गैर आवासीय नेपाली

एनआरएनएमा एकताबद्ध गराउने चुनौती

एनआरएनएमा एकताबद्ध गराउने चुनौती

काठमाडौं : गैर आवासीय नेपाली सङ्घको बहुपदिय प्रणाली मार्फत पहिलो पटक कार्यकारी अध्यक्ष महिला भएकी छन्। २००३ मा स्थापना भएको सङ्घको अबको ६ महिना रबिना थापाले कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्ने छिन्।
`महिला र युवा सहभागिता बढाउनु पर्नेछ,पहिलो पटक कार्यकारी अध्यक्ष महिलाले पाएको छ,´थापाले भर्चुअल पत्रकार सम्मेलनमा भनिन्,`काम गरेर देखाउनु पर्ने चुनौती छ, सङ्घलाई एकताबद्ध बनाउनुपर्ने छ, मेरो प्रयास एकताबद्ध गराउने हुन्छ।´
डेलिगेट्स विवादका कारण पक्ष विपक्ष भएकालाई सङ्घमा एकता गर्न एक पटकका लागि बहुपदिय प्रणाली अनुसार तीन अध्यक्ष हुने व्यवस्था विधानमा छ। यही अक्टोबरमा सङ्घको विधान अधिवेशन हुन लागेको छ। विधान अधिवेशनले बहुपदीय व्यवस्था हटाउने छ। सन् २०२३ मा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गराउने थापा, कुल आचार्य र बद्री केसीले प्रतिबद्धता जनाएका छन्।
एनआरएनएमा विवाद भएपछि शेष घलेले छुट्टै संस्था खोलेका छन्। नेपालमा ठुलो लगानी गर्नेहरूको समूह एकतिर सानातिना लगानी गर्ने, पढ्दै कमाउँदै गर्ने अर्कोतिर भएको छ एनआरएनए।
संस्थापकहरूलाई सबैलाई एनआरएनएमा ल्याएर एकताबद्ध गर्ने जिम्मेवारी तीन जना अध्यक्षले लिएका छन्। उनीहरूले सङ्घभित्रको विवाद छलफलबाट नै समाधान गर्दै आएको पनि बताए।
अनलाइन भोटिङ
एनआरएनएको विधान समितिले सन् २०२५ मा हुने अर्को महाधिवेशनमा गैर आवासीय नेपाली सङ्घको सदस्य सबैले नेतृत्व चुन्न अनलाइन भोटिङ गराउने तयारी गरेको बताएको छ।
अनलाइन नाम दर्ता अघिल्लो महाधिवेशनबाट सुरु भए पनि दुई देश बाहेक अरूले अनलाइन नाम दर्ता गराएका छैनन्।
`सबै देशले अनलाइन नाम दर्ताका चाहिने कागजात नदिन सक्छन्,´समितिले भन्यो,`सबैले अनलाइन दर्ता गराए अर्को वर्ष हुने चुनावमा नै डेलिगेट्स भन्ने नभई सबैले भोट हाल्ने हुन सक्छ।´
२०२५ मा चयन हुने नेतृत्वका लागि सदस्य सबैले भोट दिन पाउने व्यवस्थाको तयारी एनआरएनएले गरेको छ।
नेपालमा लगानी गर्ने नीतिगत व्यवस्था गराउन, एक पटकको नेपाली सधैँको नेपाली रहिरहन नेपाली नागरिकता निरन्तरता, नेपाली भाषा कक्षा सञ्चालन,पछिल्लो पुस्तालाई पनि नेपालसँग जाेडिरहनका लागि काम गर्ने तीन जना अध्यक्षले बताएका छन्। सङ्घमा विश्वका ८५ देशमा पुगेका नेपाली आबद्ध छन्। सङ्घको नेतृत्वमा हुने लफडाले सङ्घलाई मुक्त बनाउन काम गर्नेलाई पद दिँदा फरक नपर्ने कार्यकारी अध्यक्ष थापाले बताइन्। `पद लिएर केही पाउने होइन,पदमा बसेर सामाजिक काम गर्छु भन्नेलाई वञ्चित गर्नुहुँदैन,´उनले भनिन्,`पद ठुलो कुरा होइन, काम ठुलो हो।´
थापाले कार्यकारी पाउनु अगाडि कुल आचार्य थिए भने थापापछि बद्री केसी एनआरएनएको कार्यकारी अध्यक्ष बन्नेछन्।
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले पारदर्शिता कायम गरेर एनआरएनएले काम गर्ने बताइन्।
पत्रकार सम्मेलनपछि अध्यक्ष थापाले जारी गरेको विज्ञप्ति
`नेपालीको लागि नेपाली´ भन्ने मूल मन्त्रका साथ नेपाललाई समृद्ध बनाउने महान् अभियानका साथ सन् २००३ मा स्थापना भएको गैर आवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन सम्पन्न भएको ६ महिना पूरा भएको छ।
अति विषम परिस्थितिमा गत मार्च महिनामा सम्पन्न सो महाधिवेशनले पहिलो पटक सङ्घको नेतृत्वमा बहुपदीय नेतृत्व सर्वसम्मतले चयन गरेको थियो। सहमतीय प्रणाली अनुरूप पहिलो ६ महिना सङ्घको कार्यकारी भूमिकामा नेतृत्व समाल्नु भएका अध्यक्ष कुल आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछु।
आगामी दिनमा सङ्घको कार्यकारी अध्यक्षको रूपमा काम गर्ने उद्देश्यले केही प्राथमिकताहरू यहाँहरू समक्ष लिएर उपस्थित भएकी छु।
•गैर आवासीय नेपाली सङ्घले यस अघिदेखि नै उठाउँदै आएका सामूहिक लगानी कोष, नेपालमा पर्यटन प्रवर्धन, वैदेशिक रोजगारीमा रहेकाहरूको लागि सामाजिक सुरक्षा कोष, नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा लगायतका कामलाई मूर्तरूप दिन सरकारसँग प्रभावकारी समन्वयका निम्ति स्थायी संयन्त्र स्थापना गरी अघि बढ्ने वातावरण तयार गर्नमा मेरो ध्यान केन्द्रित रहनेछ।
•विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने वातावरण बनाउन सङ्घले यस अघिदेखि गर्दै आएको विज्ञ सम्मेलनलाई नियमित र प्रभावकारी बनाउन पहल गर्ने छु। यसअघि जस्तै गैर आवासीय नेपाली सङ्घ समान हक, हित र अधिकारका लागि सङ्घर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरूको मागको पक्षमा उभिनेछ।
•गत निर्वाचनमा देखिएको असमझदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने संस्थामा आत्मीय एकता कायम गर्ने मेरो पहिलो प्राथमिकता रहने छ। संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि मेरो सक्रिय भूमिका रहनेछ।
•सङ्घको अभियानबाट बाहिर रहेका सदस्यहरूलाई समेत मूलधारमा ल्याउन पुर्णरुपमा मेरो पहल रहनेछ। गैर आवासीय नेपाली सङ्घको केन्द्रीय कार्यालयलाई चुस्त र विवादरहित बनाउन दक्ष जनशक्तिको परिचालन गरिनेछ।
•`एक प्रदेश, एक मोबाइल ब्लड बस´परियोजनाबाट कम्तीमा ३ वटा प्रदेशमा सञ्चालन गर्नको लागि आइसिसी एनसीसी तथा सरोकारवालाहरूसँग समन्वय आर्थिक सहयोग सङ्कलन गर्ने र खरिद गरी हस्तान्तरण गरिने छ।
•रेस्टरूम परियोजना अन्तर्गत नेपाल दुर्गम तथा केही सहरी क्षेत्रमा निर्माण गर्ने योजना तर्जुमा गरी लागु गरिने
छ।
•सङ्घले नेपालमा रहेका सम्पूर्ण सरोकारवाला निकायहरूसँग सहकार्य गरी समृद्ध नेपाल निर्माण टेवा पुर्‍याउने योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।
•`एक पल्टको नेपाली, सधैँको नेपाली´ लाई सार्थक बनाउन नेपाल सरकार तथा राजनैतिक दलहरू समक्ष आग्रह गरी गैर आवासीय नेपाली नागरिकता प्रमाणीकरण गराउन पहल गरिने छ।
•डेलिगेट्स प्रणालीलाई सहजीकरण गरिनेछ।
•नेपालमा बेरोजगारी कम गर्ने उद्देश्यले’पढ्दै कमाउँदै´जस्ता आयमूलक र सीपमूलक कामको लागि संस्थाभित्र आउने परियोजनालाई अघि बढाइने छ।
साथै विधान मा उल्लेखित सबै तह का पदपूर्ति हरू गरिने छ र संस्था लाई बृहत् बनाउन कोसिस गर्ने छु।
यही अक्टोबर ११ देखि १३ तारिखसम्म हुने सङ्घको वार्षिक साधारणमा प्रस्तुत हुने विधानलाई आम सहमतिको दस्ताबेजको रूपमा अनुमोदन गरेर सङ्घको आगामी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनलाई सुनिश्चित गर्नको लागि सबै राष्ट्रिय समन्वय परिषद्, वर्तमान कार्यसमिति तथा सङ्घका सदस्यहरूसँग हार्दिक अपिल गर्दछु।
रबिना थापा
कार्यकारी अध्यक्ष,
गैर आवासीय नेपाली सङ्घ

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading