मधु आचार्य उपसभापति र तीर्थ लामा केन्द्रीय सदस्यमा उम्मेदवार

मधु आचार्य उपसभापति र तीर्थ लामा केन्द्रीय सदस्यमा उम्मेदवार

79
SHARES

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काभ्रेपलान्चोकका पूर्वसभापति मधु आचार्यले उपसभापति र सभापति तीर्थ लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

आचार्यले उपसभापति खुलातर्फ उम्मेदवारी दर्ता गरेका छन् भने लामाले आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेस काभ्रेपलान्चोकका पूर्वसभापति आचार्य नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख पनि हुन्। उनले पार्टी सुधार र सुदृढीकरणका लागि देशव्यापी ‘मेची–महाकाली अभियान’ सञ्चालन गरेका थिए। उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट पराजित भएका थिए।

आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस काभ्रेपलान्चोकका सभापति लामा संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन्।

काभ्रेपलान्चोक जिल्ला सभापतिको रूपमा सङ्गठन निर्माणमा गरेको योगदान, संविधानसभा सदस्यका रूपमा संविधान निर्माणमा खेलेको भूमिका र बागमती प्रदेश सरकारको मन्त्रीका रूपमा जनताको सेवामा समर्पित अनुभवलाई साक्षी राख्दै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको लामाले बताए।

आफ्नो राजनीतिक यात्रा, सङ्गठनमा निर्वाह गरेको जिम्मेवारी र सार्वजनिक सेवाको अनुभवलाई मूल्याङ्कन गरी केन्द्रीय सदस्यका रूपमा सेवा गर्ने अवसर प्रदान गर्न सबै महाधिवेशन प्रतिनिधिसँग लामाले मत मागेका छन्।

को हुन् तीर्थ लामा?

विक्रम संवत् २०३० असार ९ गते काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ६ (साबिक सिपाली चिलाउने गाविस वडा नं. १) मा निम्न मध्यमवर्गीय र राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मिएका लामाले स्नातक तहसम्म अध्ययन गरेका छन्।

पेसाले निर्माण व्यवसायी रहेका उनले व्यवसायका साथै शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।

वि.सं. २०६४ मा नेपाली कांग्रेसको क्षेत्रीय उपसभापतिको रूपमा साङ्गठनिक जिम्मेवारी सम्हालेका लामा १२औँ र १३औँ महाधिवेशनमा लगातार दुई कार्यकाल क्षेत्रीय सभापतिको भूमिका निर्वाह गरेका थिए।

२०६८ देखि २०७१ सम्म नेपाल तामाङ सङ्घको केन्द्रीय सदस्यसमेत रहेका लामा पार्टीको १४औँ महाधिवेशनबाट नेपाली कांग्रेस काभ्रेपलान्चोकको सभापति निर्वाचित भएका थिए।

वि.सं. २०७० को संविधानसभा निर्वाचनमा काभ्रेपलान्चोक क्षेत्र नं. १ बाट निर्वाचित भई लामाले संविधानसभा सदस्यका रूपमा योगदान पुर्‍याएका छन्। संविधानसभा सदस्य रहँदा उनले नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्य तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्यका रूपमा काम गरे।

वि.सं. २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार रहेका थिए। लामा वि.सं. २०७९ को प्रदेशसभा निर्वाचनमा काभ्रेपलान्चोक क्षेत्र नं. १ (ख) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भए।

प्रदेशसभा सदस्य बनेपछि उनले वि.सं. २०७९ चैतदेखि २०८० फागुनसम्म बागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

संविधानसभामार्फत नेपालको नयाँ संविधान निर्माणमा उनले प्रत्यक्ष योगदान पुर्‍याएका छन्। काभ्रे जिल्लामा नेपाली कांग्रेसको सङ्गठन सुदृढीकरण तथा परिचालनमा निरन्तर सक्रिय रहँदै आएका उनले जिल्लाको भौतिक पूर्वाधार विकास – जस्तै सडक, खानेपानी, विद्युत्, स्वास्थ्य तथा विद्यालय भवन निर्माणका लागि उल्लेख्य बजेट व्यवस्थापन र विकास निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

समाचार शेयर गर्नुहोस्
79
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.