स्तन क्यान्सर हुने महिलाको सङ्ख्या बढ्दै, आफ्नो स्तन आफै चेक गर्न चिकित्सकको सुझाव (भिडियो)

स्तन क्यान्सर हुने महिलाको सङ्ख्या बढ्दै, आफ्नो स्तन आफै चेक गर्न चिकित्सकको सुझाव (भिडियो)

काठमाडौँ : चिकित्सकहरूले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गराउन महिलालाई आग्रह गरेका छन्। नेपालमा पाठेघरको मुखको क्यान्सर घट्दै गए पनि स्तन क्यान्सर हुने महिलाको सङ्ख्या बढेको चिकित्सकहरु बताउँछन्।
सुरुको अवस्था पत्ता लगाउन सकिए निको पार्न सकिने क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेले बताए। बिएण्डबी अस्पतालका क्यान्सर विभाग प्रमुख डा. न्यौपानेले विश्वका महिलाहरूमा हुने क्यान्सर मध्येमा स्तन क्यान्सर १ नम्बरमा रहेको दाबी गरे।
‘२० वर्ष नाघेपछि महिनावारी भएको पाँचौँ दिनमा आफ्नो स्तन आफैले चेक गर्ने हरेक महिना। एक वर्षमा एक पटक डाक्टरकहाँ गएर देखाउने। करिब ३५ वर्ष उमेर भयो भने अस्पतालमा गएर मेमोग्राफी गर्ने,’डाक्टर न्यौपानेले भने,‘यी तीन कुरा गर्‍यो भने स्तन क्यान्सर बेलेमा पत्ता लगाउन सक्छौ। क्यान्सर हुनु भन्दा अगाडि नै पत्ता लगाउन सक्छौ।’
उनले बच्चा कम पाउने र बच्चालाई दूध नखुवाउने महिलामा स्तन क्यान्सर बढ्दै गएको बताए। मानिसको खानपिन, उमेर बढी, बच्चा कम पाउने र बच्चालाई दूध नखुवाउने महिलामा स्तन क्यान्सर बढ्दै गएको उनले सुनाए।
त्यस कारण स्तन क्यान्सरको बेला बेलामा स्क्रिनिङ गर्नु अत्यन्तै जरुरी रहेको डाक्टर न्यौपानेले सुझाव दिए। विशेष गरी आफ्नो स्तन आफैले चेक गर्नुपर्ने उनको सुझाव छ।
‘आफ्नो स्तन छाम्दाखेरि जिउँमा गिर्खाहरू देखियो, स्तनबाट रगत आयो, स्तनको छाला सुन्तलाको बोक्रा जस्तो भयो। स्तनको मुन्टा भित्र गढ्यो। काखीमा गिर्खा आयो। यस्तो देखियो भने तुरुन्तै ढिलो नगरी अस्पतालमा गएर परीक्षण गराउनु पर्छ,’डाक्टर न्यौपानेले भने,‘साधारण परीक्षण गर्दा नै त्यो कन्फर्म भइहाल्छ। उपचार गर्न सजिलो पनि हुन्छ।’
पाठेघरको मुखको क्यान्सर 
डाक्टर न्यौपानेले नेपाल जस्तो देशमा पाठेघरको मुखको क्यान्सर धेरै कमन रहेको बताए। ‘यो पनि क्यान्सर हुनलाई धेरै लामो समय लाग्छ। धेरै जसो चाही फोहोर पानी बग्ने महिनावारी हुने ठाउँबाट र महिनावारी नआउने समयमा पनि सहवास हुँदा रगत आउने अवस्थामा क्यान्सर भएको शङ्का हुन्छ,’डाक्टर न्यौपानेले भने,‘त्यसलाई पनि साधरणतया चेक गर्‍यो भनेदेखि पत्ता लाग्छ।’
गैरआवासीय नेपाली सङ्घको महिला तथा युवा विभाग र गरिमा कँडेल मेमोरियल ट्रस्टको सहयोगमा मनमोहन मेमोरियल स्मृति अस्पताल फर्पिङमा भएको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षणमा डाक्टर न्यौपाने, डाक्टर साभना प्रधान र डाक्टर किशोर प्रधानाङ्गको टिम खटिएको छ।
डाक्टर साभना र किशोरले पनि यौन सम्पर्कमा रहेका महिलाले क्यान्सरको परीक्षण गराउनु पर्ने बताए।
अक्टोबर महिना क्यान्सर सचेतनाको महिना भएकाले गैरआवासीय नेपाली सङ्घ र ट्रस्टको सहयोगमा निःशुल्क क्यान्सर परीक्षण गरिएको ट्रस्टका अध्यक्ष गंगाराम कँडेलले बताए।
गरिमा कँडेल मेमोरियल ट्रस्टले क्यान्सर रोगको परीक्षण र उपचारमा जनचेतना फैलाउने काम गर्दै आएका अध्यक्ष कँडेलले बताए। ‘क्यान्सर रोग रोकौँ भन्ने पनि शिविरको उद्देश्य हो,’उनले भने,‘क्यान्सरजन्य लक्षण भएका मानिसमा जनचेतना दिने, क्यान्सर पत्ता लगाउन सहयोग गर्ने, पत्तो लागिसकेकालाई सम्बन्धित ठाउँसम्म पुर्‍याउने गर्छौ।’
गैरआवासीय नेपाली सङ्घकी उपाध्यक्ष रबिना थापाले एनआरएनए परोपकारी संस्था भएको हुनाले शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बताइन। पाठेघरको मुखको र स्तन क्यान्सरका कारण धेरै बालबालिकाले आमा गुमाउनु परेको उनले बताइन। ‘परिवारले एक जना सदस्य, एक जना महिला गुमाउनु भनेको ठुलो चोट हो,’उनले भनिन्,‘परीक्षण गराउन महिलाले लाज मान्नु भएन।’
सबै दिदी बहिनीको उपचार होस र सहयोग होस भन्ने हेतुले आफ्नो नेतृत्वमा पहिलो पटक महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको शिविर सञ्चालन भएको उपाध्यक्ष थापाले बताइन।
थापाले गैरआवासीय नेपाली सङ्घको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्। उनकै नेतृत्वमा म्यादीको बेनीमा र पोखराको सराङकोटमा निःशुल्क शिविर सञ्चालन भइसकेको छ।
अध्यक्ष पदकी उम्मेदवार थापाले दक्षिणकाली नगरपालिकाको फर्पिङमा सञ्चालित स्तन र पाठेघरको मुखको क्यान्सर शिविरमा जाने क्रममा दक्षिणकालीका मेयर मोहन बस्नेतसँग छलफल समेत गरेकी छन्।
उनले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट महिलाको मृत्यु हुन नदिन गैरआवासिय नेपाली सङ्घले हरेक वर्ष निःशुल्क परीक्षणको शिविर सञ्चालन गर्ने जानकारी दिइन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.