एचआइभी/एड्स रोकथाम

कन्डमबारे ज्ञान धेरै प्रयोग कम

कन्डमबारे ज्ञान धेरै प्रयोग कम

भैरहवा : ‘दोहोरो सुरक्षाको लागि कन्डमको प्रयोग गरौँ’ भन्ने नारा का साथ २८ औँ राष्ट्रिय कन्डम दिवस भैरहवामा पनि मनाइएको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा एचआइभी/एड्स र परिवार नियोजनमा काम गर्ने १० भन्दा बढी साझेदारी संस्थाहरूको सहभागिता रहेको थियो।
देवकोटा चोकमा स्टल राखी एचआइभी/एड्स र यौन रोगबारे सचेतना फैलाउँदै विभिन्न प्रचारप्रसारका सामग्री र कन्डम वितरण गरिएको छ। एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीका कार्यालय प्रमुख मनिला न्यौपानेले समाजमा कन्डमबारे ज्ञान भए पनि यसको प्रयोग कम भएकोले यौनजन्य रोग र एचआइभी सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्।
उनले एचआइभीको अवस्थाबारे थाहा नभएका कारणले अरूलाई सार्ने जोखिम बढी हुने भएकाले एचआइभी र एड्सको रोकथाम र उपचारमा लागेका सरकारी अस्पताल लगायत साझेदारी संस्था एक्लोलाई सहारा दिने वृक्ष समूह, नमुना एकीकृत विकास परिषद्, ए.एचफ., आस्था समूह, कपिलवस्तु इन्टीग्रेटेड डेभलपमेन्ट सर्विसेज जस्ता गैरसरकारी संस्थाको सम्पर्कमा आइ आफ्नो रगत परीक्षण तथा निःशुल्क परामर्श लिन सकिने जानकारी दिइन।
एक्लोलाई सहारा दिने वृक्ष समूह रुपन्देहीका अनुगमन तथा मूल्याङ्कन अधिकृत सुदर्शन गौतमले समाजमा एचआइभी एड्स सङ्क्रमितहरूलाई भेदभाव तथा लाञ्छनाका कारण एचआइभीको जोखिममा रहेकाहरू पनि रगत परीक्षण र परामर्श लिन खुलेर आउन नसकेको बताए। उनले समाजमा करिब ३० हजार जना एचआइभी सङ्क्रमित भएकाहरू सम्पर्कमा आउन नसकेको बताए।
मानवअधिकार कर्मी विनोद बि.सीले विभेद र लाञ्छनाकै कारण यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू अन्य समुदाय भन्दा बढी मात्रामा एचआइभी सङ्क्रमित हुने गरेको बताए।
नमुना एकीकृत विकास परिषदमा कार्यरत राजन गुप्ता र ए.आर.टी.सेन्टरमा कार्यरत प्रभाकर यादवका अनुसार एचआइभी लागे पनि नियमित औषधी सेवन र समयमा चेकजाँच गरे बाँच्न सकिन्छ। स्टलबाट करिब ५ हजार बढी कन्डम निःशुल्क वितरण गरिएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.