कांग्रेस महाधिवेशनमा विचारभन्दा चुनावी प्रतिस्पर्धा हाबी, उम्मेदवारको लर्को

कांग्रेस महाधिवेशनमा विचारभन्दा चुनावी प्रतिस्पर्धा हाबी, उम्मेदवारको लर्को

76
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दिनेहरूको लर्को लागेको छ। महाधिवेशन प्रतिनिधिहरू पार्टीको विचार र नीतिभन्दा बढी चुनावी प्रतिस्पर्धामा उत्साहित देखिएका छन्।

महाधिवेशनमा पार्टीको आगामी दिशा, विचार र नीतिभन्दा सभापतिसहितका पदाधिकारी तथा केन्द्रीय सदस्यमा कसले उम्मेदवारी दिने र कसले जित्ने भन्ने चुनावी विषयले प्राथमिकता पाएको देखिएको छ। उम्मेदवारहरूको बढ्दो संख्या, पदाधिकारीका विभिन्न पदमा देखिएको प्रतिस्पर्धा र आकाङ्क्षीहरूको सक्रियताले कांग्रेस महाधिवेशनलाई चुनावी एजेन्डामा बढी केन्द्रित बनाएको छ।

कांग्रेसले नेता व्यवस्थापनका लागि केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ। पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ।

सभापतिसहितका पदाधिकारी र केन्द्रीय सदस्य बन्न उम्मेदवारी दिनेहरूको ताँती लाग्दा कांग्रेस महाधिवेशन चुनावी एजेन्डामा केन्द्रित बनेको छ। हावाहुरी र पानीको पर्बाह नगरी आकाङ्क्षीहरूले मनोनयन दर्ता गरेका छन्। दिउँसो ४ बजेसम्मका लागि भनिएको मनोनयन दर्ताको समय बेलुकी ७ बजेसम्म चलेको थियो।

नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ। गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। थापा विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

सभापतिमा उम्मेदवारी दिएका खड्गी गगन थापाका गुरु हुन्। राठौर २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए।

कांग्रेसले गुट, उपगुट र प्यानल बनाएर उम्मेदवारी नदिन नेताकार्यकर्ताहरुलाई आग्रह गरेको थियो। उम्मेदवारी दर्तामा गुट, उपगुट र प्यानल देखिएको छैन। तर, उम्मेदवारी दिएका अधिकांशले गगन नै अबको सभापति भएको घोषणा गरेका छन्।

यसले महाधिवेशनमा औपचारिक रूपमा गुट, उपगुट र प्यानल नदेखिए पनि उम्मेदवारहरूको राजनीतिक रोजाइ र नेतृत्वप्रतिको समर्थन चुनावी प्रतिस्पर्धामै केन्द्रित रहेको देखाएको छ। सहमहामन्त्रीमा उम्मेदवारी दिएका रामहरि खतिवडाले नयाँ र पुरानो पुस्तालाई जोड्ने नेतृत्व आउने बताए।

सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी दर्ता भएको छ। शर्मा र भुसाल निर्विरोध निर्वाचित भएका छन्।

उपसभापति खुला दुई पदमा नौजनाको उम्मेदवारी दर्ता भएको छ। डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उपसभापति खुलातर्फ उम्मेदवारी दर्ता गराएका हुन्।

उपसभापति समावेशीतर्फ पाँचजनाको उम्मेदवारी दर्ता भएको छ। विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिमा उम्मेदवारी दर्ता गराएका खर्बपति चौधरीले आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताए।

महामन्त्री महिलातर्फको एक पदका लागि डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दर्ता गराए। महामन्त्री खुला दुई पदका लागि शङ्कर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन्।

सहमहामन्त्रीमा खसआर्यतर्फ एक पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतले मनोनयन दर्ता गराएका छन्।

आदिवासी जनजातिबाट सहमहामन्त्री एक पदका लागि बहादुरसिंह लामा र तारामान गुरुङको मनोनयन दर्ता भएको छ। मधेसीबाट सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादवको उम्मेदवारी परेको छ।

दलित सहमहामन्त्रीका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपालीले मनोनयन दर्ता गराएका छन्। थारुबाट सहमहामन्त्रीमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले मनोनयन दर्ता गराएका छन्।

अल्पसंख्यक र अपाङ्गतातर्फ नगेन्द्र कुमाल, योगेश गौचन र आङ्गेलु शेर्पाको मनोनयन दर्ता भएको छ। मुस्लिमबाट फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसलमानले मनोनयन दर्ता गराएका छन्।

खुला सहमहामन्त्रीमा अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले मनोनयन दर्ता गराएका छन्।

पिछडिएको क्षेत्रतर्फ कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले मनोनयन दर्ता गराएका छन्। सहमहामन्त्री महिलामा नानु बास्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराएका छन्।

कांग्रेसको नयाँ नेतृत्वमा खर्बपति विनोद चौधरीदेखि १८ वर्षीया अभीप्सा पौडेलसम्म उम्मेदवार बनेका छन्। पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन्।

नयाँ कार्यसमितिमा युवाहरूको उत्साह देखिएको छ। महाधिवेशन प्रतिनिधिहरूले पनि पटकपटक पदमा पुगेका तर डेलिभरी दिन नसकेका भन्दा सक्षम मिश्रित खालको कार्यसमिति आउनुपर्ने चाहना व्यक्त गरेका छन्।

कांग्रेसको साङ्गठनिक संरचना नै फेरबदल गरी नेतृत्व तहमा महिलालाई सुनिश्चितता गरिएको छ। केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरिएको छ।

सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनीत गरी दुई महिला सुनिश्चित गरिएको छ। यस पटकदेखि विधानमै एक उपसभापति र महामन्त्रीको व्यवस्था गरिएपछि महिला नेतृहरू उत्साही भएका छन्। सबैलाई समान अवसरको महसुस गराउन पदाधिकारीमा नयाँ व्यवस्था गरिएको सभापतिका उम्मेदवार गगन थापाले बताए।

अधिकांश नेताहरू महाधिवेशनमा सहभागी भए पनि पूर्वसभापति शेरबहादुर देउवा छुट्टै महाधिवेशनमा लागेका छन्। अबको नयाँ कार्यसमितिले देउवासहितका असन्तुष्ट नेताहरूलाई पनि मूल कांग्रेसमा ल्याउन पहल गर्ने उपसभापतिमा निर्विरोध निर्वाचित पुष्पा भुसालले बताइन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चुनावी रौनक देखिएको छ। महाधिवेशनको मूल गतिविधि नै नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता र पदाधिकारी तथा केन्द्रीय सदस्यबीचको प्रतिस्पर्धामा केन्द्रित भएको छ।

सभापतिमा उम्मेदवारी दिएका गगन थापालाई भने उम्मेदवार व्यवस्थापनमा सकस पर्ने देखिएको छ। अधिकांश उम्मेदवारको रोजाइमा परेका थापा सामु कसलाई छोड्ने र कसलाई च्याप्ने भन्ने उम्मेदवार व्यवस्थापनको चुनौती देखिएको छ। नयाँ कार्यसमिति चयनका लागि ठूलो संख्यामा आकाङ्क्षी मैदानमा उत्रिएपछि थापाका लागि उम्मेदवार व्यवस्थापन पनि महाधिवेशनको महत्त्वपूर्ण चुनावी चुनौती बनेको छ।

समाचार शेयर गर्नुहोस्
76
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.