नेतृत्व गरेको दलका सभापतिदेखि विपक्षी सहयात्री दलका नेताहरूलाई खुलामञ्चमा निमन्त्रणा दिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसको १५औँ महाधिवेशनमा पुरानो पुस्ताका अनुभवी नेता–कार्यकर्तासँगै नयाँ पुस्ताका युवाको सहभागितालाई पनि विशेष चासोका साथ हेरिएको छ। जेनजी आन्दोलनपछि राजनीतिमा पुस्तान्तरण र युवा सहभागिताको बहस तीव्र बनेका बेला कांग्रेसको महाधिवेशनमा वडा तहदेखि महाधिवेशन प्रतिनिधिसम्म जेनजी युवाहरूको उपस्थिति देखिएको छ।

कांग्रेस महाधिवेशनले १० वर्षपछि खुलामञ्च गुञ्जायमान बन्ने देखिएको छ। पार्टीभित्र एकताका लागि आह्वानदेखि देश विकासका लागि सहकार्यका आवाज घन्कनेछन्। यतिबेला देशको राजधानी कांग्रेसमय बनेको छ।

सवारीसाधन पार्किङ कहाँकहाँ?

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा व्यवस्थापन मिलाएको छ।

कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात व्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजय बहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठुला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए। धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुनेछ।

कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ। आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन व्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेता कार्यकर्तालाई आग्रहसमेत गरेको छ। त्यसो हुँदा सवारी आवागमन व्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.