वालेनको ‘नयाँ पार्टी’ : गगनमाथि प्रश्न, देउवातिर संकेत?

वालेनको ‘नयाँ पार्टी’ : गगनमाथि प्रश्न, देउवातिर संकेत?

96
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली कांग्रेसलाई ‘नयाँ पार्टी’ भनेर गरेको टिप्पणीले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ। पूर्वसभापति शेरबहादुर देउवा र गगनकुमार थापा नेतृत्वको कांग्रेसबीच चलिरहेको आधिकारिकता विवादकै बीच प्रधानमन्त्री शाहको ‘नयाँ पार्टी’ टिप्पणी सार्वजनिक भएपछि यसको राजनीतिक अर्थबारे बहस सुरु भएको हो।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र सकिए लगत्तै प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्!’ भनेर लेखेका थिए। प्रधानमन्त्री शाहको उक्त टिप्पणी कांग्रेसको महाधिवेशनमा सहभागी नेताहरूले सरकार र प्रधानमन्त्रीको भूमिकामाथि गरेको आलोचनापछि आएको हो।

खुलामञ्चमा कांग्रेसको महाधिवेशन चलिरहेका बेला प्रधानमन्त्री शाहले लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसलाई ‘नयाँ पार्टी’ भनेर सम्बोधन गर्नुलाई गगन थापा नेतृत्वको कांग्रेसलाई लक्षित टिप्पणीका रूपमा समेत हेरिएको छ।

राजनीतिक वृत्तमा थापा नेतृत्वको कांग्रेसको आधिकारिकता स्वीकार नगरेको सङ्केतका रूपमा व्याख्या गरिएको छ। यद्यपि, प्रधानमन्त्री शाहले आफ्नो स्ट्याटसमा गगन थापा, कांग्रेसको आधिकारिकता विवाद वा कुनै पक्षको वैधानिकताबारे प्रत्यक्ष रूपमा केही उल्लेख गरेका छैनन्।

प्रधानमन्त्री शाहको टिप्पणीको पृष्ठभूमिमा कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा सभापति गगनकुमार थापाले व्यक्त गरेको धारणा पनि जोडिएको छ। थापाले संसद् बन्द रहेको र संसद्मा प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म संसद् खुलेको मान्न नसकिने धारणा राखेका थिए।

संसद् खुला हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीको संसदीय उपस्थितिको विषय उठाएका थिए। त्यसपछि प्रधानमन्त्री शाहले खुलामञ्चलाई जोडेर सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका हुन्। महाधिवेशन उद्घाटन समारोहमा अन्य नेताहरूले समेत सरकारको कार्यशैलीमाथि टिप्पणी गरेका थिए।

प्रधानमन्त्री शाहको स्ट्याटसमा कांग्रेसलाई ‘नयाँ पार्टी’ भनेर सम्बोधन गरिएपछि त्यसको राजनीतिक अर्थबारे कांग्रेसभित्र र बाहिर बहस सुरु भएको छ। कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेर्दा उक्त टिप्पणीलाई पूर्वसभापति शेरबहादुर देउवा पक्षसँगको राजनीतिक सम्बन्ध र कांग्रेसभित्र देखिएको दुई धारको सन्दर्भमा समेत हेरिएको छ।

कांग्रेसमा गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि आधिकारिकताको विवाद सुरु भएको थियो। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत पुगेको थियो।

२०८३ वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णयलाई निरन्तरता दिएको थियो।

तर, त्यसपछि पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पक्षबाट सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन परेको थियो। सर्वोच्च अदालतले २०८३ साउन २१ गते अघिल्लो फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ।

सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि न्यायिक परीक्षणको प्रक्रियामा लैजाने अनुमति दिएपछि कांग्रेसको आधिकारिकताको विषय पुनः कानुनी प्रक्रियामा प्रवेश गरेको हो।

यही विवादका बीच गगन थापा नेतृत्वले १५औँ महाधिवेशन खुलामञ्चमा आयोजना गरेको हो। देउवा पक्षले भने गगन थापा नेतृत्वको विशेष महाधिवेशन र त्यसबाट बनेको कार्यसमितिलाई स्वीकार नगर्ने अडानसहित छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।

देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी छुट्टै कार्यतालिका अघि सारेको छ। देउवा पक्षले महाधिवेशन कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराएको छ।

सर्वोच्च अदालतले साउन २१ गते अघिल्लो फैसलामाथि पुनरावलोकनको अनुमति दिएपछि देउवा पक्षले गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियालाई स्वीकार नगरी आफ्नो छुट्टै सङ्गठनात्मक प्रक्रिया अघि बढाएको हो।

विदेशमा रहेका पूर्वसभापति देउवा स्वदेश फर्किएपछि कांग्रेसभित्रको शक्ति समीकरण र आधिकारिकता विवाद थप चर्चामा आएको छ। देउवा विदेशमा रहँदा सरकारको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनी र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सर्वोच्च अदालतले २०८३ जेठ ११ गते देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि देउवा स्वदेश फर्किएका छन्। कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको समानान्तर तयारीलाई पूर्वसभापति देउवाको राजनीतिक भूमिकासँग जोडेर पनि हेरिएको छ।

प्रधानमन्त्री शाहको स्ट्याटसमा कांग्रेसलाई ‘नयाँ पार्टी’ भनिएपछि यसलाई गगन थापा नेतृत्वको कांग्रेसको वैधानिकता स्वीकार नगरेको सङ्केतका रूपमा व्याख्या गर्नेहरू पनि छन्। त्यसैगरी, केही राजनीतिक वृत्तमा प्रधानमन्त्री शाहको उक्त टिप्पणीलाई देउवा पक्षसँग जोडेर कांग्रेसको नेतृत्व पुनः पूर्वसभापति शेरबहादुर देउवाको प्रभावमा पुग्ने सम्भावित राजनीतिक समीकरणसँग समेत जोडेर हेर्न थालिएको छ।

तर, प्रधानमन्त्री शाहले आफ्नो स्ट्याटसमा देउवा वा कांग्रेसको नेतृत्व कसलाई समर्थन गर्ने भन्नेबारे कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। यो विषय अहिले राजनीतिक टिप्पणी, आशङ्का र व्याख्याका रूपमा मात्र उठेको छ।

प्रधानमन्त्री शाहको उक्त स्ट्याटसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया पनि आएका छन्।

कांग्रेस नेता सचिन तिमल्सिनाले ‘धन्न कांग्रेसले यो देशमा लोकतन्त्र स्थापना गरेछ, प्रधानमन्त्री नै भए पनि ९ बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन्’ भनेर जवाफ लेखेका छन्।

जेनजी अभियन्ता रक्षा बमले ‘धन्न जेनजीहरूले आन्दोलन गरिदिएर, रगत बगाइदिएर, घाइते सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्’ भनेर लेखेकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ‘धन्न श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज कोही प्रधानमन्त्री, कोही मन्त्री हुँ भन्न पाएका छौँ, संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ म नेपाली हुँ भन्न पाएका छौँ’ भनेर प्रतिक्रिया दिएका छन्।

नेपाली कांग्रेसको बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेनको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताएका छन्।

प्रधानमन्त्री वालेनको स्ट्याटस कांग्रेसको आधिकारिकता विवादलाई थप उराल्न आएको टिप्पणी पनि भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलमाथि पनि प्रधानमन्त्री वालेनको स्ट्याटसबारे प्रश्न सोधिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले खुलामञ्चबारे लेखेको स्ट्याटसबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता पोखरेलले स्पष्ट जवाफ दिएनन्। पोखरेलले प्रधानमन्त्रीबाट तुच्छ टिप्पणी नभएको दाबी गरे।

खुलामञ्च र कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले ‘नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भनेर गरेको टिप्पणीले कांग्रेसभित्र र बाहिर राजनीतिक बहस सिर्जना गरेको छ। उक्त टिप्पणी कांग्रेसको आधिकारिकता विवाद, गगन थापा नेतृत्वको विशेष महाधिवेशन, देउवा पक्षको समानान्तर महाधिवेशन तयारी र पूर्वसभापति शेरबहादुर देउवाको आगामी राजनीतिक भूमिकासँग समेत जोडेर हेरिएको छ।

सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकनको प्रक्रियामा रहेको र दुवै पक्षले आ–आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइरहेको अवस्थामा प्रधानमन्त्रीको ‘नयाँ पार्टी’ टिप्पणीले भने त्यस विवादलाई थप राजनीतिक बहसको केन्द्रमा ल्याएको छ। प्रधानमन्त्री शाहले समेत आफ्नो टिप्पणीको राजनीतिक अर्थबारे अहिलेसम्म कुनै स्पष्ट जवाफ दिएका छैनन्।

समाचार शेयर गर्नुहोस्
96
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.