हिम्मत गरेर वाहिर निस्कन जेसिकाको सुझाव

हिम्मत गरेर वाहिर निस्कन जेसिकाको सुझाव

काठमाडौं (पहिचान) मंसिर २८ – पुरुष र महिलाबीचकै समानताको मुद्धामा अल्झिएको हाम्रो समाज तेस्रोलिंगीका लागि झनै सहज छैन । तर केहि तेस्रोलिंगी प्रतिभाहरु समाजका अनेक अड्चनहरु छिचोल्दै आफ्नो वाटो आफै बनाउन उद्यत छन् । यस्तै एक उदाहारण हुन, बाँकेको कोहलपुर नगरपालिका बडा नम्बर ११ निवासी २२ वर्षिया जेसिका खड्का क्षेत्री ।

कलाकारिता क्षेत्रमा सक्रिय जेसिकासँग महिला र पुरुष दुवैको आवाजमा गीत गाउन सक्ने विलक्षण प्रतिभा छ ।

उनी जन्मदाँ जिवन थिइन अर्थात जिवन खड्का । तर जसरी उनको उमेर बढ्दै गयो । उनको मन भने थाहै नपाउने गरि छोरी जस्तै बन्दै गयो । छोरी जस्तै मेकप गरेर चिटिक्क पर्न मन लाग्ने । छोरी जस्तै पहिरन गर्न मन लाग्ने जस्ता प्राकृतिक भावनाहरु उनी भित्र विकसित हुन थाले । ती भावनासंग आफै अपरिचित उनले आमा बुबालाई भन्न सकिनन् ।

‘म किन यति अरु आम महिला पुरुष भन्दा फरक छु भन्ने लाग्थ्यो जेसिका भन्छिन्, बच्चा देखि नै जव किशोर अवस्था १३ १४ सुरु भयो ।’ ‘त्यति वेला देखि नै थाहा भयो । थाहा त पहिला देखि नै हुन्छ तर खुल्न चाहिँ गारो हुन्थ्यो । अब समाज हुन्थ्यो, गाउँघर हुन्थ्यो । डर हुन्थ्यो एउटा मानसिक दिमागमा । त्यो हिसाबमा चाहिँ खुल्न सकेको थिएन । त्यति वेला चाहिँ’ उनले भनिन् ।

जव उनी किसोर अवस्थामा प्रवेश गरिन र थाहा भयो उनी प्राकृतिक रुपमा पुरुष र महिला भन्दा फरक थिइन । उनको पहिचान पुरुष र महिला भन्दा फरक हो र उनलाई हिम्मत आयो समाजमा आफु जिवन होइन जेसिका हो भन्ने । उनी असली पहिचान बोकेर समाजमा निर्धक्क बाच्न थालेको दुई वर्ष मात्र भएको छ ।

पहिला खासै हामी जस्तो व्यक्ति समाजमा हुन्छ भन्ने थाहा पनि थिएन जेसिकाले भनिन्, उनीहरुको लागि पनि छुट्टै किसिमको कानूनहरु बनि राखेको छ भनेर । नेपालगन्जकै हुनुहुन्छ पश्चिम तारा नेपालको अध्यक्ष हुनुहुन्छ परिना चौधरी । उहाँको प्रेरणाले नै हो यसरी खुल्न पाएको ।

जेसिकाले पहिलो पल्ट आफ्ना बुबालाई नै हो म जिवन होइन जेसिका नै हो भनेको । तर बुबाको मानसिकता र समाजको डरले उनको आवाज दवाइयो । यसैबीचमा आमा र बुबा पनि बित्नु भयो । त्यसपछि जेसिकाले दाजु भाउजुसँग आफुलाई परिचय गराइन । संयोग बस् भाउजुको सकारात्मक सोच र सहयोगका कारण उनलाई आफ्नो पहिचानमा बाच्न सहारा मिल्यो ।

‘१९/२० वर्ष पुगेको वेलामा चाहिँ मेरा बाबालाई भने र गाली नै पाए उनले भनिन्, त्यस पछि भाउजुलाई सेयर गर्थे । मलाई किन यस्तो चहाना आउँछ ?’ म यस्तो भएर जन्मेता पनि मलाई किन यस्तो भावना आउँछ भनेर भाउजुसँग सेयर गर्ने गरेको जेसिकाले बताइन । ‘त्यस पछि भाउजुले दाइलाई भन्नु भयो । आफुलाई जे मा इच्छा लाग्छ त्यसमा अगाडि बढ हामी तिम्रो सर्मथन गर्छौ भन्नु भयो । जे होस् यसमा मेरो भाउजुको धेरै हात छ’ उनले भनिन् ।

जेसिका सानै देखि नाच्ने गाउने भने पछि हुरुक्कै हुन्थिन । गाउँमा साना तिना कार्यक्रम हुदाँ दुवै आवाज निकालेर गीत गाउन र नाच्न थालेपछि उनी कलाकारको रुपमा परिचित भइन । यसबीचम उनको टिकापुरका गायक मिसन चौधरीसँग भेट भयो । मिसनले नै उनलाई आफ्नो थारु गीत मार्फत सांगितिक क्षेत्रमा पाइला टेकाइदिए ।

सवै भन्दा पहिले उनले चौधरी भाषामा गीत गाइन । ‘उहाँले नै मलाइ गीत संगित क्षेत्रमा अगाडि बढाउनु भयो जेसिकाले भनिन्, जे होस् उहाँलाई म धेरै सम्झन्छु ।’

हाल जेसिकाको आवाजमा दुई वटा गीत बजारमा आइसकेका छन् । उनले प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका दुई दर्जन बढि स्टेजमा गायन एवम नृत्य प्रस्तुत गरिसकेकी छन् । यस क्षेत्रको स्टेजमा उनको माग दिन प्रति दिन बढ्दो छ । यस दौरान सकारात्मक नकारात्मक दुवै प्रतिकृया बटुल्दै जेसिका अघि बढ्दै छन् ।

पश्चिमी क्षेत्र तिर धेरैले तेस्रोलिंगीको वारेमा बुझ्नु भएको रहेनछ, अर्कै दृष्टिकोणले हेर्नुे गर्नु भएको रैछ जेसिकाले भनिन्, मलाइ नि गारो भएको थियो त्यसरी घरबाट निस्कन । कतै कार्यक्रममा जादाँ पनि कति बेइज्जत या गाली सुन्नु पर्ने, छक्का, हिजडा जस्ता नराम्रा शब्द सुन्नु पर्दा जेसिकालाई पीडा हुन्थ्यो ।

आफुलाई तेस्रोलिंगी कलाकार भनेर चिनाउन पाएकोमा जेसिकालाई अहिले गर्व छ । तर समाजको धारणा अझै बदल्न नसकेकोमा भने उनको चित्त दुखाई छ ।

समाजले परिवारले म जस्तो व्यक्तिलाई अपहेलना नगर्नु होला र उहाँलाई वाहिर प्रस्तुत हुन दिनु होस् जेसिका भन्छिन, उहाँहरुको इच्छा चाहाना अनुसार उनीहरुलाई अगाडि बढ्न दिनुहोस् ।

समाजका अनेक अपहेलनाका खित्काहरु पचाएर अघि बढेकी जेसिकासँग अब समाजको नकारात्मक भय छैन । छ त केवल कलाकारिता र समाज सेवामा जीवन समर्पित गर्ने सपना । त्यहिँ सपना साकार गर्न लागि रहेकी जेसिका आफु जस्तै अलग पहिचान बोकेका प्रतिभालाई हिम्मत गरेर वाहिर निस्कन सुझाव दिन्छिन भने अभिभावकहरुलाई त्यस्ता सन्तानहरुको भावनालाई बुझिदिन आग्रह गर्छिन ।

प्रस्तुती : निशु जोशीको सहयोगमा भावना हुमागाई

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.