शिक्षा मन्त्री पोखरेलले भने—तेस्रोलिंगीलाई पाठ्यक्रमले समेट्छ

शिक्षा मन्त्री पोखरेलले भने—तेस्रोलिंगीलाई पाठ्यक्रमले समेट्छ

bmd

काठमाडौं (पहिचान) जेठ ६ – शिक्षा मन्त्री गरिराजमणी पोखरेलले यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषय पाठ्यक्रममा समावेश गर्ने आश्वासन दिएका छन् । नील हिरा समाजको आयोजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको दिवसका अवसरमा मञ्चन भएको जिउँदो आकाश नाटक हेरेपछि मन्त्री पोखरेलले यो बिषय पाठ्यक्रममा समेट्ने आश्वासन दिएका हुन् । पाठ्यक्रम विकास केन्द्र मार्फत समलिंगी तेस्रोलिंगी अन्तरलिंगीलाई संबोधन हुनेगरी पाठ्यक्रममा समावेश गर्ने उनको प्रतिबद्धता थियो ।

उनले आफूले छुटाउनै नहुने नाटक हेर्न आएको अनुुभत भएको बताए । मन्त्रालयको काम छोडेर यहाँ तपाइँहरुको कार्यक्रममा आएको थिएँ मन्त्री पोखरेलले भने, नाटक हेरिसकेपछि मलाई यस्तो लाग्यो छुटाउनै नहुने नाटक नै हेर्न आएको छु । नाटक हेरिरहँदा मन्त्री पदमा छु भन्ने नै विर्सेछु । तेस्रोलिंगीबारे आँफूले सुने पनि नजिकबाट बुझ्ने मौका नपाएको भन्दै उनले नाटकबाट धेरै बुझ्ने मौका पाएको बताए ।

त्रिभुवन विश्व विद्यालयको रजिष्ट्रेशन फर्ममा समेत तेस्रोलिंगीले भर्नाका लागि अर्दश उल्लेख गरिएको छैन नि भन्ने जिज्ञासामा उनले अब आफूले जनाएको प्रतिबद्धता अनुसार काम गर्ने स्पष्ट पारे । मन्त्री पोखरेलले भने, मैले अघि नै भनिसकेको छु । मैले यसबारे थप बोल्नु पर्दैन । म मैले भने अनुसार काम गर्नेछु ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यौनिक तथा लैंगिक अल्पसंख्यकका प्राप्त अधिकार र उनीहरुको समस्याबारे आफू परिचित रहेको बताए । तेस्रोलिंगीको पीडामा आधारित जिउँदो आकाश नाटक हेरेपछि विडारीले आफूले संविधानसभा सदस्य रहँदा देखि नै समलिंगी तेस्रोलिंगी अन्तरलिंगीको अधिकारका लागि संविधानसभा र संसदमा आवाज उठाएको स्मरण गरे ।

कति अधिकार संविधानमा लेखिसकिएको र कतिपय अधिकार लेख्न बाँकी रहेको भन्दै उनले त्यसका लागि अझै पनि आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा तेस्रोलिंगी अधकारकर्मी सञ्जय शर्माले समलिंगी तेस्रोलिंगीलाई राज्यले विवाहको अधिकार दिनुपर्नेमा जोड दिए । विपरितलिंगीसँग विवाह गरेर दैनिक बलात्कृत हुनुपरिरहेको भन्दै उनले भने, हामी पनि मानव हौं । हामीलाई काटे पनि रगत नै आउँछ । त्यसैले हामीले पनि महिला पुरुष सरह समलिंगी विवाह गर्ने अधिकार पाउनुपर्छ । यसका लागि सांसद ज्यूहरुले आआफ्नो ठाउँबाट पहल गरिदिनुपर्यो ।

तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले नाटक हेर्दा हेर्दै आँशु झरेको वताइन । उनले आँशु झार्दै भनिन्, नाटक हेर्दा त रुन मन लाग्छ तर, हामीले त दैनिक जीवनमा यस्तो पीडा भोगिरहनु परेको छ । उनले दातृ निकायलाई यो नाटक गाउँ गाउँमा लगेर देखाउन सुझाव पनि दिइन ।

तेस्रोलिंगीको विषयलाई उठान गरेको नाटक जिउँदो आकाश हेर्ने अधिकांश दर्शकले आफूलाई नाटक मन परेको बताएका थिए । नाटकको विषय र अभिनय दुबै मन परेको दर्शकको प्रतिक्रिया थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.