समलिंगी विवाह श्रृखला २ : तेस्रोलिंगी विवाह र बैवाहिक सम्वन्ध

काठमाडौं (पहिचान) साउन १४ – जैविकरुपले अन्तरलिंगी वा उभयलिंगी शिशुहरु ज्यादै थोरै संख्यामामात्र जन्मन्छन् र जन्मेकाहरुमध्ये पनि जैविक कारणले बाबुआमा र परिवारको संकोचले र डर तिरस्कारको कारण र त्यस्ता शिशुका हेरचाहका कमीको कारणले अन्य नवजात शिशुहरुभन्दा बढी दरमा मृत्यु हुन्छ । उता परालिंगी (transvestite person) हरु मूलतः जन्मिएको वा हालको जैविक लिंग छोडेर अर्को लिंगमा चिरफार वा अन्य माध्यम मार्फत प्रवेश गर्ने हुँदा परालिंगीहरु तेस्रोलिंगीबाट छुट्टै समुहमा पर्ने भए ।

यद्यपी यी दुईमा बढ्दो समानता देखिन थालेको छ । साथै आफ्नो जैविक लिंगको नभएर अर्को जैविक लिंगको व्यक्तिले लगाउने लुगा, हाउभाउ, बोली आदि गर्ने व्यक्ति (transvestite person) पनि तेस्रोलिंगी भन्दा फरक भयो । किनकी तेस्रोलिंगीले यसलाई समष्टिगत जीवनशैली नै बनाएको हुन्छ । विशिष्ट परिस्थितिमा मात्र होइन transvestite अवस्था कदाचित तेस्रोलिंगीको प्रारम्भिक अवस्था हुन पनि सक्ला ।

विश्वका अन्य कतिपय मुलुक र समुदायहरुमा भन्दा भिन्दै दक्षिण एशिया र अझ खासगरेर भारत र नेपालमा तेस्रोलिंगीहरुको संख्या उल्लेखनीय रहेको अनुमान गर्न सकिन्छ । यो अध्ययनको दौरानमा भेटिएका पुरुष र महिला समलिंगीहरुभन्दा ठूलो संख्यामा वा हाराहारीमा तेस्रोलिंगी नै थिए । तेस्रोलिंगीहरु ठूलो संख्यामा हुनुका सिद्धान्ततः तीनवटा कारणहरु हुन सक्छ्न् । एक तेस्रोलिंगीहरु जैविकरुपले नै बढी जन्मिछन् । दुई, दक्षिण एशिया र नेपालमा तेस्रोलिंगीहरु अन्य मुलुकहरुमाभन्दा सामाजिक रुपले बढी सृष्टी या निर्माण हुन्छन् । तीन धेरैजसो तेस्रोलिंगीहरु समलिंगी पनि हुन् ।

पहिलो सम्भाव्य कारणको वजन न्यून छ । जैविक हिसावले विश्वभरिका मानवको बनावट र जैविक–यौनिक अनुपात एकै वा झण्डै एकै किसिमको हो । बालक र बालिकाको जन्मावस्थाका अनुपात पनि विश्वभरि झण्डै एउटै हुन्छ । यसैकारण पनि दक्षिण एशिया र नेपालमा तेस्रोलिंगीको जन्मदाको अनुपात अन्य मुलुक र समुदायभन्दा धेरै पृथक हुनसक्ला भन्ने मान्न सकिने आधार छैन ।

दोस्रो र तेस्रो सम्भाव्य धारणाको वजन भने धेरै छ । यहाँ यो तथ्यमा जोड दिन आवश्यक छ की विश्व व्रम्हाण्ड लगायत प्रकृति, चराचर, समाज र यहाँसम्मकी निर्जीव वस्तुहरुलाई चिन्न, बुझ्न र व्यवहार गर्न हामी लैंगिकताको आम प्रयोग गर्छौ । प्राणी वा वस्तुको प्रारम्भिक चिनारीमा उक्त वस्तु वा प्राणीको लैंगिकता नै पर्छ । आकाँश, सूर्य, चन्द्र, पृथ्वी, जन्मभूमि सवैको लिंग छ । हामी यसरी नै बुझ्छौ । अझ कतिपय भाषामा त रेल स्त्रीलिंग हो । लैंगिक वर्गीकरण विना हामी हाम्रो आफ्नै र साथै वरिपरिका प्रकृति, व्यक्ति र समाज वुझ्न सक्दैनौ ।

यहाँ अर्को तथ्यमा पनि जोड दिन लायक छ । परिवारमा लोग्ने–स्वास्नी, बाबु–आमा, हजुरबा–हजुरआमा, दाजु–भाउजु, दिदि–भिनाजु हुन्छन् । लोग्ने–लोग्नेको दम्पति बन्दैन, परिवार बन्दैन । यसैगरेर बाबु–बाबुको, हजुरबा–हजुरबा, दिदि–दिदिको दम्पति बन्दैन र आमा–आमा, हजुरआमा–हजुरआमा, भाउजु–भाउजु र भिनाजु–भिनाजुको दम्पति बन्दैन ।

अर्थात संसार चिन्न र बुझ्ना लिंगको आधार नभई हुँदैन । र परिवार बन्न भाले र पोथी नभई हुँदैन । हाम्रो आम र विपरितलिंगी सोचाई र गराइ यही हो । हाम्रो भाषा, दिल, दिमाग, सपना, विपना सर्वत्र यहि नै छ । यो सोच समाज र व्यवहारको प्राधिकारीक आधारव्यञ्जना (template) हो यसलाई त्याग्न हतपति सकिदैन । प्राधिकारिक संरचना, इतिहास, संस्कृति आदिले हामीलाई सिकाएको यहि हो ।

सायद यहि कारण हो की अधिकाँश (र सायद सबै) तेस्रोलिंगी जोडीहरुमा एक पुरुष बन्छ र एक महिला । पुरुष र महिलाबिना जोडी वा दम्पति बन्न सक्दैन भन्ने धारणा व्यापक र गहिरो छ । समलिंगी जोडीमध्येको एक व्यक्ति आफ्नो जैविक लिंगभन्दा बेग्लै र अर्को सामाजिक लिंग आत्मसात गर्न इच्छुक र वाध्य दबै छन् । इच्छुक छन् किनकी उनीहरुले यहि देखेका र अनुभव गरेका छन् । बाध्य छन् किनकी विपरित लैंगिकता छाएको समाजले सापेक्षिक बैधताको बाटो यहि हो भन्ने चिनाउँछ । यद्यपी यो पनि थोरैहदमा भएपनि सम्भव छ की समलिंगी जोडीमध्ये एकमा विपरितलिंगी हर्मोन रसायन सापेक्षिक रुपले बढी निर्माण र प्रवाहित हुन्छ र यसले सामाजिक लिंगको पहिचान निर्माण गर्छ, । फेरी मानसिक इच्छाले विशिष्ट लैंगिक हर्मोन रसायन पैदा गर्ने वा यस्तो कार्य–कारण सम्बन्ध उल्टने पनि हुनसक्छ ।

दक्षिण एशियामा हाल तेस्रोलिंगीहरु संख्यात्मक हिसावले धेरै हुनुको पछाडी हिन्दु धर्मग्रन्थहरुमा निहित लैंगिक वहुलता र यो वहुलतालाई खास सीमाभित्र राखेर स्वीकार्ने मूल्यमान्यता र संरचना पनि जिम्मेवार हुन सक्छ । पक्कै पनि वर्तमान भूतकालबाट निस्किएको हुन्छ तर वर्तमानले भूतकालमा अडेस लगाएको पनि हुन्छ । विगतको वहुलैंगिकताको वर्णन र सापेक्षिक बैधताले बर्तमान समलैंगिकता, तेस्रोलैंगिकता आदिलाई सीमित दायराभित्र भएपनि स्वीकार्य र पाच्य तुल्याएको हुन सक्छ । प्रताडना र वञ्चितिकरणमा परेका धेरै पुरुष समलिंगीहरुले तेस्रोलिंगी इतिहास, धर्मशास्त्र र संस्कृति लगायत प्राधिकारीक विपरितलिंगी, पारिवारिक र अन्य संरचना अन्तर्गत सुरक्षा खोजेको र केहि हदमा भेटेको हुनसक्ने प्रगाढ सम्भावना छ । तेस्रोलिंगी अवतार इतिहास र संस्कृतिकै धारण आमजनमानसमा सापेक्षिकरुपले स्वीकार्य पनि रहेको छ ।

यसरी विश्लेषण गर्दा तेस्रोलिंगी जोडीबीचको सहवास वा विवाह जैविक हिसावले भन्ने हो भने समलिंगी जोडीबीचको सहवास वा विवाह नै हो । यस दृष्टिकोणवाट हेर्दा समलिंगी जोडी र तेस्रोलिंगी जोडीको सहवास वा विवाहको कानुनी अधिकार र हैसियत एकै हो । यी दुईमा फरक के छ भने समलिंगी जोडीको जैविक र सामाजिक दुवै लिंग एउटै हुन्छ भने तेस्रोलिंगी जोडीमध्ये एकको सामाजिक लिंग एकहदसम्म विपरितलिंगीको झै हुन खोज्छ वा हुन पुग्छ । धर्मशास्त्र र संस्कृतिको सुरक्षाले सम्भवतः सामाजिक दवावले आफ्नै इच्छाले र हर्मोन रसायनको विशिष्ट संरचनाले वा बढ्दो प्रयोगले यस्तो भएको हुन सक्छ ।

तसर्थ सहवासी वा वैवाहिक जीवनमा र समाजमा तेस्रोेलिंगीको दुईवटा पहिचान बन्छ । पहिलो जैविक प्राणीको हिसावले र दोस्रो सामाजिक प्राणीको हिसावले । यी दुवै चिनारीहरु महत्वपूर्ण छन् । यसर्थ यी दुईमध्ये जुन चिनारी जुन प्रयोजनको लागि प्राथमिक महत्वको हो सो अग्रभागमा र दोस्रो चिनारी पाश्र्वभागमा चिन्हित गर्नु उपयुक्त हुन्छ । तर दुवै चिनारी महत्वपूर्ण हुन र दुवै अंकित हुने प्रणाली बनाउनु उपयुक्त हुन्छ ।

(सर्वोच्च अदालतको आदेशमा सरकारले गठन गरेको समलिंगी विवाह सम्वन्धी अध्ययन समितिले २०७१ सालमा सरकारलाई बुझाएको प्रतिवेदनको यो एक अंश हो । हामी क्रममैसँग प्रतिवेदनमा भएका महत्वपूर्ण अंश प्रस्तुत गरिरहेक छौे।)