लोक सेवाको फारममा ‘अन्य’ लेखेकाहरु अन्योलमा

लोक सेवाको फारममा ‘अन्य’ लेखेकाहरु अन्योलमा

परीक्षा बदर हुँदैन : आयोग

काठमाडौं (पहिचान) साउन ५ – लोक सेवा आयोगको जारी परीक्षामा ‘अन्य’ लैंगिक पहिचान उल्लेख गरिने व्यवस्था भएपनि उत्तरपुस्तिकामा उक्त व्यवस्था नहुँदा परीक्षार्थी अन्योलमा परेका छन् । आयोगले आइतबारसम्म दरखास्त स्वीकृत गरेका महिला, पुरुष मध्ये २ सय ८४ जना ‘अन्य’ लैंगिक पहिचान भएका परीक्षार्थीहरु अन्योलमा परेका हुन् ।

आयोगले आइतवारसम्म १ लाख ८९ हजार ९ सय ५४ जना पुरुष, १ लाख ७४ हजार २ सय ९७ जना महिला र २ सय ८४ जना ‘अन्य’ लैंगिक पहिचानमा आवेदन दिएकाहरुको आवेदन स्वीकृत गरेको जनाएको छ । परीक्षा चलिरहेकाले आवेदन फारम स्वीकृत गर्ने क्रमपनि जारी रहेको आयोगले बताएको छ ।

‘अन्य’ लैंगिक पहिचानमा आवेदन दिएका परिक्षार्थीले भने उत्तर पुस्तिकामा महिला र पुरुषको मात्रै कोलम राखेर लोकसेवा आयोगले दोहोरो चरित्र देखाएको बताएका छन् । आयोगको फारममा महिला, पुरुष र ‘अन्य’ उल्लेख गरेपनि उत्तर पुस्तिकामा अन्य उल्लेख नगरेर आयोगले दोहोरो चरित्र देखाएको परिक्षार्थीले गुनासो गरेका हुन् ।

आयोगको चौथो तहको परीक्षा दिएकी तेस्रोलिंगी अधिकारकर्मी मनिला न्यौपानेले ‘अन्य’ पहिचानमा फारम भरेपनि उत्तर पुस्तिकामा ‘अन्य’ उल्लेख नभएको गुनासो गरिन् । आयोगले हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई कोटा त दिएको छैन, तर आफ्नो पहिचान सहित ‘अन्य’ भनेर आवेदन दिन मिल्छ न्यौपानेले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, उत्तर पुस्तिकामा महिला र पुरुषको मात्रै कोलम छ, ‘अन्य’ भनेर आवेदन दिएकाहरुले कहाँ आफ्नो लैंगिकता जनाउने ?

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आरक्षण दिइएन उनले लेखेकी छन्, खुला प्रतिष्पर्धामा पहिचान अनुसार भाग दिन पाउने अधिकार सुनिश्चित गरियोस । उनले सम्वन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने माग गरेकी छन् ।

तेस्रोलिंगी अधिकारकर्मी न्यौपानले यो लोक सेवा आयोगको दोहोरो चरित्र भएन र ? भनेर प्रश्न गरेकी छन् । उनले उत्तर पुस्तिकामा ‘अन्य’ उल्लेख नभएकाले लैंगिक पहिचान नखुलाएको बताइन । ‘यसले गर्दा मेरो परीक्षा बदर हुने त होइन ?’ उनले प्रश्न गरेकी छन् ।

तर, लोक सेवा आयोगले ‘अन्य’ लैंगिक पहिचानमा आवेदन दिएकाहरुको परीक्षा बदर नहुने प्रष्ट पारेको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले दरखास्तमा उल्लेख लैंगिक पहिचान अनुसारनै नतिजा सार्वजनिक हुने दावी गरे । ‘उत्तर पुस्तिकामा ‘अन्य’ पहिचान उल्लेख नभएपनि हाजिरी कपीमा ‘अन्य’ जनाउन सकिने व्यवस्था छ पहिचान अनलाइनसँग आयोगका सूचना अधिकारी सुवेदीले भने, उत्तर पुस्तिकामा ‘अन्य’ लैंगिक पहिचान नजनाउँदैमा परीक्षा बदर हुँदैन ।’

उनले उत्तर पुस्तिकाको रोल नम्वर मात्रै हेरिने जिकिर गरे । ‘दरखास्त दिदाँ ‘अन्य’ लैंगिक पहिचान जनाएकाहरु झुक्किएको भनेर आउने गरेपनि सच्याउने गरिएको छैन उनले भने, म त महिला हो, म त पुरुष हो, अन्य लैंगिक पहिचान भएछ भनेर आउनेहरु पनि नभएका भने होइनन् ।’

आयोगले दरखास्त फारममा मात्रै नभएर उत्तर पुस्तिकामा पनि महिला, पुरुष र ‘अन्य’ लैंगिक पहिचान उल्लेख गर्नुपर्ने सरोकारवालाहरुको माग रहेको छ । स्थानीय तहका लागि लोक सेवा आयोगले निकालेको चौथो र पाँचौ तहको दरखास्त अन्य उल्लेख गरेर बुझाएकी मनिलाले चौथो तहको परीक्षा दिइसकेकी छन् । पाँचौ तहको परीक्षा दिने तयारीमा रहेकी मनिलाले फेसबुक मार्फत यो गुनासो गरेकी हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading