पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमणको दर उच्च

पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमणको दर उच्च

काठमाडौं (पहिचान) मंसिर १६ – राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र नेपालमा हाल करिब ३० हजार जना एचआइभी संक्रमित रहेपनि यसको संख्या घट्दो दरमा रहेको जनाएको छ । केन्द्रका अनुसार सन् २०१० को तुलनामा सन् २०१८ सम्ममा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको छ ।

हाल नेपालमा कूल २९ हजार ९ सय ४४ जनामा एचआइभी संक्रमण भएको अनुमान छ । केन्द्रका निर्देशक डा अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७ सय ३२ र महिला १२ हजार २ सय १२ जना रहेको जानकारी दिए । हाल विश्वभर तीन करोड ७९ लाख जनामा एचआइभी संक्रमण भएको जनाइएको छ ।

भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसंख्यामध्ये ०.१४ प्रतिशत एचआइभीबाट संक्रमित भएका छन् भने ७१ प्रतिशतले बालबालिकमा हुने नयाँ संक्रमणमा कमी आएको छ । केन्द्रका निर्देशक भट्टचनले एड्सको कारणले मृत्यु हुने संख्या पनि ३८ प्रतिशतले घटेको छ ।

छैहत्तर प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ । नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जेलका कैदी रहेका छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ ।

हेरचाह र सहयोगलगायत एआरभी औषधि उपचार समेतमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको संख्यामा कमिआएको उनले जानकारी दिए । केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआइभी संक्रमितमध्ये ६० प्रतिशत अर्थात् १७ हजार ९८७ जना एआरभी उपचारमा रहेका छन् ।

सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धि कार्यक्रम सञ्चालन गरेको छ । निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआइभी संक्रमण र एड्सबाट मृत्यु हुनेको संख्यामा कमी आएको बताए ।
विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापीरुपमा १६ प्रतिशतले एचआइभी संक्रमण घटेको छ भने ४१ प्रतिशत बालबालिकामा हुने संक्रमण घटेको पाइएको छ ।

सन् २००४ मा सबभन्दा बढी मानिसको एड्सबाट ज्यान गएको थियो । अहिले २०१८ सम्म आइपुग्दा एड्सबाट ज्यान जानेको संख्या पनि ५६ प्रतिशतले घटेको छ । विश्वमा सन् २०१८ सम्ममा कुल एचआइभी संक्रमितमध्ये ६२ प्रतिशत (दुई करोड ३३ लाख)ले मात्र एआरभी उपचार गराइरहेका छन् ।

तस्विर : आनिक रानाको फेसबुकबाट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading