एउटै कृतिमा साहित्यिक र गैरसाहित्यिक खुराक समेट्दै प्रकाशनमा आएको ‘सिर्जना र अनुभूति’ मार्फत सङ्गीता दाहालले सृजनशीलताको नयाँ आयामलाई बाहिर ल्याएकी छिन्।
सरल र सहज भाषा तथा आत्मीय लेखनशैलीका कारण यो कृति रोचक तथा संग्रहणीय बनेको देखिन्छ। ‘सिर्जना र अनुभूति’ केवल विभिन्न विषयको संग्रह मात्र नभई सिर्जना, अध्ययन, अनुभव र अनुभूतिलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा प्रस्तुत भएको कृति हो।
कविता भट्टराई, निमित्त बैजनाथ–यमुना भट्टराई प्रतिष्ठान (मौवाखोला, साँघु, ताप्लेजुङ) ले बजारमा ल्याएको पुस्तकमा विभिन्न साहित्यिक विषय, कृति, स्रष्टा, व्यक्तित्व, अनुभव र अनुभूतिलाई समेटिएको छ। लेखक दाहालका आफ्ना दृष्टिकोण र अनुभूतिसहित कृतिमा विभिन्न स्थापित स्रष्टाका विशिष्ट रचनामाथि मूल्याङ्कन प्रस्तुत गरिएको छ। विभिन्न कृतिगत वा अलग रचनाको समीक्षा, टिपोट र संक्षिप्त समालोचना यो कृतिमा समेटिएको छ।
कृतिमा रहेका सत्ताइस आलेखमध्ये ७ लेखमा लेखकका आफ्नै अनुभव र अनुभूति समेटिएका छन्। विविध कृति र स्रष्टासँग सम्बन्धित रचनाहरूमा ‘अन्तर्मनको यात्रा’ कृतिदेखि राष्ट्रियताको परीक्षण विधि, शब्दबिम्बमा सत्यमोहन, सुलोचना मानन्धरको ‘तेजोडसि’ आदि विषय समेटिएका छन्।
स्रष्टा सुलोचनाको नियात्राबारे ‘अर्को गोलार्धका मनहरू’ माथि लेखिएको छ। “कृतज्ञता अधिकार होइन, कर्तव्य हो” भन्दै डा. सरोज धिताल र सुलोचना दम्पतीको काठमाडौँदेखि क्यानडासम्मको यात्रामा देखे–भोगेका अनुभवलाई समेटिएको छ।
यो लेखाइबाट हङकङको बजारमा विक्रेताको कला, समयको उपयोग गर्ने कला, क्यानडाको परिवारप्रतिको संस्कार आदिका बारेमा राम्रोसँग थाहा हुन्छ। परिवारको एउटा सदस्य आफ्नै घर आउँदा पनि पाहुनाका रूपमा बस्नुपर्ने नियम अनौठो लाग्छ।
अर्को अचम्म लाग्दो कुरा, त्यहाँ धेरैजसो भगवान् कृष्णका अनुयायी भेटिन्छन्। कोही साइबाबाका भक्त पनि भेटिन्छन्। यो देख्दा लाग्छ– आफ्नो धार्मिक आस्था र विश्वासलाई कुनै सम्प्रदाय या भौगोलिक दृष्टिले नछेक्ने रहेछ।
समुद्र नभएको देशका यात्रीहरू स्विमिङ कस्टम किनेर समुद्री छालमा रमाउन चाहनु र डा. इथेनकी ८३ वर्षीया आमा आफैँ जिप हाँकेर हिँड्नुले परिस्थितिअनुसार आफूलाई खुसी बनाउन सकिने रहेछ भन्ने पाठकलाई दिन खोजिएको सन्देश पनि हो।
“महिलाले आमा हुन रोज्नुपर्छ कि प्रोफेसन?” यो प्रश्न महिलाले गम्भीर रूपमा लिनु आवश्यक छ। र, यो प्रश्नको उत्तर पनि महिला स्वयंले दिन पाउनुपर्छ। भिन्न मुलुकको भिन्न संस्कृतिलाई लिएर लेखिएको यो आलेख ‘अर्को गोलार्धका मनहरू’ शीर्षकअन्तर्गत छ।
सत्यमोहन जोशीको कृति “मृत्यु एक प्रश्न” मृत्युमाथिको चिन्तन र एक शाश्वत सत्य हो। ‘जन्मसँगै मृत्यु आउँछ, यसलाई पनि माया गर्नुपर्छ। मृत्युदेखि टाढा भाग्ने वा डराउने सधैँ मृत्युको सिकार भइराख्छ। मृत्युलाई सहज रूपमा लिने सधैँ बाँचिरहन्छ’– यो आलेखमा पूर्वीय दर्शनको ज्ञान पाइन्छ। यो आलेखले ‘म को हुँ’ भन्ने कुराको आभास गराउँछ पाठकलाई।
श्रीकृष्णको भक्तिमा आफूलाई चुर्लुम्म डुबाएर लेखिएको यो भक्तिभाव गीतिभावमा पनि उत्तिकै डुबेको छ। “दुःख तिमी अनि सुखका क्षण तिमी, विश्वभरिमा केवल तिमी–तिमी, भ्रमको पर्दाभित्र तिमी, अनि केवल तिमी सर्वत्र तिमी!” पीताम्बर उपाध्यायद्वारा लिखित यो कृष्ण भक्तिधारा पुस्तकको समीक्षा रचना प्रतिभाबाट ‘सिर्जना र अनुभूति’मा राखिएको हो।
‘तेजोडसि’ शीर्षक पढ्दा नेपालको सामाजिक मूल्य–मान्यता र जातजातिबीचको कुसंस्कारको पर्खाल, एउटी शिक्षित बुहारीले सासु–ससुराप्रति गर्नुपर्ने आदर, सम्मान तथा भक्तिभाव र ईश्वरीय आस्थाले सत्यको बाटोमा ल्याउन सफल भएको सन्दर्भलाई राम्ररी उठाएको छ।
स्वयंपाके ब्राह्मण ससुराले कसरी नेवार समुदायकी बुहारीले पकाएको खाने भन्ने सन्दर्भ त एकातर्फ छँदैछ, साथै साहित्यमा लागेकी बुहारीलाई लेखपढ गर्न सहज बनाइदिने माहोलका बारेमा पनि चर्चा गरिएको छ।
एउटी शिक्षित बुहारीले वर्षौँदेखि जकडिएको कुसंस्कारको पर्खाल भत्काएकोमा पाठकको आँखा हर्षले विभोर हुन्छ। यो समीक्षा पढेपछि सम्बन्धित पुस्तक खोजेर पढ्न उत्प्रेरणा जाग्छ, पाठकवर्गलाई। माओवादी द्वन्द्वकालमा घटेका घटनाले र राजा वीरेन्द्रको वंशनाशको घटनाले पाठक स्तब्ध हुने अवस्था आउँछ।
खेम दाहालद्वारा लिखित ‘श्वेतपत्र’ खण्डकाव्यको बारेमा गरिएको समीक्षाले पाठकलाई यो पुस्तक पढ्न थप उत्साह दिन्छ। नेपाल–भुटान र सिक्किमलाई पात्र बनाइएको यस खण्डकाव्यमा नेपाल जेठी दिदी, भुटान माहिली र सिक्किम कान्छी बहिनीको रूपमा छन्। यी दिदीबहिनीले आफूलाई परेको पीरव्यथा एकअर्कालाई सुनाउँछन् पनि। उनीहरूले आफ्नो सीमामा जोडिएका ठूला छिमेकी राष्ट्रको भूमिका साथै संयुक्त राष्ट्रसङ्घको व्यवहारलाई देखाउनाका साथै नेपालले आन्तरिक द्वन्द्व र किचलोमा परेको पीडा समेत उल्लेख गरेका छन्। यी तीन दिदीबहिनीले एकअर्कामा कहिल्यै नछुटिने कसम पनि खान्छन्। नेपाल अनि भुटान, सिक्किम विभाजित भए तर जननीका एकै सन्तान भएकाले एकअर्कामा नछुट्ने शपथ खानुपर्छ भन्ने सन्देशसहितको यो खण्डकाव्यको समीक्षा पनि निकै संवेदनशील भएर गरिएको छ।
यो आलेख पढ्दा भूगोलको यो पाटोको राजनीति र इतिहासका बारेमा राम्रैसँग थाहा हुन्छ। जेठी दिदी नेपाल आन्तरिक कलह र द्वन्द्वको पीडामा छिन् भने माहिली बहिनी सिक्किम स्वाधीनता गुमेर घाइते भएकी छिन्। कान्छी भुटानलाई पनि आफ्ना सन्तान शरणार्थी भएर बिदेसिएकोमा पिरलो छ।
वैदिक चेतनामा ‘रात’ शीर्षकमा लेखिएको सुलोचना मानन्धरको ‘रात’ काव्य र मालामणि दीक्षितको ‘रात्रीदेखि’को बारेमा तुलना गरिएको छ। सुलोचना मानन्धरले रातलाई बूढो सोझो माझीको संज्ञा दिएकी छिन् भने कतै अभिभावकको संज्ञा जोडेकी छिन्। साथै, कसैको हक नलाग्ने निजी सम्पत्तिको संज्ञा समेत दिएकी छिन्। “न्याय मरेको त्यो रात गुहारबाट पराजित म द्रौपदी भएर युद्ध भोगिरहेँ। छिन्नमस्ता, द्रोणाचार्य र कृपाचार्यहरू टुलुटुलु दर्शक भएर हेरिरहे!” दीक्षितका कृतिमा रातलाई सूर्यको उत्पत्तिका लागि जन्म दिने आमाको विम्बमा उतारिएको छ। दीक्षितको यो भावनासँग सुलोचना मानन्धरको पनि भावना मिल्न जान्छ।
“रात गर्भवती आमा हो, नपत्याए पर्खिबस, भोलि बिहानै सूर्य जन्माउने छ उसले!” रातलाई हामीले अँध्यारोको रूपमा लिन्छौँ तर, यो समीक्षा पढेपछि उज्यालो प्रकाश ल्याउने माध्यम पनि रात हो भन्ने कुरा पाठकलाई बोध हुन्छ।
लेख्नु, पढ्नु एउटा काम नभएर साधना हो। त्यसैले होला, भौतिक शरीर कमजोर र दुर्बल भए पनि यो साधनाका लागि चेत आइरहनु! महापण्डित भनेर चिनिने राहुल सांस्कृत्यायनले आफ्नो शरीर दुर्बल भएको बेलामा उहाँको आहारा दूध फटाएर रहेको पानी मात्र हुँदा पनि लेख्ने क्रम चलिरहेको थियो। त्यसैगरी, जगदीश घिमिरे ‘माइलोमा क्यान्सर’ जस्तो डरलाग्दो रोगसँग जुध्दै गर्दा पनि आफ्नो लेखन कार्य सुचारु राखेको बारे पाठकलाई थोरबहुत जानकारी हुन्छ।
जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’मा दर्शन, इतिहास, राजनीति, साहित्य, संस्कृति, सूचना, औषधि विज्ञान, वनस्पति, वंशावली, धर्म, सन्त–महात्मा आदि भएको कुरा जानकारीमा आउँछ र यो पुस्तक पढ्नै पर्ने रहेछ भन्ने कौतूहलता पाठकमा उब्जन जान्छ।
‘हरिमानको आत्महत्याको इतिवृत्त’ शीर्षकमा लेखिएको आलेखले नेपाली समाजको यथास्थितिलाई जनाउँछ। पुरुषप्रधान समाजमा नारीलाई हेर्ने दृष्टिकोण र देशको राजनीतिक अवस्थाले निम्त्याएको परिस्थिति तथा एउटै परिवेशमा हुर्केका साथीभाइ पछि परिस्थितिले धनी र गरिब बन्दा धनीले गरिबलाई हेर्ने दृष्टिकोण आदिका बारेमा पनि चिन्तनशील खुराक भेट्न सकिन्छ। यो लेखमा समग्रमा समाजमा विद्यमान विकृति र विसङ्गतिलाई उठाइएको छ।
