कोरोना, लकडाउन, बिरामी र चिकित्सकको बाध्यता (भिडियो)

कोरोना, लकडाउन, बिरामी र चिकित्सकको बाध्यता (भिडियो)

काभ्रे (पहिचान) चैत १४ – नमोबुद्ध नगरपालिका वडा नम्वर २ सालथुम्की निवासी १९ बर्षिया पूजा तिमल्सिनालाई ज्वरो आयो । देश लकडाउन भएको तेस्रोदिनदेखि आएको ज्वरो सिटामल नखाई डिकोल्ड मात्र खादाँ कम भएन । जिउ चंगा भएपनि टाउको भारी हुने लक्षण देखिएको बताउने पूजा लकडाउनको दिन नजिकको स्वास्थ्य संस्था वडा नम्वर २ को वडा कार्यालयमै रहेको फुलवारी लकाइने स्वास्थ्य चौकीमा पुगिन ।

स्वास्थ्य चौकीमा डाक्टर थिएनन् । वडा अध्यक्ष संजिव ढकाल टेलिफोनमा कति समयमा आइपुग्नु हुन्छ भनेर सोध्दै थिए । कुइकेलथुम्काकी ५१ बर्षीया गीता कुइकेल स्वास्थ्य चौकीमा डाक्टर कुरेर बसेको झण्डै दुई घण्टा हुन लागेको बताउँछिन् । बुच्चाकोटकी विमला अधिकारी पनि स्वास्थ्य चौकीमा डाक्टर कुरेर बसेकी छन् । छोरा सुरज अधिकारीले सुगर र प्रेसर नाप्न आमालाई स्वास्थ्य चौकी पुर्याएका थिए । डाक्टर नभएपछि सुरज पनि आमालाई लिएर फर्किए ।

स्वास्थ्य चौकीमा ज्वरो समेत नहेरिएपछि पूजा दुई पांग्रे सवारी साधनमा भकुण्डेबेशी बजार हुँदै मेथिनकोट अस्पताल पुगिन । अस्पतालको गेटमा इर्मजेन्सी सेवा बाहेक अन्य व्यक्ति प्रवेश नगर्नु होला लेखिएको देखेपछि टक्क रोकिइन । अस्पतालको गेटभित्रै विरामीको उपचार गर्न बेड राखिएको थियो । बेडमा राखेर एक जना विरामीको उपचार भइरहेको छ । उपचार गराइरहेको विरामी कोरोना भाइरसको संक्रमण भएका होइनन् ।

चीनको उवानबाट फैलिएको कोरोना भाइरस (कोभिड – १९) ले विश्वलाई लकडाउन गर्न बाध्य बनाएको छ । नेपाल लकडाउन भएको आज चार दिन भयो । अझै कतिदिन कति हप्ता लकडाउन हुने हो कुनै टुङ्गो छैन । घरमाा बसेकालाई बाहिर ननिस्कन आग्रह गरेपनि गाउँमा खेतवारी, बस्तुभाउ हेर्ने किसानको दैनिकी बदलिएको छैन ।

अत्याबश्यक बाहेकका सबै दुध विक्री समेत बन्द हुँदा पनि किसानलाई गाइ भैसीको स्याहार गर्ने काम बन्द भएको छैन । तरकारी खेती गर्ने किसानलाई गोडमेल गर्ने, पानी लगाउने, खनखान गर्ने लगायतका काममा लकडाउन भएको छैन ।
विपी राजमार्गबाट जम्मा ४ किलोमिटर भित्र लकडाउनको पालना भएको छैन । खेतवारीको काम सकेर युवाहरु कतै फुटवल त कतै क्रिकेट खेलिरहेका छन् ।

मेथिनकोट अस्पताल भने क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थामा जुटेको छ । तर, अस्पतालमा कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) छैन । कोरोना संक्रमण भएको व्यक्तिबाट उपचारमा संलग्न चिकित्सकलाई सर्न नसक्ने सुरक्षा सामग्री उपलब्ध नहुँदा उपचारमा संलग्न चिकित्सक त्रसित देखिन्छन् ।

तैपनि उनीहरु अस्पतालमा पुग्ने विरामीलाई चेकजाँच गरिरहेका छन् । तर, घरदेखि टाढा रहेकाहरु लकडाउनको चौथो दिनपनि ओहोरदोहोर गरिरहेका छन् । आफ्नो स्वास्थ्य प्रति गंभिर बन्नुपर्ने समय हो यो । हेरौ लकडाउनमा स्वास्थ्य सेवा र काभ्रे जिल्लाको नमोबुद्धमा रहेको मेथिनकोट अस्पतालका निमित्त प्रमूख डाक्टर राम शरण श्रेष्ठसँगको यो भिडियो कुराकानी :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.