समलिंगी विवाह श्रृखला ३ : स्थलगत भ्रमण तथा अध्ययनबाट देखिएका तथ्य र विश्लेषण

काठमाडौं (पहिचान) असार १६ – समलिंगी विवाहबारे अध्ययन गर्न बनेको समितिले यो प्रतिवेदन तयार गर्ने क्रममा काठमाडौ उपत्यकामा विभिन्न सरोकारवालाहरु जस्तै : मानव अधिकारकर्मी, प्राध्यापक, विद्यार्थी, धार्मिक समुदायका गुरु, यौनिक अल्पसंख्यक समुदायका अगुवाहरु एवं प्रतिनीधिहरुसँग छलफल गरेको थियो । त्यस्तै यौनिक अल्पसंख्यकहरु तुलनात्मक रुपमा बढी बसोबास गर्ने नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका केहि स्थानहरुमा समितिले सदस्यहरुको टोली बनाई स्थलगत भ्रमण गरी यस समुदायका व्यक्तिहरु, उनीहरुका अभिभावकहरु, मानव अधिकारकर्मीहरुसँग अन्तरवार्ता र शिक्षक, प्रहरी, प्रशासनका प्रमूखहरु लगायतका राष्ट्रसेवकहरु र छिमेकीहरु एवं समलिंगी÷तेस्रोलिंगी जोडीहरुसँग छलफल गरेको थियो ।

यसक्रममा तेस्रोलिंगी र समलिंगी समुदायका व्यक्तिहसँग सामूहिक छलफल र एक्लै पनि पूर्व निर्धारित प्रश्नावली मार्फत अन्तरवार्ता लिइएको थियो भने उनीहरुका अभिभावक, प्रहरी र प्रशासनका प्रमूखहरुसँग पनि बेग्लाबेग्लै प्रश्नावलीबाट अन्तरर्वार्ता लिइएको थियो । यसक्रममा करीब ४ सय जना यौनिक अल्पसंख्यकहरुसँग छलफल भएको थियो । यसैगरी अन्य संघ संस्था र सरोकारवालाहरुसँग पनि लक्षित समूह छलफलको विधिबाट तथ्य एवं राय संकलन गरिएको थियो । यसक्रममा करीब २ सय जना विभिन्न पृष्ठभूमिका सरोकारवाला व्यक्तिहरुसँग अन्तरक्रिया भएको थियो ।

स्थलगत अध्ययनका क्रममा भेटिएका यौनिक अल्यसंख्यकहरुमध्ये पुरुष लिंग जनाउने कोषिय तत्व लिएर जन्मेर पछि महिलाको रुपमा यौन अभिमुखिकरण भएका र जन्मँदा महिला लिंग जनाउने कोषिय तत्व लिएर जन्मेर पछि पुरुषको रुपमा यौन अभिमुखिकरण भएका तेस्रोलिंगीहरुको वाहुल्यता थियो । यद्यपी समलिंगीकै रुपमा पहिचान बनाएका केहि जोडीहरु पनि नभेटिएका होईनन् । समितिले अध्ययनको क्रममा अन्तरलिंगी वा उभयलिंगी (प्राकृतिक रुपमा नै महिला र पुरुष दुबैको जैबिक अङ्ग भएका) समलिंगी व्यक्ति भने फेला पार्न सकेन । तेस्रोलिंगीहरुमध्ये बहुसंख्यकले १०–१२ बर्षको उमेरबाट आफ्नो यौनिकतामा परिवर्तन आएको महशुस गरेको बताएका थिए । यीमध्ये बहुसँख्यक बाबुआमा सहितको परिवारमा नबसेर यौनिक सम्पर्क भएका सहवासीहरुसँग बस्ने गरेको पाइयो भने केहि आफ्नै परिवारमा बसिरहेको पाइयो । यसरी परिवारमा नै बस्ने गरेकाहरुमध्ये विपरित लिंगीसँग विधिवत विवाह गरेर घरजम गरेका तर समलिंगी साथीसँगको सम्बन्धलाई निरन्तरता दिइरहेकाहरुको बाहुल्यता रहेको छ ।

शहरी क्षेत्रमा बसोबास गर्ने धेरैजसो यौनिक अल्पसंख्यकहरुले एक वा सोभन्दा बढीपटक बसाईसराई गरेका छन् । त्यस्तै एकभन्दा बढी यौनिक सहवासी (multiple partners) हुनेहरुको संख्या पनि अत्यधिक रहेको पाइयो । बहुसंख्यक यौनिक अल्पसंख्यकहरु साक्षर छन् तर उच्च शिक्षा हासिल गर्नेहरुको संख्या आश्चर्यजनक रुपमा अत्यन्त न्यून छ । यस क्षेत्रमा काम गर्ने नील हिरा समाज जस्ता संस्थाहरुले संचालन गरेको क्षमता विकाससँग सम्वन्धित कार्यक्रमहरुबाट केही लाभ भएको छ तर भरपर्दो रोजगारीको अभाव टड्कारो रुपमा देखिएको छ । यद्यपि त्यस्ता संस्थाहरुले धेरै जनालाई सामान्य दैनिक जीवन यापन गर्न पनि धौधौ पर्ने सुविधा प्रदान गर्दै आएका छन् । यस कारणले पनि हुन सक्छ समितिले भ्रमण गरेका अधिकाँश स्थानहरुमा तेस्रोलिंगीहरुले यौन बजारमा आफ्नो शरीर बेच्ने गरेको पाइयो ।

स्थलगत अध्ययनको क्रममा धेरैजसो जोडी विगत केही वर्ष (धेरै जसो ३–४ वर्षदेखि ७–८ वर्षसम्म) देखि सहबासीको रुपमा रहेको पाइयो भने चितवनको देवघाटमा विगत २२ वर्षदेखि त्यस्तो सम्बन्धलाई निरन्तरता दिँदै घरजम गरेरै बसेको एउटा जोडी पनि भेटियो । केहि व्यक्तिहरुले १ वर्षमै २–३ पटक जोडी फेरेको पनि पाइयो । वीरगञ्ज, भैरहवा, नेपालगञ्ज जस्ता तराईका शहरहरुमा भएको अध्ययनमा के पनि देखियो भने तराईबासी समुदायमा महिला लिंगबाट ‘पुरुष’ पहिचान बनाएका भन्दा ‘पुरुष’बाट महिला पहिचान बनाएका तेस्रोलिंगीहरुको संख्या अत्यधिक छ ।

सबैजसो यौनिक अल्पसंख्यकहरुले आफुमाथि घर परिवार, साथीभाई, छिमेकी, विद्यालय, प्रहरी, सेवा प्रदायक सरकारी कार्यालयहरु अर्थात सबैतिरबाट भेदभाव भएको वेदना व्यक्त गरेका छन् । यसैगरी जिस्काउने, गिज्याउने, हेला गर्ने र चोटपटक लाग्नेगरी शारिरीक यातना पाएको अनुभव पनि सबै जसोसंग छ । ‘हिजडा’, ‘नपुंसक’, ‘छक्का’ आदि शब्दको प्रयोगबाट उनीहरु सबैजसोले अपहेलित हुनु परिरहेको छ भने यस्तै भेदभाव र यातनाका कारण कतिपयले आफ्नो विद्यालय शिक्षालाई निरन्तरता दिन नसकेको नमिठो यथार्थ पनि व्यक्त गरेका छन् ।

यस्ता जोडीहरुले सन्ततिको रुपमा बालबालिका पालेका छैनन् तर उनीहरुमध्ये कतिपयमा यसको चाहना भएको तर वैधानिक बाटो नदेखेर निरास भएको अवस्था छ । व्यक्ति आफै बरु परिवार छोड्न सक्ने तर आफ्नो जोडी छोड्न नसक्ने मानसिकतामा रहेको पाइयो । यद्यपि कतिपयले परिवारसंग बस्दा हुने फाइदाको लामो सूची नै बखान गरेका थिए । यौनिक अल्पसंख्यक र तेस्रोलिंगीहरुले जीवन यापनका क्रममा प्रत्येकजसो पाइलामा कठिनाई झेल्नु परेको देखिन्छ ।

घर परिवारमा अपहेलना, विद्यालयमा शिक्षक शिक्षिका र खासगरी आफ्नै सहपाठीहरुबाट हुने भेदभाव र तिरस्कार, बिरामी भएर अस्पताल भर्ना हुनु पर्दा महिला वा पुरुष कक्ष कतैतिर पनि नमिल्ने अवस्था आदि अनगिन्ती व्यवहारिक कठिनाईहरु उनीहरु समक्ष छन् । यसले गर्दा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत अधिकारबाट समेत उनीहरु वञ्चित हुनु परेको छ । अर्को व्यवहारिक समस्या शौचालय प्रयोगको पनि देखियो, महिला पहिरनमा रहेको तेस्रोलिंगी व्यक्ति कसरी पुरुष शौचालयमा प्रवेश गर्नु, त्यस्तै पुरुष जननेन्द्रिय भएको व्यक्तिले महिला शौचालय कसरी प्रयोग गर्नु । यही समस्या महिला जनेन्द्रीय तर पुरुष पहिरनमा देखा पर्ने व्यक्तिहरुमा पनि छ ।

तेस्रोलिंगीहरुसंगको छलफलको क्रममा एउटा चाखलाग्दो कुरा प्रकट भयो, नेपालमा पुरुषलाई महिला वा महिलालाई पुरुष बनाउने किसिमको शल्यक्रियाको सुविधा छैन र यो महङ्गो पनि हुन्छ । जन्मदा पुरुष, पछि महिला यौनिकता तर्फ आफ्नो पहिचान बनाएको तेस्रोलिंगी व्यक्तिले हर्मन उपचार लगायत अन्य औषधिहरुको सेवनबाट आफ्नो वक्षस्थल बढाउने, शरिरको तल्लो भाग सुकाउने आदि गर्ने रहेछन् भने महिलाबाट पुरुष यौनिकतातर्फ ढल्किएकाहरुले पनि यस्तै प्रकारका औषधी र उपचारबाट आफ्नो चाहना अनुसारको शारीरिक परिवर्तन गर्ने रहेछन् ।

तेस्रोलिंगी जोडीबीच हुने यौनसम्बन्ध पनि समलिंगी सम्बन्ध नै हो । एउटा पुरुषबाट महिला यौनिकताको पहिचान बनाएको तेस्रोलिंगी व्यक्तिको यौनसाथी अर्को पुरुष नै हुन्छ, उसले महिला रोज्दैन, खोज्दैन । यही तथ्य महिलाबाट पुरुष यौनिकतातर्फ लागेको तेस्रोलिंगी व्यक्तिको हकमा पनि लागू हुन्छ । तथापि यस किसिमको सम्बन्धमा पनि एउटाले ‘पुरुष’ र अर्कोले ‘महिला’ वा ‘लोग्ने–स्वास्नी’को भूमिका निर्वाह गर्ने रहेछन् ।

यस्ता व्यक्तिहरुलाई आफ्नो पहिचान स्थापित गराउन नसक्नु, आफूप्रति हुने भेदभाव र शारीरिक मानसिक यातना, व्यक्तिगत स्वतन्त्रतामा अंकुश, रोजगारीको अभाव, अंशबण्डामा समस्या, पारिवारिक तनाव जस्ता कुराहरुले बढी दुःखीत तुल्याएको पाइयो । अर्कोतर्फ यौनिक सहवास भएका व्यक्तिसंगको सम्बन्धको प्रकृति, रोजगारी, पारिवारिक सम्बन्ध, स्वपहिचान जस्ता कुराले सुखद अनुभूति दिलाउन महत्वपूर्ण भूमिका खेलेको पाइयो । तथापि धेरैजसोले नागरिकता प्राप्ति (यौनिक पहिचानको आधारमा), आफुप्रति हुने भेदभावको अन्त्य र स्वपहिचानलाई प्रमुख प्राथमिकतामा राखेको पाइयो ।

समलिंगी विवाहलाई प्राथमिकताको तेस्रो र चौथो नम्वरमा राख्नेहरुको संख्या उल्लेख्य देखियो भने विपरित लिंगीसंग विवाह गरेका तर समलिंगी सम्बन्धलाई पनि कायमै राखेकाहरुले यस्तो विवाहलाई आफ्नो प्राथमिकता क्रममै नराखेको देखियो, यसो गर्नुमा उनीहरुको स्वार्थ प्रष्ट नै छ ।

यौनिक अल्पसंख्यकहरु खासगरी तेस्रोलिंगीहरुको वारेमा सरोकारवालाहरुको बुझाई वा जानकारी धेरै फरक रहेको पाइयो । तेस्रोलिंगी भनेर खुलिसकेका केहि व्यक्तिहरुका आमाबाबु र अन्य अभिभावकको पीडा र वेदना व्यक्त गर्न कठिन छ । कतिपय त्यस्ता अभिभावकहरुले आफ्नो तेस्रोलिंगी सन्तानले भोगेका पीडा र भेदभावभन्दा वढी पीडा वा वेदना आत्मसात गर्नु परेको पाइयो । त्यसैगरी धेरैजसो अभिभावकले आफ्ना त्यस्ता सन्तानलाई गालीगलौज, हेला र घर निकाला समेत गरेको देखियो भने केहि अभिभावकले ‘जति सम्झाए पनि नलागे पछि के गर्नु’ वा ‘ईश्वरको ईच्छा यस्तै रहेछ’ भन्दै आफ्नै सन्तान त हो भनेर परिवारमै स्वीकारेको पनि भेटियो ।

चितवनमा एउटी आमाले ‘नील हिरा समाज’ जस्ता संस्थाले आफ्नो छोरालाई तेस्रोलिंगी हुन प्रोत्साहित गरेको वा उक्साएको आरोप समेत लगाइन् । पोखरामा एउटा तेस्रोलिंगी परिवारसँग भएको सम्बादका क्रममा एकजना तेस्रोलिंगीको दाजुले आफुले पाउने अंशमा प्रभाव पार्नका लागि पनि आफ्नै तेस्रोलिंगी भाइलाई घरमा बस्न नदिएको महशुस यस समितिका सदस्यलाई भएको थियो । तेस्रोलिंगी वसोवास गर्ने घरका छरछिमेकीहरुमा पनि उनीहरुप्रतिको दृष्टिकोणमा समानता छैन । कतिपयले तेस्रोलिंगी व्यक्तिहरुको कारण आफ्नो टोलको वदनाम भएको ठान्छन् भने केहिले आफुहरुलाई खासै फरक नपरेको बताए । तर धेरैजसो तेस्रोलिंगी सन्तान रहेको घर परिवारको सम्बन्ध उसको निकटतम् छिमेकीसँग सुमधुर नरहेको प्रष्ट नै थियो ।

कानुन कार्यान्वयनमा संलग्न पदाधिकारीहरुको बुझाई र दृष्टिकोणमा पनि आकाश जमिनको फरक रहेको अनुभूति भयो । धेरैजसोले समयसंगै यिनीहरुको व्यवहार र यिनीहरुप्रति समाजको दृष्टिकोण दुवैमा सकारात्मक परिवर्तन आएको महशुस गरेका रहेछन् । कतिपयले उदार दृष्टिकोण राख्दै तेस्रोलिंगीहरुको सम्बन्धलाई कानुनी मान्यता दिनु उपयुक्त हुने राय व्यक्त गरेका छन् भने एकजना प्रमुख जिल्ला अधिकारीले त तेस्रोलिंगी सम्बन्धलाई पशुवत ठहर्याउँदै कडा दण्ड सजायको पक्षमा आफूलाई प्रस्तुत गरे ।

धेरैजसो पदाधिकारीको समान राय केमा पाइयो भने समाज र कानुन सँगसँगै हिंड्नुपर्छ, समाज उदार र आधुनिक रहनसहनमा अभ्यस्त हुँदै जाँदा तेस्रोलिंगीप्रतिको व्यवहार र कानुनी मान्यता पनि सहज हुन्छ, अन्यथा समस्या रहिरहन्छ । यस क्रममा प्रहरी प्रशासनले सर्वोच्च अदालतको ऐतिहासिक फैसला पश्चात तेस्रोलिंगीहरुलाई गर्दै आएको धरपकड र हिरासतमा राख्ने प्रवृत्तिको अन्त्य भएको उल्लेख गरे भने तेस्रोलिंगीहरुको अनुभवमा यस्तो प्रवृति धेरै कम भएको तर अन्त्य भै नसकेकको अवस्था छ ।

समितिसँग सम्पर्कमा आएका अधिकारकर्मीहरुले तेस्रोलिंगी र समलिंगी सम्बन्धलाई मानव अधिकार संरक्षणका दृष्टिले कानुनी मान्यता प्रदान गर्न ढिलो गर्न नहुने विचार व्यक्त गरेका छन् । यद्यपि ‘विवाह’ शब्दको प्रयोगप्रति भने केहि फरक धारणा व्यक्त नभएका होइनन् ।

प्राध्यापक र विद्यार्थी प्रतिनीधिहरुसँग काठमाडौंमा भएको छलफलमा एउटा रोचक पक्ष उजागर भएको थियो । पद्मकन्या क्याम्पसमा भएको छलफलमा एकजना महिला प्राध्यापकले समलिंगी विवाह सम्बन्धमा आफ्नो राय व्यक्त गर्ने क्रममा ‘मानबअधिकार, विश्वव्यापी प्रवृत्ति आदिका दृष्टिले त्यस्तो सम्बन्धलाई कानुनी मान्यता प्रदान गर्न ठीकै होला तर कदाचित आफ्नै छोराले ‘लौ आमा तपाईको बुहारी भनेर अर्को एउटा जुँगामुठे पुरुषलाई घर लिएर आए आफुले कुनै हालतमा नस्वीकार्ने’ बताएकी थिइन् । यस वर्गको धारणा पनि मिश्रित थियो, यद्यपि विश्वको गतिसंगै समलिंगी विवाहले नेपालमा पनि मान्यता पाउने कुरामा धेरैजसो आशावादी नै थिए ।

यसक्रममा वाल्मिकी क्याम्पसमा प्राध्यापकहरुसँग भएको एउटा अर्को अन्तरक्रिया ज्यादै जीवन्त प्रकारको थियो । यसको सारांश के रह्यो भने मानव अधिकारका दृष्टिले दुई जना वयस्क व्यक्तिको सम्बन्धलाई अन्य कुनै नामबाट मान्यता प्रदान गर्न आपत्ति नहुने तर ‘विवाह’ शब्दले खासगरी हिन्दु दर्शनमा सन्तान प्राप्ति, सृष्टिको निरन्तरता, पितृ उद्दार, मातृत्व सुखको समेत अपेक्षा गरेको हुन्छ र यसले दुई विपरित लिंगी अर्थात ‘स्त्री’ र ‘पुरुष’ वा वरवधुको मात्र सम्बन्धलाई स्वीकार्ने हुनाले कुनैपनि हालतमा समलिंगी सम्बन्धमा ‘विवाह’ शब्दको प्रयोग गर्न हुँदैन । यसो भएमा सामाजिक विरोधको नेतृत्व आफुहरुले लिने बताएका थिए ।

ईस्लाम धर्माबलम्बीहरुसंगको छलफलमा सहभागीबाट समलैंगिक विवाहप्रति सकारात्मक धारणा व्यक्त भएन । यस अध्ययनबाट हामी के निष्कर्षमा पुग्न सक्छौं भने समाजमा माथि वर्णन गरिएका जस्ता तेस्रोलिंगीहरुको उपस्थिति उल्लेख्य छ । उनीहरु आफ्नो ‘पहिचान’ सहित समाजमा खुलेर आउने प्रवृत्ति बढ्दो छ । अर्कोतर्फ उनीहरुलाई समाजका सबै वर्गबाट भेदभाव, हेय दृष्टि र शारीरिक तथा मानसिक यातना दिने गरिएको छ । आफ्नो पहिचानलाई कानुनी मान्यता नहुनु, भेदभाव र यातना, अंशवण्डा र धर्मपुत्र÷पुत्री प्राप्त गर्नमा निषेध, शिक्षा र रोजगारीको अभाव तथा आफ्नो सहवासी साथीसँग विवाह गर्न कानुनी वन्देज जस्ता कुराहरु उनीहरुका दृष्टिमा प्रमुख चुनौति रहेका छन् । आफ्नो सन्तान तेस्रोलिंगी भएकै कारण खासगरी धेरैजसो त्यस्ता व्यक्तिका आमा–बावुमा रहेको वेदना वा पीडा वर्णनातित छ ।

आफ्नो परिवर्तित पहिचानलाई कानुनी मान्यता उनीहरुको मुख्य प्राथमिकता हो भने सर्वत्र रहेको भेदभावको अन्त्य, सन्तान सुखको सुगम बाटो, अंश प्राप्ति, शिक्षा र रोजगारीको व्यवस्था तथा आफूले रोजेको समलिंगी मित्रसँगको सम्बन्धलाई कानुनी मान्यता पनि प्राथमिकतामा पर्दछन् ।

(सर्वोच्च अदालतको आदेशमा सरकारले गठन गरेको समलिंगी विवाह सम्वन्धी अध्ययन समितिले २०७१ सालमा सरकारलाई बुझाएको प्रतिवेदनको यो एक अंश हो । हामी क्रममैसँग प्रतिवेदनमा भएका महत्वपूर्ण अंश प्रस्तुत गरिरहेक छौे।)