‘राष्ट्रियताको परीक्षण विधि’ शीर्षकमा स्रष्टा आफैँले देखेका कुराको अनुभवलाई उतारिएको छ। राजनीतिक दलहरू जन्मने बेलामा आफ्नो जीवन आहुति दिने वा सही अर्थमा र सकेसम्म बढी योगदान दिने व्यक्तिको नाम कहिल्यै पनि आउँदैन। बरु अरू बाहिरिया नाम काममा अग्रपंक्तिमा आइरहेका हुन्छन्। त्यसबेला लेखकलाई मोदनाथ प्रश्रितको ‘नारी मुक्ति र बन्धन’ कृतिले प्रभावित पारेको बुझिन्छ। अराष्ट्रिय तत्त्व भनेरै बीपी कोइरालालाई त्यो बेला नपढेको (पढ्न नचाहेको) र अहिले भने बीपीको किताबले निकै प्रभाव पारेको सन्दर्भ उल्लेख गरिएको छ।
अझ रमाइलो कुरा राजा महेन्द्रले बीपीको बारेमा आफ्ना बुबा त्रिभुवनको आत्मालाई सोधेको कुरा छ। ‘तुसानल’ (भुसको आगो) शीर्षकको आलेख पढ्दा लाग्छ– यो पुस्तक ज्ञान र दर्शनले भरिएको छ। बाहिरबाट हेर्दा देखिने सत्यभित्र भने अरू नै कुराबाट परिचालन हुन्छ। हामीले सत्य मानेको कुरा सत्य नहुन सक्छ। नेपालको राजनीति लगायत महाभारत र रामायणबाट लिनुपर्ने शिक्षाको बारेमा प्रस्ट हुन्छ। त्यसैले अहिलेको युवालाई यो पुस्तक पढ्नैपर्ने भनिएको छ।
रानी जगदम्बाले बनाएको धाराको वर्णन गर्दा पाठकलाई पनि कर्कलेको उकालो चढेको अनुभव हुन्छ। जसरी रानी जगदम्बाले त्यस्तो विकट ठाउँमा खानेपानीको व्यवस्था गरिन्। साहित्यमा पनि जगदम्बाको नाममा पुरस्कार राखिएको छ। समाजसेवा र साहित्यमा योगदान पुर्याउने रानी जगदम्बा र जगदीश घिमिरेमा फरक पाइँदैन। जगदीश घिमिरेका दम्पतीले पनि रामेछापमा खानेपानी व्यवस्था गरिदिएका छन्। ‘अन्तर्मनको यात्रा’ पुस्तकबाट आएको रकम समाजसेवामा लगाउनु पनि कृतज्ञताको अर्को उदाहरण हो। यो समीक्षात्मक आलेख पढ्ने जो कोहीलाई पनि ‘अन्तर्मनको यात्रा’ पढिहालौँ भन्ने उत्सुकता जाग्न सक्छ।
फरक विषय र विधासँग सम्बन्धित सामग्रीलाई समेटेर पुस्तकलाई विविधता स्वरूपमा पूर्ण बनाइएको छ। भाषा शैलीको दृष्टिले हेर्दा पुस्तकमा सरल र सहज भाषाको प्रयोग गरिएको छ। विषयलाई पाठकले सजिलै बुझ्न सकिने गरी प्रस्तुत गरिएको छ। विभिन्न कृति, व्यक्तित्व र अनुभूतिबारे चर्चा गर्दा भाषा कतै भावनात्मक र कतै विश्लेषणात्मक बनेको पाइन्छ। यस पुस्तकको सबल पक्षमध्ये लेखकको लेखन शैली विशेष उल्लेखनीय लाग्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.