‘पहिला आफूलाई सम्हालौं र सक्षम बनौं’

‘पहिला आफूलाई सम्हालौं र सक्षम बनौं’

काठमाडौं (पहिचान) असार ३० – हिजो आज सामाजिक सन्जालका भित्ताहरुमा केही कुरा बारम्बार देखिरहदा केही कुरा नलेखी बस्नै सकिन । म आफै पनि तेस्रोलिंगी पुरुष हुँ । मेरा पनि आफ्नै दुःख संघर्ष छन । उकाली ओराली छन । उतार चढाव छन ।

जिन्दगी यति असुन्तलनमा चलिरहेको छ कि कहिले काही मर्न भन्दा बाच्न गाह्रो भैइदिन्छ । विभिन्न कालखण्ड र भोगाईले सिकाएका केही अनुभूतिहरु लेख्न मन लाग्यो । मनन गर्नुभयो भने बेफाइदा पक्कै गर्ने छैन तपाईंहरुको लागि ।

विशेष गरि आफू स्वयं तेस्रोलिंगी पुरुष भएको नाताले यो कुरा तेस्रोलिंगी पुरुष साथिहरुलाई लक्षित गरेको छु । हिजोआज फेसबुकका भित्तामा विभिन्न साथिहरुको दुःख पीडा संघर्ष देख्न अनि सुन्न पाईन्छ ।

हो दुख लाग्छ नमज्जा लाग्छ सुन्दा पढ्दा । किनकी आफ्नो स्वतन्त्रता र भावनामा बाच्ने अधिकार जो कोहिलाई हुन्छ । यी सबै कुरा भोगिरहदा हामी सर्वप्रथम के कुरा मनन गरौं र संकल्प गरौं भने पहिला हामी सबल र सक्षम बनौं ।

भावना आफ्नो ठाउंमा छाडि दिनुस । यो अर्थमा पनि हामी सक्षम र सबल हुन जरुरी छ कि यहाँ दुर्बल र असक्षम व्यक्तिलाई हर कोहिले सम्मान दिदैन । सामान्यतया जुन उमेरमा हामी आफुलाई फरक पाउछौ त्यो उमेरमा त्यति धेरै सोच्नुपर्ने अत्तालिनुपर्ने अनि घर समाजलाई म फलानो भनेर बाजा बजाउदै हिड्नु जरुरी छैन ।

किनकी तपाईको बिहे गर्ने उमेर र बिहेको दबाब आउने भनेको सामान्यतया अहिलेको अनुपातमा २५ वर्ष पछाडि हो । त्यो उमेरसम्म विभिन्न बहाना बनाउन सकिन्छ । हो त्यही बहानाको उमेरमा पढ्नुस पहिला । पढाइ कहिलै नछोडौं । पढेर केही गरौं ।

कपाल काटेर छोरा मान्छेको कपडा लगाएर हिड्दैमा तपाइलाई कसैले केही कुरामा रोक्दैन । हामी पनि त्यही परिबेसबाट हुर्केका हौं । केही त्यस्ता तेस्रोलिंगी पुरुषको जिन्दगी नजिकबाट नियाल्नुस जो निकै लोकप्रिय पनि हुनुहुन्छ ।

हर समाजले सम्मान दिन्छ उहाहरुलाई । सल्युट गर्छ उहाहरुको भावनालाई । किनकी उहाँहरुले परिवारको लागि र यो समाजको लागि केही न केही त्याग र योगदान गर्नुभएको छ । नाम लिन हुन्थ्यो तर उहाँहरुको पनि आफ्नै मान मर्यादा र इज्जत छ । त्यसैले मलाई परिवारले बुझेन, हेला गर्यो समर्थन गरेन भनेर बाजा बजाएर हिड्नु भन्दा पहिला आफू सबल, सक्षम र सम्हालिउँ ।

किनकी उ बेलाको समाज बिकट गाउंमा हुर्केको म स्वयंले भोगेका कुरा हुन । अझ भनौ तेस्रोलिंगी पुरुषलाई त समाजमा बढी सम्मान दिइन्छ, यदि राम्रो काम गर्नुभयो भने फलानोको छोरी, छोरी भएर जन्मे पनि छोरा सरह छ । त्यस्तो पो हुनु पर्छ भनिन्छ ।

मेरा कानमा गुन्जिरहने यी शब्दले नै मलाई आज यहाँसम्म पुर्याएका छन । शब्दमा शक्ति हुन्छ । तपाईको भावनाले केही फरक पर्दैन । तर तेस्रोलिंगी महिला साथिहरुलाई धेरै पीडा गाह्रो अप्ठ्यारो निश्चित रुपमा छ । म महशुस गर्न सक्छु ।

त्यसैले सायद उहाँहरुको पीडा मैले शब्दमा सम्बोधन गर्ने हिम्मत गरिन । किनकी म मा त्यो क्षमता छैन जसले उहाहरुको संघर्ष समेट्न सकुँ । मैले जे भोगें जे सिकें त्यो मात्र बयान गर्न चाहें ।

हो केही अपमानित शब्द जरुर सुन्न पर्छ थोरै मान्छेबाट त्यो बेला हिम्मत जुटाउनुहोस र सोच्नुहोस कि म के हुं त्यो एकदिन देखाउनेछु । जब तपाईंले परिवारमा केही योगदान गर्नुहुन्छ परिवारका लागि केही त्याग समर्पण गर्नुहुन्छ । तब तपाईं भन्नुस कि आमा म यस्तो मान्छे भनेर बाबा म यस्तो मान्छे भनेर केही मात्रामा बाहेक त्यो बेलामा तपाईले समर्थन पाउनुहुन्छ ।

किनकी हर बुवा आमालाई आफ्नो सन्तानले दुख नपाओस भन्ने हुन्छ । जब तपाईंसँग जिन्दगी चलाउने आधार छन र तपाईं आफैमा बलियो हुनुहुन्छ भने तपाईमा भरोसा जाग्छ र तपाईं प्रति भरोसा आउँछ बुवा आमाको, समाजको र साथिभाईको ।

सम्हाल्नुस आफैले आफैलाई । नपोख्खिनुस छताछुल्ल परेर । त्यति सम्म पोख्खिनुस जतिसम्म तपाईं आफू सहन सक्नुहुन्छ । सम्हाल्न सक्नुहुन्छ । केही अधिकारकर्मीहरु समक्ष जब कोहि आउँछ भने सिधै मिडियामा नदेखाए राम्रो हुन्थ्यो जस्तो लाग्छ । किनकी जब पहिचानको कुरा आउँछ असहजताहरु पैदा हुन्छन ।

उहाँहरुलाई सक्षम, सबल हुन सिकाउदा उत्तम हुन्छ जस्तो लाग्छ । किनकी काम गर्नु छ यहि समाजमा । अधिकारकर्मीहरु त्यस्तो मान्छेलाई मिडियामा ल्याउनुस जो सफल हुनु भएको छ ।

नाम भन्नै पर्दैन सबैलाई थाहा छ । उहाहरुलाई मिडियामा ल्याइदिनु भयो भने समाजमा राम्रो सन्देश प्रबाह हुन्छ । ओहो यो मान्छे त यस्तो रहेछ है भनेर अझ लोकप्रिय हुन्छ । पछाडीको पिंढिलाई प्रेरणा हुन्छ । कि मान्छे राम्रो काम गर्यो भने परिवारले सहर्ष स्वीकार गर्दोरहेछ भनेर ।

२०/२२ वर्षका भाइ बहिनीहरुलाई जो अझै जीवन संघर्षमा हुनुहुन्छ । आफ्नै भावनासँगको लडाईमा हुनुहुन्छ । उहांहरुलाई मिडियामा ल्याउदा कहि कतै सकारात्मक पक्ष सन्देश पक्कै छन तर व्यक्तिगत रुपमा हेर्दा मैले खासै उहाँहरुको लागि त्यति उपयुक्त लाग्दैन ।

किनकी सधै कुनै संस्थाले संरक्षण र रोजगारी दिन सम्भब हुदैन । यहि समाज भित्र केहि न केही गरेर बस्नुपर्ने हुन्छ । अगाडि त जसले पनि वाह भन्छ तर पछाडी कुरा काट्ने चलन र विभेद गर्ने मानसिकता अझै ताजै छ समाजमा ।

तपाईं भाइरलको पछि नलाग्नुस थाहा छ कि छैन भाइरलको अर्थ ? सुन्नु भएको शब्द हो, भाइरल ज्वरो । त्यो भनेको ह्वात्त आउने ह्वात्त जाने । हो तपाईं ह्वात्त आउने ह्वात्त जाने भाइरल बन्ने कोसिस नगर्नुस ।

लोकप्रिय बन्ने कोसिस गर्नुहोस । लोकप्रियता भनेको अजम्बरी जस्तै हो । पुस्तौं पुस्ता रहने । भाइरल भनेको केही समय चर्चा हुन्छ अनि सेलाउछ । तर भाबी असर रहिरहन्छन । तपाईले राम्रो काम भाइरल भएको कतै सुन्नुभएको छ नेपालमा ?

जतिपनि भाईरल छन सबै हत्या बलत्कारका मात्र समाचार भाइरल छन । नकारात्मक कुराको भाइरल छिटो हुन्छ । सकारात्मक कुरा ढिलो आउँछ तर कालान्तर सम्म रहिरहन्छ ।

त्यसैले कोहि कसैको सस्तो लोकप्रियताको पछि नलाग्नुस । पढ्नुस, दुख गर्नुस, संघर्ष गर्नुस, परिवारको लागि केही न केही गर्नुस जसले गर्दा भोलि तपाईको भावना (फिलिङ्स) को अगाडी समाज, परिवार, साथिभाइ सबै निशब्द बनुन ।

नागरिकताबारे मेरो धारणा

नागरिकताको कुरा उठिरहेको छ जोडतोडले । तपाईहरु त्यसको पछि पनि नलाग्नुहोस । विशेष गरि तेस्रोलिंगी पुरुषहरु । तेस्रोलिंगी महिला साथिहरुको लागि भने यो सहि छ र उपयुक्त छ । किनकी उहाहरु मुलुक बाहिरका कार्यक्रममा जादा सहज हुन्छ ।

तर तेस्रोलिंगी पुरुष साथीहरुको लागि मुलुक बाहिर जानलाई असहज छैन । त्यस्ता केही साथिहरु हुनुहुन्छ जो तेस्रोलिंगीको नागरिकता बोकेर पश्चातापमा जलिरहनु भएको छ । किनकी नेपालमा त्यो अवस्था छैन कि तेस्रोलिंगीको नागरिकता बाहक कुनै सरकारी होस वा गैह्र सरकारी संस्थामा जागिर खान सक्ने ।

पहिला अधिकारको कुरा सुनिश्चित हुनुपर्यो अनि मात्र नागरिकताको कुरा आउँछ । तपाईं समलिंगी विवाहलाई मन्यता दिइएका मुलुकका तेस्रोलिंगीहरुलाई हेर्नुहोस । उहाहरुको विवाह दर्ता छ तर दुबै जनाको नागरिकताको लिंगको महलमा महिला नै छ ।त्यसैले जब सम्म विवाहले मान्यता पाउदैन तबसम्म कसैको उक्साहटमा लागेर तेस्रोलिंगीको नागरिकता लिइनहाल्नुहोस ।

र, अर्को कुरा नेपालमा कमसेकम धर्मपुत्रपुत्रीको कानून भयो भने धेरै मात्रामा समस्या समाधान हुन्छ जस्तो लाग्छ । किनकी आखिरमा समाजले सन्तान माग्छ र धर्मपुत्रको कानूुन भयो भने कैयौ साथीहरुले त्यो कानूनको उपभोग गरेर घर परीवार र समाजमा सम्मानजनक जिन्दगी बाच्न सक्नुहुन्छ । टेस्टट्युब बेबि लिन सक्नुहुन्छ सहजै । अहिले यो कानून नहुँदा कतिपय साथिहरुले जसले बच्चा लिनुभएको छ उहाहरुले भोगिरहेको समस्या हो यो ।

अन्तमा सकारात्मक सोच नै जीवन परिवर्तनको सम्बाहक हो । हामी सम्बाहक बन्ने प्रयत्न गरौं । मैले लेखेका शब्दहरु कसैलाई नपच्न सक्छन । बिझाउन सक्छन । किनकी अक्सर तीखो कांडा नै हो बिझाउने । म सिधा लेख्छु । जे हो, जस्तो लाग्छ त्यही लेख्छु ।

म यस कारण लेख्दिन कि मलाई कसैले राम्रो भनोस नराम्रो भनोस जे पो भनोस । म लेख्छु त केवल आत्मसन्तुष्टिका लागि मनमा लाग्ने कुरा । त्यसैले कसैलाई मेरो शब्द प्रती आपत्ती भए अथवा चित्त नबुझे सिधै मलाई इनबक्समा म्यासेज गर्नु होला । गल्तिको महसुस भयो भने म माफी माग्नेछ ।

धन्यवाद

(नेपाल बाहिर रहेका लेखक ठकुरीको यो आफ्नो व्यक्तिगत विचार हो । उनले यो विचार पहिचान मिडियाको फेसवुक पेजको म्यासेज बक्समा पठाएका हुन् । )

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading