समलिंगी जोडिलाई यातना दिने व्यक्तिले माफी मागे

समलिंगी जोडिलाई यातना दिने व्यक्तिले माफी मागे

इन्दिरा न्यौपाने/हेटौडा (पहिचान) असार १२ – मकवानपुरको धियाल गा.वि.स. ५ सोस्तीमा बस्दै आएका समलिंगी जोडिले आफुहरुलाई विभिन्न यातना दिदै आएका व्यक्तिहरुलाई क्षतिपूर्ति लिएर माफी दिएका छन् । कविताका आफ्नै भिनाजु सहित ४ जनालाई आफनो गल्तिको प्रायश्चित गराउदै आइन्दा यस्तो गल्ति नगर्ने शर्तमा माफी दिइएको हो । समलिंगी जोडि ललिता(ललित) र कविता सँगै बसेकोमा आपत्ति जनाउदै समाजका व्यक्तिहरुले विभिन्न मानसिक यातना दिदै आइरहेका थिए ।

यसरी यातना खेप्दै आएका उनिहरुमाथी गत असार १ गते राती छोराको कपाल काटिदिएको बहानामा कविताका भिनाजु सुक बहादुर बल सहित ४÷५ जनाले हातपात, कुटपिट गरेका थिए । घटना लगतै आफ्नो ज्यान जोगाउन त्यहाबाट भागेर भोलिपल्ट नील हिरा समाजको सहयोगमा प्रहरी समक्ष उनिहरुले उजुरी दिए । उजुरीको आधारमा प्रहरीले असार १० गते उनिहरुलाई झिकाएपछि आफनो गल्ति स्विकार गर्दै माफी मागेका थिए ।

समलिंगी जोडि ललिता र कविता सगै बस्दै आएदेखि कहिले दाजुबाट, कहिले भिनाजुहरुबाट त कहिले समाजबाट विभिन्न गाली बेइज्जती र यातना खेप्दै आउनुपरेकोमा कविताले आपत्ती जनाइन् । दुबैतर्फको धेरै बहस र छलफल पछि अबदेखि आफ्नो खुशीले सँगै बस्न पाउनुपर्ने, लैंगिक विभेदका अपशब्दहरु प्रयोग गर्न नपाईने, ज्यान मार्ने धम्की र हातपत गरेको खण्डमा जेल सजाय भोग्नु पर्ने लगायत औषधी उपचार खर्च बापत २५ हजार रुपैयाँ पाउनुपर्ने जस्ता मागहरुमा कविताका भिनाजु मञ्जुर भएपछि उनिहरुले माफी दिएका छन् ।

आफुले गरेका गल्ती स्विकार्दै अब यस किसिमका गल्तिहरु नगर्नेमा भिनाजु र विपक्ष व्यक्तिहरु सहमतीमा आएपछि उनिहरुले माफी पाएका हुन् । समलिंगी तेस्रोलिंगी भएकै कारण धेरै समय अघिदेखि विभेद खेप्नुपरेकोले अब उपरान्त यस्ता घटना घटेको खण्डमा व्यक्तिगत मात्र नभइ सस्थागत रुपमै मुद्दा दर्ता गर्ने नील हिरा समाज मकवानपुरले बताएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading