त्रिविविले लैंगिक पहिचान अनुसार भर्ना नलिए अवहेलना मुद्धा दर्ता गर्ने चेतावनी, नील हिरा समाज भन्छ : विश्वविद्यालयले किन लैंगिक पहिचान स्वीकार नगर्ने ?

त्रिविविले लैंगिक पहिचान अनुसार भर्ना नलिए अवहेलना मुद्धा दर्ता गर्ने चेतावनी, नील हिरा समाज भन्छ : विश्वविद्यालयले किन लैंगिक पहिचान स्वीकार नगर्ने ?

काठमाडौं (पहिचान) फागुन ३० – त्रिभूवन विश्वविद्यालयले लैंगिक पहिचान स्वीकार नगरेको विषयमा नील हिरा समाजले ध्यानाकर्षण गराएको छ । ट्रान्सजेण्डर (तेस्रोलिंगी) रुक्साना कपालीको रजिष्ट्रेसन भर्ने क्रममा विश्वविद्यालयले लैंगिक पहिचान अस्वीकार गर्दै जैविक लिंगका आधारमा मात्र रजिष्ट्रेसन गर्ने बताएपछि समाजले विश्वविद्यालयको ध्यानाकर्षण गराएको हो ।

‘संविधानको धारा १२ ले लैंगिक पहिचानका आधारमा नागरिकता लिनसक्ने स्पष्ट व्यवस्था गर्दै लैंगिक पहिचान स्वीकार गरेको छ,’ समाजकी अध्यक्ष पिंकी गुरुङ नेतृत्वको टोलिले त्रिवि प्रशासनलाई भनेको छ, ‘निजको लैंगिक पहिचानकै आधारमा रजिष्ट्रेसन गर्ने व्यवस्था मिलाउन हामी ध्यानाकर्षण गर्दछौं ।’ समाजले संविधानको धारा १२ ले लैंगिक पहिचान स्वीकार गरेको भन्दै सर्बोच्च अदालतको यही ०७४ साल माघ १० गतेको फैसलाले समेत लैंगिक पहिचान स्वीकार गर्न निर्देश गरेको उल्लेख गराएको छ ।

त्रिचन्द्र क्याम्पसमा समाजसास्त्र संकायमा स्नातक अध्ययनरत रुक्साना कपालीलाई त्रिविले रजिष्ट्रेसन पहिचान अनुसार गर्न अस्वीकार गरेपछि समाजको टोली त्रिवि प्रशासनको ध्यानाकर्षण गराउन पुगेको हो ।

ट्रान्सजेण्डर रुक्शना कपाली व्यक्ति त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पस, जमलमा मानविकी संकाय स्नातक प्रथम वर्ष (समाजशास्त्र, भाषाविज्ञान) मा यसै शैक्षिक सत्रमा भर्ना भई अध्ययन गर्दै आएका छन् । विश्वविद्यालयमा नयाँ भर्ना हुने सबै विद्यार्थी सरह सम्पूर्ण कागजात सहित फारम भर्न जाँदा रुक्शनालाई भने आफ्नो लैंगिक पहिचान अनुसारको नागरिकताको नाममा फारम भर्दा सो फारम अस्वीकृत गरिएको छ ।

कपालीको एस एल सी सम्मको नाउँ आफ्नो जैविक लिंगमा आधारित जन्म दर्ताको नाम क्रोजन कपाली थियो भने लैंगिक पहिचान अनुसारको नागरिकता लिँदा कानुन बमोजिम रुक्शना कपाली नाम राखेका थिए । सर्वोच्च अदालतको फैसला अनुसार पहिचान अनुसारको नागरिकता लिएपछी आफूले जैविक लिंगका आधारमा जन्म दर्ताको नाम परिवर्तन गर्न पाउने प्रावधान छ । रुक्शनाले ंकक्षा १२ सम्मको शिक्षा हासिल गर्दा नागरिकताकै नाममा गरे । उनले यसका लागि वडा कार्यालयबाट कारण खुलाइ, दुइ व्यक्ति एकै हुन भन्ने पत्र बनाएका थिए । स्नातक तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा भर्ना गर्दा सम्म सबै ठीक थियो रुक्शना भन्छन, तर त्रिवि फारम भर्दा लैंगिक पहिचानकै आधारमा फारम अस्वीकृत गरियो ।

यसै बिषयलाई लिएर नील हिरा समाजबाट अध्यक्ष पिंकी गुरुङ, अधिवक्ता सुजन पन्त, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको बिद्यार्थी मञ्चका अध्यक्ष भक्ति शाह, मानवअधिकारकर्मी सुदिप गौतम लगायतले त्रिविका परिक्षा नियण्त्रक पुष्प राज जोशीको ध्यानाकर्षण गराएका हुन् । परिक्षा नियण्त्रक जोशीले विश्वविद्यालयको नियम अनुसार भर्ना लिन नमिल्ने बताए ।

अधिवक्ता सुजन पन्तले सर्वोच्च अदालतको फैसला अनुसार लैंगिक पहिचानका आधारमा शैक्षिक प्रमाण पत्र पाउने परामादेश जारी गरिसकेको भन्दै त्रिविले पहिचान प्रदान नगरे अदालतको अपहेलना भनेर चुनौती दिने बताए । “व्यवस्था छैन भनेर त हुँदैन नि ? के रुक्शना जस्ता व्यक्तिहरूले पढ्नै नपाउने हो ? बाटो त खुलाइदिनुपर्यो नि ।“, पन्तले भने ।

समाजकी अध्यक्ष पिंकी गुरुङले सरकारको निर्णय अनुसार त्रिविले नियम बनाउनुपर्ने र कसैलाई लैंगिक पहिचानका आधारमा विभेद गर्न नमिल्ने वताइन । “ यहाँ रुक्शना जे हो त्यो हुन पाएन, पहिचानको अधिकार लडेर आएको त्रिविले झन पछाडी पार्छ “, अध्यक्ष गुरुङले भनिन्, “यत्ति संघर्ष गरेर आएको अभियानले नेपाल दक्षिण एसियामै यौनिक तथा लैंगिक अल्पसख्यकहरूको अधिकारलाई नेतृत्व गर्दै आएको छ । शिक्षा क्षेत्रले यस्तो विभेद गरिदिनु भएन नि“ ।

अधिकारकर्मी एवं विद्यार्थी मञ्चका अध्यक्ष भक्ति शाहले उक्त नियम अनुसार त रुक्शनाको पहिचान नै गलत भएको हो त भनेर प्रश्न गरे भने सुदीप गौतमले व्यवस्था नभए व्यवस्था ल्याउनु उनीहरूको दायित्व भन्ने बताए । परिक्षा नियण्त्रक जोशीले यस बिषयमा बोर्ड बैठक बसेर त्रिबी परिषद्मा लाने आश्वासन दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.