नागरिकता विधेयकमा संशोधन

जन्मका आधारमा विदेशीलाई दिएको नागरिकता खारेज गर्न,ब्रिटिस गोर्खा सैनिकका सन्तानलाई वंशजको दिनुपर्ने सहितका १५ संशोधन दर्ता

जन्मका आधारमा विदेशीलाई दिएको नागरिकता खारेज गर्न,ब्रिटिस गोर्खा सैनिकका सन्तानलाई वंशजको दिनुपर्ने सहितका १५ संशोधन दर्ता

काठमाडौं : नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा १५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।
नेकपा एमालेका शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसहितका सांसदहरूको १५ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद् सचिवालयले जनाएको छ।
आइतबार १५ संशोधन दर्ता भएका र सोमबार दिउँसो २ बजेसम्म संशोधन दर्ता गर्ने समय रहेको सचिवालयले जनाएको छ। विधेयकमा सत्ता गठबन्धन दलका सांसदहरूले भने संशोधन दर्ता गराएका छैनन्।
नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले पार्टीका सांसदहरूबाट संशोधन दर्ता नहुने बताइन। ‘विधेयकमा संशोधन प्रस्ताव पर्दैन,’उनले भनिन्।
नेकपा माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले सांसदहरू संशोधन दर्ता गर्न स्वतन्त्र रहेकाले सत्ता गठबन्धन दलका सांसदहरूले संशोधन दर्ता गर्न सक्ने बताइन। ‘नागरिकता लिन सक्ने संविधानको व्यवस्था विपरीत विधेयक आएको छ,’उनले भनिन्,‘सत्ता गठबन्धन दल भए पनि संशोधन दर्ता गर्न सांसदहरू स्वतन्त्र छन्, भोलिसम्म दर्ता हुन सक्छ।’
नागरिकता विधेयकमा लैङ्गिक पहिचान गायब, ‘अन्य’ लिङ्गमा लिएकाहरू पुरुष या महिलाकै लिने लबिङमा
आइतबार संसद् सचिवालयमा नेमकिपाका सांसद प्रेम सुवालले जन्मका आधारमा विदेशीलाई दिइएको नागरिकता खारेज गर्न माग गरेर संशोधन दर्ता गराएका छन्। विधेयकको प्रस्तावनामा नेपाल भन्ने शब्द अघि नेपालीलाई नागरिकता प्रदान गर्न, जन्मको आधारमा विदेशीलाई दिइएको नागरिकता खारेज गर्न, खुला सीमा बन्द र नियमित गरी नागरिकता समस्याको स्थायी समाधान गर्न भन्ने शब्दहरू थप्न माग गरेको सुवालले जानकारी दिएका छन्।
प्रतिनिधि सभामा विधेयकमाथिको छलफलमा सांसद सुवालले अन्य लैङ्गिक पहिचानमा नागरिकता लिन चिकित्सा विज्ञानले प्रमाणित गरेको हुनु पर्ने बताएका थिए। विधेयकमा लैङ्गिक पहिचान सहितको नागरिकताको व्यवस्था नरहेकाले सुवालको संशोधन प्रस्तावमा अन्य उल्लेख गरेर नागरिकता दिने नदिने केही उल्लेख छैन।
नागरिकता विधेयक : लैङ्गिक पहिचान सहितको नागरिकता लिन मेडिकल रिपोर्ट बुझाउनु पर्छ?
सुवालको संशोधन प्रस्तावमा नेपालीसँग विवाह गरेको बिस वर्षपछि नेपालको कुनै एक मातृभाषा र संस्कृतिबारे लिखित एवं मौखिक परीक्षा उत्तीर्ण भएपछि मात्र अङ्गीकृत नेपाली नागरिकता दिन सक्ने राख्न भनिएको छ।
नेकपा एमालेका सांसद शेरबहादुर तामाङले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका विदेशी नागरिकलाई सात वर्षपछि नेपालको अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न संशोधन दर्ता गराएका छन्।
वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था विधेयकमा थप गर्न तामाङले संशोधन दर्ता गराएको जानकारी दिए।
नागरिकता विधेयक : ‘लाखौँ तेस्रोलिंगी नागरिकताबाट वञ्चित हुने’
सांसद तामाङले ब्रिटिस गोर्खा सैनिकका सन्तानलाई वंशजको नागरिकता दिनु पर्ने व्यवस्था गर्न संशोधन दर्ता गराएका छन्। ब्रिटिस गोर्खाहरूलाई सम्मानार्थ ब्रिटिस आवासीय भिसा वा अङ्गीकृत नागरिकता दिनु पर्ने उनले संशोधन प्रस्तावमा उल्लेख गरेका छन्।
ब्रिटिस सेनामा काम गरी योगदान गरे बापत सम्मानार्थ ब्रिटिस आवासीय भिसा वा अङ्गीकृत नागरिकता प्राप्त गरेता पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम रहनेछ र ब्रिटिस गोर्खाका सन्तान बेलायतमा नै जन्म भई बेलायतको नागरिकता प्राप्त गरेता पनि निजले नेपाली वंशजको नागरिकता प्राप्त गर्न चाहेमा कुनै बाधा पुगेको मानिने छैन भनी थप गर्न उनले संशोधन प्रस्ताव दर्ता गराएका छन्।
संविधानको धारा १२ अनुसार लैङ्गिक पहिचान सहितको नागरिकता दिने व्यवस्था नगर्दा लाखौँ तेस्रोलिंगी नागरिकता पाउनबाट वञ्चित हुने भनेका सांसद तामाङको संशोधन प्रस्तावमा लैङ्गिक पहिचान सहितको नागरिकताको विषय उल्लेख छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading