नुवाकोट – विपद्मा जो कोही पर्न सक्छन्। विपद्मा परेकालाई आफूले सकेको सहयोग गर्नु मानवीय धर्म हो। नजिकै रहेका नागरिकदेखि सात समुद्रपारि रहेका नागरिकसम्मले यही मानवीय धर्म निभाउँदै भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरिरहेका छन्।
भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा अहिले पनि मानवीय सङ्कट कायमै छ। बाढीले घरसँगै मानिससमेत बगाएको छ। घरबारविहीन भएका तथा विस्थापित बनेका बाँचेकाहरू अहिले त्रिपाल टाँगेर रात कटाउन वा आफन्त तथा चिनेजानेका व्यक्तिको घरमा आश्रय लिन बाध्य छन्।
बाढी गएको एक महिना बितिसक्दा पनि प्रभावित सबैको पुनर्स्थापना हुन नसक्दा उनीहरूको दैनिकी थप कठिन बनेको छ। अस्थायी आश्रयमा बसिरहेका प्रभावितलाई वर्षा, चिसो, लामखुट्टे तथा अन्य विषालु किराको टोकाइबाट सुरक्षित राख्नु अर्को चुनौती बनेको छ।
यही आवश्यकतालाई पूरा गर्न अमेरिकामा रहेको आर स्टार फाउन्डेसनले भोटेकोशी बाढी प्रभावितका लागि मेडिकेटेड झुल सहयोग गरेको छ। बाढी प्रभावितलाई लामखुट्टेसहितका विषालु किराको टोकाइबाट जोगाउन आवश्यक रहेको भन्दै फाउन्डेसनले हालसम्म ६ हजार थान मेडिकेटेड झुल सहयोग गरेको जनाएको छ।
त्रिपाल टाँगेर रात कटाइरहेका तथा आफन्तको घरमा शरण लिएर बसिरहेका बाढी प्रभावितलाई लक्षित गर्दै फाउन्डेसनले तेस्रो पटक झुल सहयोग गरेको हो।
फाउन्डेसनका रवीन्द्र सिटौलाका अनुसार प्रभावितका लागि हालसम्म ६ हजार थान मेडिकेटेड झुल सहयोग गरिएको छ। नुवाकोटको विदुर नगरपालिकामा मात्रै ५ हजार थान झुल सहयोग गरिएको फाउन्डेसनले जनाएको छ।
त्यस्तै, बेलकोटगढी र तारकेश्वरमा पनि मेडिकेटेड झुल सहयोग गरिएको फाउन्डेसनले जनाएको छ। ‘प्रभावितहरूलाई रोगव्याधिले नछोओस् भन्ने उद्देश्य हो,’ काभ्रे पाँचखाल नगरपालिकाका सिटौलाले भने।
बाढीपछि विस्थापित भएर अस्थायी रूपमा बसिरहेका प्रभावितहरूमा लामखुट्टेको टोकाइबाट डेंगु, मलेरिया लगायतका रोगको जोखिम बढ्न सक्ने भएकाले त्यसबाट जोगाउन झुल सहयोग गरिएको सिटौलाले बताए।
‘बाढी प्रभावितलाई डेंगु, मलेरिया लगायतका रोगबाट जोगाउन तथा लामखुट्टेसहितका विषालु किराको टोकाइबाट सुरक्षित राख्ने उद्देश्यले झुल सहयोग गरिएको हो,’ सिटौलाले भने।
भोटेकोशी बाढीले घर, सम्पत्ति र जीविकोपार्जनमा क्षति पुर्याएर प्रभावितलाई विस्थापनको अवस्थामा पुर्याएको छ। विपद्को तत्कालीन असरपछि पनि सुरक्षित आवास, स्वास्थ्य, सरसफाइ र दैनिक जीवनयापनका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने अवस्था कायमै छ। यस्तो अवस्थामा राज्यका निकाय, स्थानीय तह, सङ्घसंस्था तथा देश–विदेशमा रहेका नागरिकबाट प्राप्त सहयोग प्रभावितका लागि तत्कालीन राहत र सुरक्षाको महत्त्वपूर्ण आधार बनेको छ।
तस्बिरहरु :
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.