चुनावी मैदानमा पत्रकार

अध्यक्षका उम्मेदवार भगवान अधिकारी भन्छन् : शासक बन्न होइन, जनताको सेवक बन्न चाहन्छु

अध्यक्षका उम्मेदवार भगवान अधिकारी भन्छन् : शासक बन्न होइन, जनताको सेवक बन्न चाहन्छु

पत्रकारका संगठनले भने, निर्वाचन आयोग अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा गयो

काठमाडौं : स्थानीय तह चुनावका उम्मेदवारहरूको दिनगन्ती सुरु भएको छ। ७५३ वटा स्थानीय तहमा उम्मेदवारी दिएका १ लाख ४५ हजार उम्मेदवारको दिनगन्ती सुरु भएको हो।
निर्वाचन आयोगले मतदाताको घरघर पुग्ने र टोलटोल घुमेर भोट माग्न बन्देज लगाएको छ। अब उम्मेदवारहरूले मतदान स्थलमा भोट माग्न पाउँछन्। ३० गते बिहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म लाइनमा बसेका मतदातासँग भोट माग्ने योजना बनाउन उम्मेदवारहरू व्यस्त बनेका छन्।
१ करोड ७७ लाख मतदाताले ३५ हजार २ सय जनप्रतिनिधि चुन्न मतदान गर्नेछन्। चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले आव्हान गरेको छ।
राजनीतिक दलका शुभेच्छुक संस्थाका रूपमा रहेका पत्रकारका सङ्गठनले विज्ञप्ति निकालेर मतदातालाई विवेक प्रयोग गर्न अपिल गरेका छन्। नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार सङ्घले विज्ञप्ति निकालेर आफ्नो मत दिनका लागि राजनीतिक दल र उम्मेदवार छनौटमा ध्यान दिन भनेका छन्।
विज्ञप्तिमा देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनका एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र विवेक प्रयोग गरी वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न मतदातालाई अपिल पनि गरिएको छ।
निर्वाचन आयोगले विज्ञप्ति निकाल्ने पत्रकारका पाँच वटै सङ्गठनलाई स्पष्टीकरण सोधेको छ। पत्रकारका सङ्गठनले आयोगको स्पष्टीकरण अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा रहेको बताएका छन्। ‘शुभेच्छुक संस्था भएपछि विवेकहीन हुन भएन नि,’पाँच सङ्गठनको तर्फबाट विज्ञप्ति ड्राफ्ट गरेका उनले भने,‘आयोग अभिव्यक्ति स्वतन्त्रताको खिलाफमा गएको छ, हामी स्पष्टीकरण बुझाउने पक्षमा छैनौ।’
स्थानीय तह निर्वाचनमा पत्रकारहरू पनि उम्मेदवार बनेका छन्। २०७४ को चुनावमा केही स्थानीय तहमा पत्रकार जनप्रतिनिधिमा निर्वाचित भएका थिए।
दोस्रो कार्यकालका लागि पनि पत्रकारहरू जनप्रतिनिधिमा चुनिन उम्मेदवार बनेका छन्। काभ्रेको बेथानचोक गाउँपालिका अध्यक्षमा पत्रकार भगवान अधिकारी र वडा नम्बर १ को अध्यक्षमा मधुसूदन तिमल्सिना उम्मेदवार बनेका छन्।
गठबन्धनको साझा उम्मेदवार बनेका अधिकारीले पत्रकारितामा एम.ए.गरेका छन्। गाउँपालिकाका सबै विद्यालयहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका अधिकारी शासक बन्नका लागि नभई जनताको सेवक बन्नका लागि उम्मेदवार बनेको बताउँछन्।
पत्रकार सरोजश्री अधिकारीले गाउँपालिका अध्यक्षका उम्मेदवार अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंश :
मुख्य प्राथमिकता के–के हुन?
बेथानचोक गाउँपालिकाको माया र स्नेह हर पल हर क्षण मेरो मन, मुटु र मस्तिष्कमा रहेको छ। यहाँ हरेक नागरिकको सुख दुःखको सारथि, असहायहरूको लागि वैशाखी बन्न सकूँ भन्ने लाग्छ। बेथानचोक शब्द नै मेरो लागि आत्मीय छ। बेथानचोकका हरेक कुराहरूलाई मैले प्राथमिकतामा राखेको छु। भौतिक पूर्वाधारको विकास, कृषि सँगसँगै पर्यटनको विकास, बेथानचोकबासीहरूको जीवनस्तरमा सुधार, दिगो व्यवस्थापन र सुशासन प्रमुख प्राथमिकता हुन्।
शिक्षा, स्वास्थ्य र खानेपानीमा तपाईँको प्रतिबद्धता के हो?
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा अहिलेको आवश्यकतालाई महसुस गरी विद्यालय शिक्षालाई स्तरीय र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता जाहेर गरेका छौँ। आवश्यकता अनुसार सामुदायिक आवासीय विद्यालयहरू सञ्चालन गर्ने, बेथानचोक गाउँपालिका भित्रका सबै विद्यालयहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गरी प्रविधिमैत्री शिक्षण सिकाई कार्यक्रम यसै वर्षबाट सञ्चालन गर्नेछौँ। आधारभूत तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिनुका साथै बेथानचोकका हरेक विद्यालयहरूलाई नमुना विद्यालय बनाउने अभियानमा हामी सबैले हातेमालो गरी अगाडी बढ्न जरुरी छ। नागरिक स्वास्थ्य अहिलेको गहकिलो मुद्दा बनेको छ। स्वास्थ्य सेवामा सेवाग्राहीमुखी बनाई सहज र सुलभ रूपमा प्रदान गर्नेछौँ। अबका दिनमा उपचारकै अभावमा सर्वसाधारणले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था आउने छैन। जसका लागि हामीले स्वास्थ्य कोषको स्थापना गरी स्वास्थ्य सेवातर्फका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिनेछौँ। हरेक नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउने, ढुंखर्क प्राथमिक अस्पताल र पाँगु भुग्देउ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरयुक्त स्वास्थ्य संस्थाको रूपमा स्थापित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ। बेथानचोक अस्थायी अस्पताललाई थप व्यवस्थित बनाई २४ सै घण्टा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेमा प्रतिबद्ध छु। १५ मिनेट भित्रमा एम्बुलेन्सको पहुँच हुने गरी निजी, सार्वजनिक साझेदारीमा ग्रामीण एम्बुलेन्सको व्यवस्था गर्ने लगायतका योजनाहरू तय गरेका छौँ।
खानेपानीको क्षेत्रमा ‘एक घर एक धारा कार्यक्रम’लाई निरन्तरता दिँदै बाँकी कामलाई ३ वर्ष भित्रमा पूरा गर्ने लक्ष्य लिएका छौँ। ‘बेथानचोक गाऊँ, स्वच्छ पानी पिऊँ’ भन्ने नाराका साथ खानेपानीको बृहत् सम्भाव्यता अध्ययन गरी दातृ निकाय र सङ्घीय बजेट समेत परिचालन गरी एक घर एक धाराको अवधारणामा स्वच्छ खानेपानीको व्यवस्था सहित मुहान संरक्षण कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नेछौँ।
बेथानचोक गाउँपालिकालाई कस्तो बनाउने योजना छ?
बेथानचोक गाउँपालिका नेपालकै समृद्ध र उत्कृष्ट गाउँपालिका बनाउने हाम्रो योजना हो। बेथानचोक गाउँपालिकामा धेरै सम्भावनाहरू पनि छन्। चुनौतीहरू पनि छन्। हरेक चुनौतीलाई अवसरमा परिणत गरी ‘हाम्रो गाउँ समृद्ध बनाऔँ’ भन्ने अभियानमा अघि बढ्नेछौँ। बेथानचोक गाउँपालिकामा कृषि र पर्यटनको प्रचुर सम्भावनाहरू छन्। यी सम्भावनाहरूलाई विकासमा परिणत गर्न कृषि र पर्यटनसम्बन्धी छुट्टै योजनाहरूका साथ अघि बढ्छौँ । अबको पाँच वर्षमा आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचान बोकेको, दिगो विकासका लक्ष्यमा शिखर चुमेको एक सबल, सक्षम र समृद्ध बेथानचोक बनाउने मेरो योजना छ।
च्याम्राङबेशीको विकासलाई कसरी अगाडि बढाउने?
विविधताको सम्भावना भए पनि च्याम्राङबेशीलाई विशेष सम्बोधन आवश्यक छ। वडा नं १ को फुर्केथली तथा भालुछाप्रा, ठुलाखोरीया क्षेत्रलाई चिया खेतीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। यसमा प्रचुर सम्भावना छ। वडा नम्बर १ को तीन तले झरना देखि रतौन झरनाबाट छ्याङ छ्याङ लगायतका झरनालाई आधार मानी पूर्वाधार विकास गर्ने वडाको उत्पादन चिया, खुवा, कफीलाई पर्यटन आकर्षणका विषय बनाउन सकिन्छ। यसका लागि मैले त्यहाँका जानकार, विज्ञहरूसँग छलफल पनि गरेको छु। स्थानीय गाउँहरूमा होमस्टेको विकास गर्ने योजना छ। जहाँबाट बेथानचोक नारायण हुँदै ढुंखर्कसम्म सडक मार्ग तथा नमनबाट ललितपुरको कालेश्वर हुँदै गोटिखेलको वैतरणी धामसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके, फुर्केथलीलाई चियाको हबको रूपमा विकास गर्न सके त्यस भेगले मुहार फेर्नेमा दुइमत छैन। च्याम्राङबेसी तथा झिँगेमा होमस्टेहरू सञ्चालन गर्ने। त्यस क्षेत्रलगायतको बस्तीलाई झिँगे डाँडामा एकीकृत बस्तीका रूपमा आधारभूत पूर्वाधार सहित विकास गर्न आवश्यक छ। यसो गरिएको खण्डमा ढुंखर्कबाट फुर्केथली झिँगे च्याम्राङबेसी हुँदै सडकमार्गबाट पुनः ढुंखर्क नै आइपुग्ने अथवा च्याम्राङबेसी फुर्केथली झिँगे सुकुम हुँदै ललितपुरको कालेश्वरबाट गोटिखेलको वैतरणी धामसम्म पर्यटक पैदल यात्रा गर्न सक्ने छन्। यसले त्यस भेगको विकासमा नयाँ आयाम आउने छ। सुकुम झिँगे कलङसिङ लामिडाँडामा कफी खेती, सुकुमलाई आँप लिची तथा केराको पकेट क्षेत्रको सम्भावना प्रचुर देखिन्छ भने यहाँ उत्पादन भएको दूध, चिया र कफीलाई बेथानचोकको ब्रान्ड दिएर बजारीकरण गर्न सकिन्छ। यतिमात्र हैन मर्चे क्षेत्रलाई स्याउ तथा जडीबुटी उत्पादन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ। यी सबका लागि त्यस भेगमा सडकको विकासलाई नै जोड दिनु पर्छ। यसका अतिरिक्त वडाका सबै कृषकहरूलाई व्यवसायीक बनाएर पशुपालन व्यवसायमा आकर्षित गराउने र दूध उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्ने हो भने च्याम्राङबेशीको मुहारमा पाँच वर्षमा खुसीका रेखा प्रस्ट देखिने छ।
भुग्देउको योजना नि?
भुग्देउ पछाडि छैन नै। तर, केही दूर भने पक्कै हो। भुग्देउमा म त झन् सम्भावना नै सम्भावना देख्छु। भुग्देउको कोप्तिलदेखि थापाडाँडा–मेदाम्सु हुँदै टार, साँझखोरीयादेखि मजुवाबेसी, बाहुनबेसी, आयेँटार, नारायणथान, थिङछाप, सिउरानी र रोशीपारी क्षेत्रमा माहुरीपालन, भैँसी, बाख्रापालनका लागि उर्वर छ। यहाँ पाइने घाँस सोतर नै यहाँको वैभव हो। यहाँका जनताले एउटा अभियान नै चलाउने हो भने हामी गाउँपालिकाबाट यसलाई विशेष सम्बोधन गर्छौ। यो क्षेत्र बाख्रा पालनको हब बन्छ है। बाख्रा रिसोर्टका अवधारणा ल्याउनुस्। हामी तपाईँहरूसँगै उभिन्छौँ। यस्तै तावरी, भञ्ज्याङकर्ख फ्याङखोला, गोलगाउँ, सिमटार भन्ज्याङ क्षेत्र पशु तथा बाख्रापालनका लागि प्रचुर सम्भावना छन्। लप्सी, केराउ, लसुन, तोरी जुनेलो खेतीका लागि पनि यहाँ धेरै सम्भावना देख्छु भने तावरी, भञ्ज्याङकर्ख गोलगाउँ, सिमटार भन्ज्याङ होमस्टेका लागि थप नयाँ गन्तव्य बन्न सक्छन्। यहाँबाट देखिने हिमशृङ्खला र महाभारतको चिसो हावा पानीले कसको मन नलोभ्याउनला र? यस्तै यो क्षेत्रलाई लप्सी उत्पादनको हबको रूपमा विकास गर्न सकिन्छ भने कफी र चिया उत्पादनको पनि पकेट क्षेत्र बन्नेमा दुइमतै छैन। म त भुग्देउ र आसपासको क्षेत्रलाई सम्भावनाको भण्डार देख्छु। हो भुग्देउमा एउटा प्लस टु छैन। यस विषयमा त्यहाँका प्रबुद्ध व्यक्तिहरूसँग बसेर हामी चाँडै छलफल गरेर यसलाई टुङ्गो लगाउँछौँ। भुग्देउको समृद्धिका लागि हामी जिम्मेवार बन्छौँ।
कामीडाडाँको पहिचान के हो त?
बेथानचोकमा ५ नम्बर वडाको आफ्नै विशिष्टता देख्छु। बेथानचोकका सबै वडाहरूको विशेषता यो एकै वडाले बोकेको छ। कामीडाँडाबाट सुरु गरौँ। काभ्रेको चिया बगानको रूपमा आफूलाई उभ्याउँदै गरेको कामीडाँडामा राष्ट्रिय स्तरको चिया रिसोर्ट खोल्न सकिन्छ। चियाका पारखीका लागि यहाँ उत्पादन भएको चियाका साथै इलाम, दार्जिलिङ, सिक्किमदेखि विश्वका ‘टपमष्ट’ चियाका ब्रान्डको स्वाद लिन सक्ने गरी यहाँ चिया रिसोर्ट खोल्न सकिन्छ। दृश्यावलोकनका लागि काभ्रेको उत्कृष्ट भूमिका रूपमा कामीडाँडालाई लिन सकिन्छ। यहाँ रिसोर्ट खोल्न प्रेरित गर्न सकिन्छ। यहाँ रहेको नागपोखरी, खेलमैदानलाई पिकनिक स्पोटको रूपमा पनि विकास गरी यस भेगको आयआर्जनलाई बढोत्तरी गर्न सकिन्छ। च्याल्टीबजारदेखि कपेर महाँङकालसम्म हाइकिङको रुट बनाउन सकिन्छ। चौकीडाँडा, दमार, खरीडाँडालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्न सकिन्छ भने खरीडाँडाको पानीको मुहानलाई थप संरक्षण संवर्द्धन गर्न सकिन्छ। काभ्रेको दक्षिणी भेग मेदाम्सु, भुग्देउ, तावरी, थिङछाप, रोशीटार सिउरानी, फ्याङखोला, पनौती नगरपालिकाको वडा नं। ११ का बस्तीमा उत्पादन हुने लप्सी सङ्कलन गरी मदनबास, भंगाला क्षेत्रमा साँगाको जस्तै लप्सी सङ्कलन र प्रशोधन केन्द्र स्थापना गरी उद्योग र रोजगारी बढाउन सकिन्छ। त्यस भेगमा स्लेट ढुङ्गा खानीको पनि राम्रो सम्भावना छ भने वडा नं। ५ लाई बौद्धमार्गीहरुको अध्ययन केन्द्रको रूपमा पनि अगाडी ल्याउन सकिन्छ। साँच्चै भन्नुपर्दा वडा नं। ५ मा जति सम्भावना छन् त्यसलाई गुरु योजना बनाएरै अघि बढ्न सके पश्चिमा मुलुकमा गएर गरिने कमाई यही प्राप्त हुन्छ। स्थानीयसँग सहकार्य गरी हामी धेरै काम गर्न सक्छौँ। युवाहरूले प्रस्तावना बनाउँदै गर्दा हुन्छ भन्न चाहन्छु।
मतदाताबाट पाएको प्रतिक्रिया कस्तो छ?
मैले बेथानचोक गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेस पार्टीबाट टिकट पाएकै दिनदेखि बेथानचोकका मतदाताहरूमा एक प्रकारको उत्साह छाएको छ। भुग्देउदेखि च्याम्राङबेशीसम्म अनि चलालदेखि कामिडाँडासम्म सबैले चाहेको दिगो समृद्धि र विकास नै हो। चुनावी प्रचारप्रसारका क्रममा मतदाताको घरदैलोमा पुग्दा प्राय सबैले खुसी व्यक्त गर्नु भएको छ। उहाँहरूले खोजेको, रोजेको उम्मेदवार पाएका छौँ। तपाईँबाट हामी बेथानचोकको समृद्धिको अपेक्षा गरेका छौँ भन्ने खालका साथ, समर्थन र आर्सीवाद प्राप्त भएको छ। युवादेखि अग्रज नागरिक आमा बुबाहरूले विश्वास र आर्सीवाद प्रदान गर्नु भएको छ। म उहाँहरूको समर्थन र विश्वासप्रति आभारी छु।
जनप्रतिनिधि चुनिनेमा कतिको विश्वस्त हुनुहुन्छ त?
बेथानचोकका मतदाताहरूको साथ र समर्थनमा मलाई एकरति पनि शङ्का छैन। उहाँहरूले दिनुभएको साथ र समर्थनप्रति म पूर्ण विश्वस्त छु। ‘शासक बन्नका लागि हैन जनताको सेवक बन्न’का लागि मेरो उम्मेदवारी हो। बेथानचोक नारायणको कृपाले म नामले मात्र हैन कामले बेथानचोकका जनताका लागि सहयोग सिद्ध बन्न सकूँ। यसपालिको निर्वाचनमा बेथानचोकका आम मतदाताहरूले गर्नु भएको समर्थनलाई अमूल्य मत प्रदान गरेर मलाई विजयी गराउनेमा म ढुक्क छु। बेथानचोक नारायण प्रति मेरो जति आस्था छ त्यति नै विश्वास बेथानचोकका मतदाताप्रति रहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading