केएनके कलेजले तेस्रोलिंगीलाई छात्रवृत्ति दिने

केएनके कलेजले तेस्रोलिंगीलाई छात्रवृत्ति दिने

काठमाडौं (पहिचान) जेठ १५ – केएनके कलेज नयाँबानेश्वरले तेस्रोलिंगीलाई कक्षा ११ र १२ को अध्ययनमा छात्रवृत्ति दिन सुरु गरेको जनाएको छ । समाजमा पछि परेको समुदायका व्यक्तिलाई दिदै आएको छात्रवृत्ति यो बर्षदेखि तेस्रोलिंगीलाई पनि दिन थालेको कलेज संचालक समितिका सदस्य विमल खड्काले जानकारी दिए ।

दलित, जनजाती, पीछडिएको बर्गलाई दिदै आएको छात्रवृत्ति यो बर्षदेखि अपहेलित रुपमा रहेका तेस्रोलिंगी दिन थालेको खड्काले वताए । पहिचान अनलाइनसँग कुरा गर्दै खड्काले पहिलो बर्ष नै तीन जना तेस्रोलिंगीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइएको वताए । “हामीले मितिनी नेपालको सिफारिसमा आएका दुई जना र नील हिरा समाजको सिफारिसमा आएका १ जना गरि तीन जना तेस्रोलिंगीलाई छात्रवृत्ति दिने भएका छौ उनले भने, आर्थिक अबस्था कमजोर भएकै कारण अध्ययन गर्न पाउने अधिकारबाट बञ्चित रहेका अरु तेस्रोलिंगीलाई पनि निशुल्क अध्ययनको व्यवस्था मिलाउँछौ ।”

मिस पिंक २०१८ को उपाधी विजेता एन्जल लामालाई निशुल्क अध्ययनको व्यवस्था मिलाउन नील हिरा समाजले गरेको आग्रह कलेज स्वीकार गरेको संचालक समितिका सदस्य खड्काले वताए । एन्जल यौनिक तथा लैंगिक अल्पसंख्यक घृणा विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा दुई हप्ता अगाडि मे १७ अर्थात जेठ ३ गते नील हिरा समाजले आयोजना गरेको मिस पिंक २०१८ को ताज पहिरिन सफल तेस्रोलिंगी महिला हुन् ।

उनी दुई बर्ष अगाडि मात्रै तेस्रोलिंगी भएको पहिचान सहित नील हिरा समाजको सम्पर्कमा आएकी हुन् । उनी अझै पनि महिलाको पहिरनमा आफ्नै घर जान सकिरहेकी छैनन् । फरक यौनिकता भएकै कारण उनले कक्षा ११ को अध्ययनबीचमै छाडेको वताएकी थिइन । रेडियो कार्यक्रम पहिचानमा कुरागर्दै एन्जलले सहयोग पाए अध्ययनलाई निरन्तरता दिदै वकालत गर्ने वताएकी थिइन ।

कलेजले बार्षिक शुल्क, किताव र कापी निशुल्क रुपमा मिस पिंक लामालाई उपलब्ध गराउनेछ । कलेजका अनुसार कक्षा ११ र कक्षा १२ का लागि दिइएको यो छात्रवृत्ति १ लाख २० हजार रुपैयाँको हुनेछ । यसबाहेकका अन्य खर्च नील हिरा समाजमा सन् २००९ देखि २०११ सम्म स्वयंसेवक गरेका सुदीप लामा वाइवा र टिचफर नेपालमा कार्यरत प्रज्ज्वल खड्काले व्यक्तिगत रुपमा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

विगत देखि बर्तमानसम्मका सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बिद्यार्थीलाई शैक्षिक क्षेत्रमा छात्रवृत्तिको व्यवस्थाबारे अहिलेसम्म सम्बोधन गरेको छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.