सरसफाई अभियानमा प्रहरीसँगै तेस्रोलिंगी

सरसफाई अभियानमा प्रहरीसँगै तेस्रोलिंगी

bdr

काठमाडौं (पहिचान) जेठ २२ – महानगरिय प्रहरी वृत्त दरवारमार्गले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई सहभागी गराएर सरसफाई अभियान सुरु गरेको छ । बिश्व वातावरण दिवसको अवसरमा दरवारमार्ग वृत्तले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी समुदायका व्यक्तिलाई सहभागी गराएर सडक सफा राख्ने अभियान सुरु गरेको हो ।

दरवारमार्गका प्रहरी नायव उपरिक्षक डिएसपी दान बहादुर मल्ल नेतृत्वमा दरवारमार्ग, महेन्द्र शालिक, जमल हुँदै ज्याठासम्मको सडक सफा पार्ने अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सहभागी भए । डिएसपी मल्लले अबदेखि हरेक हप्ता शनिवार सडक सफा राख्ने काम हुने वताए । उनले सडक सफा गरे जस्तै अपराधलाई पनि निर्मुल गर्नु पर्ने वताए ।

दरवारमार्ग बृत्तले नील हिरा समाज, सामुदायिक सेवा केन्द्र निल सरस्वती, ज्याठा युवा समाज, सिद्धार्थ बैंक, होटल अन्नपूर्ण सह आयोजकको रुपमा रहेका थिए । सडक सफा राख्ने अभियानका क्रममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले वातावरण सफा राख्ने काम महत्वपूर्ण रहेको वताइन । “सरसफाई एउटा सभ्यताको पहिचान हो, सर सफाई एउटा स्वास्थ्यको प्रतिक हो अध्यक्ष गुरुङले भनिन्, तेस्रोलिंगी समुदायलाई खाली यौन जन्य दृष्टिकोणबाट मात्रै मुल्याङकन गरिन्छ, आजको यो सर सफाइ अभियानबाट तेस्रोलिंगी समुदाय माथि हेर्ने कुत्सित दृष्टिकोण परिवर्तन गर्ने र त्यसलाई सफाइ गर्ने अभियानको रुपमा पनि लिएका छौ ।” उनले हरेक हप्ता शनिवार हुने सरसफाई कार्यक्रममा उपस्थित भएर सामाजिक कार्यमा संलग्न हुन तेस्रोलिंगी समुदायलाई आग्रह समेत गरिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.