आँटले हाँस्न खोजेकी मुस्कानको ‘मुस्कान’ संकटमा

आँटले हाँस्न खोजेकी मुस्कानको ‘मुस्कान’ संकटमा

काठमाडौं (पहिचान) असोज १ – आफूलाई आफू भएर बाँच्ने मन सबैको हुन्छ, तर त्यसलाई पूरा गर्न सक्ने वा आउन सक्ने अड्चनहरुको सामना गर्ने आँट निकै कमैमा मात्र हुन्छ ।

त्यसमाथि पनि सामाजिक परिबन्धहरुको जालोमा रहेको नेपाली समाजमा व्यक्तिले आफूलाई स्वतन्त्र रुपमा अभिव्यक्त गर्न शायदै सकेका हुन्छ ।

सामाजिक परिवेशको घेरा तोडेर आफू भएर बाँच्ने आँट गरेकी पात्र हुन् मुस्कान शर्मा । उनी २१ वर्षकी भइन् । एक्लै बस्ने उनीबाट आमाबुवाको माया र स्नेह छुट्यो, दुवै स्वर्गे भए । दाइभाउजु भिन्दै बस्छन् ।

मन बलियो बनाएर आफू बनेकी मुस्कानको अहिलेसम्मको यात्रा सजिलो छैन र वर्तमान पनि । मुस्कानको परिचय धारण गरेको ६ वर्ष भयो, जुन उनले आफू बझ्ने भएदेखि हुन चाहन्थिन् । १५ वर्षको उमेरसम्म विवेक कुमार ठाकुर शर्मा थियो उनको परिचय । छोराको शरीरमा जन्मिएका विवेकको विवेकले कहिल्यै आफूलाई पुरुषका रुपमा स्वीकार गरेन । उनी आफूलाई सम्पूर्ण तह महिलाका रुपमा स्वीकार गर्छन् र त्यहि नै आफ्नो सही पहिचान हो भन्ने बुझेर पनि बन्धनहरुले बाँधिएका थिए । तर १५ वर्षको हुँदा उनले आँट गरे, वास्तविक आफू बने । महिला बने । मुस्कान बने । मुस्कानका रुपमा उनले आफ्नो सही पहिचान मात्रै पाएनन्, जीवनमा मिठो मुस्कान पनि पाए ।

भाइ छोरो, बहिनी छोरी बनेपछि दाइभाउजु, बुवाआमालाई स्वीकार गर्न वा बुझ्न कठिन भयो वा चाहेर पनि खोजेनन् शायद बुझ्न ।

धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ७ निवासी उनले आफ्नो पहिचान अनुसारको नागरिकता भने पाएकी छैनन् । उनी तेस्रोलिंगी महिला हुन् । उनलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पुरुष लैंगिक पहिचानमा नागरिकता दिएको छ । उनले तेस्रोलिंगी महिलाको पहिचानमा नागरिकता मागेकी हुन्, दिएनन्, डाक्टरको प्रमाणपत्र मागे ।
गाउँटोलमा नाचगान गरेर उनले आफ्नो जीविका चलाउँदै आएकी छन् । गाउँघरमा बच्चा जन्मिदा आर्शिवाद दिन बोलाउँछन्, पाँच सयदेखि हजार रुपैयाँसम्म पाउने गरेको उनले बताइन् । तर बालबच्चा सधैँभरि जन्मिदैनन्, उनलाई गुजाराका लागि सारै गाह्रो छ ।

अवस्था सामान्य हुँदा त जेनतेन जीविका धानिरहेकी थिइन् मुस्कानले । तर कोरोना भाइरसको महामारीकाकारण गएको चैत यता उनले नाचगान गर्न पाएकी छैनन् ।

सुरुमा कोभिड – १९ कोरोना भाइरसको महामारीले मात्रै दुःख दिएको थियो । बर्खा लागेपछि बाढीले समस्या थप विकराल बनायो । बस्दै आएको फुसको छानो युक्त घर गएको असारमा बाढीले बगायो । बगाएको घर भएकै ठाउँमा अहिले उनी प्लाष्टिकले बेरेर बस्दै आएकी छन् । केहीदिन छिमेकीकोमा आश्रय लिएकी उनले पछि पहिले झुप्रो भएकै ठाउँमा प्लाष्टिकको आश्रम बनाएकी हुन् ।

राहतमा विभेद

कोरोना कहर र बाढीको विपदले हिर्काएकी मुस्कानले राहत वितरण भइरहेको थाहा पाइन् । उनी नगराइन नगरपालिका वडा नम्बर ७ को कार्यालय गइन् । राहत पाइन्छ कि भनेर पुकेकी मुस्कान अपमान सहनै नसक्ने भारी बोकेर फर्किन बाध्य भइन् ।

‘तिमीहरुका लागि अहिले राहत आएको छैन भनेर फर्काए’ पहिचानसँग कुरागर्दै मुस्कानले भनिन्, ‘आजसम्म वडा कार्यालयले राहत दिएको छैन ।’ वडा कार्यालयले मौगा (तेस्रोलिंगी) का लागि राहत छैन भनेर अपमान गर्यो । वडा अध्यक्ष राम दुलार मुखियाले भने वडा कार्यालयले दुई पटक राहत वितरण गर्दा कोही पनि तेस्रोलिंगी राहत लिन आएको आफ्नो जानकारीमा नभएको प्रतिक्रिया दिए । ‘नगरपालिकामा जानु भएको होला, पहिचानसँग उनले भने मेरो जानकारीमा तेस्रोलिंगी राहत लिन आएका छैनन् ।’

धनुषाका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हितमा काम गर्ने भन्दै खुलेको सुनौलो बिहानी समाजले पछिल्लो समय उनलाई दाल, चामल, पिठो, साबुन, तन्दा, सिरानी सहितका सामग्री दिएको समाजमा कार्यरत छोटु साहले पहिचानलाई जानकारी दिए ।

दाइभाउजु आफ्नो गरेर खाएका छन्, मुस्कानलाई वास्ता गर्दैनन् । तीन धुर जग्गा दिन्छु भनेका दाइले नामसारी गरिदिएका छैनन् । त्यहि पनि पाउँदिन कि छाप्रो बनाउने ठाउँ नै हुँदैन कि भन्ने चिन्ता यथावत नै छ मुस्कानसँग ।
गाउँ समाजमा पनि उनलाई मौग ाभएकै कारण फरक व्यवहार हुन्छ । सामान्य अवस्थामा नाच्ने पेशा गरेर जीवन चलाउँदा पनिउनलाई सामाजका सदस्यले असजिलो बनाएकै थिए । त्यहि असहजतामा पनि काम गरेकी उनलाई अहिले कामै गर्न नपाउँदा निकै गाह्रो भएको छ ।

आफ्नो ठूलो केही सपना नरहेको बताउने मुस्कानले काम गरेर खान पाए र बस्ने बास भए पुग्ने बताउँछिन् । तर विपदमा अरु कोही नभए पनि सरकार हुन्छ भनेको सुनेकी उनलाई सरकारकै विभेदकारी व्यवहारले कोरोना लागेर भन्दा पनि खानै नपाएर मरिन्छ कि भन्ने चिन्ता छ ।

मुस्कान भन्छिन्, ‘अवस्था सामान्य भएपछि आफै जे गरेर बाँचौँला, अहिले चाहिँ सहयोग पाए बाँचिन्थ्यो, सरकार छ भन्ने पनि हुन्थ्यो ।’

सम्बन्धित समाचार :

काेराेना कहरमा लैंगिक तथा याैनिक अल्पसंख्यक

मानव अधिकार आयोगको प्रतिवेदन, ‘जसो जसो पुरेतबाजे उसै उसै स्वाहा’

लैंगिक पहिचान अनुसारको नागरिकतामा दलहरु संर्किण

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading