परिवार नियोजन

सायना प्रेस सुई : डोज कम तर, ९९ प्रतिशत प्रभावकारी

सायना प्रेस सुई : डोज कम तर, ९९ प्रतिशत प्रभावकारी

काठमाडौं : परिवार नियोजनको अस्थायी साधन ‘सायना प्रेस’ नामक तीन महिने सुई नेपालका थप पाँच जिल्लामा विस्तार हुने भएको छ। परीक्षण सेवा नवलपरासी र सिन्धुली जिल्लामा गरिएको थियो।

ललितपुर, मोरङ, कैलाली, रुकुम र पर्सा जिल्लामा सेवा सञ्चालन गर्न परिवार नियोजन सङ्घले स्वीकृति पाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले सायना प्रेसको सेवा सञ्चालन गर्ने अनुमति दिएको परिवार नियोजन सङ्घ उपत्यका शाखाले जनाएको छ।

महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस ९९ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ। हरेक तीन महिनामा एक पटक लगाउनु पर्ने यो साधन तिघ्रा वा पेट वा पाखुरामा लगाउन सकिने सङ्घको उपत्यका शाखाका शाखा प्रबन्धक शरद अर्यालले जानकारी दिए। ‘सरकारले परीक्षण सेवा सुरु गर्‍यो,प्रभावकारी भएको पायो र हामीलाई सेवा सञ्चालन गर्न भन्यो,’पत्रकार भेटघाट कार्यक्रममा उनले भने,‘सायना प्रेस डीपोप्रोभेरा सुई भन्दा धेरै फरक छैन।’

हरेक महिलालाई आमा बन्न अधिकार भए पनि कति बच्चा जन्माउने,कति अन्तरमा जन्माउने भन्ने अधिकार पनि हुनुपर्छ। परिवार नियोजनका साधन सुरु भएपछि महिलाले पनि आफ्नोबारे आफै निर्णय गर्ने अधिकार पाएका छन्। परिवार नियोजनका साधनमा अर्को विकल्पको रूपमा थप सायना प्रेस सुई माघ महिनादेखि लगाउन सुरु गर्ने शाखा प्रबन्धक अर्यालले जानकारी दिए।

सायना प्रेस पनि अन्य परिवार नियोजनका साधनमध्ये एक हो। यो प्रभावकारी प्रमाणित भइसकेको छ, त्यसैले ढुक्क भएर प्रयोग गर्न सकिने अर्यालले बताए।

हरेक महिलामा परिवार नियोजन वा परिवार योजनाको निर्णय लिने अधिकार छ। विश्वका अन्य देशमा प्रयोगमा आइरहेको यो सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिन सके आफैँ लगाउन सकिन्छ।

एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ।

यो साधनको प्रयोगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकी महिलाले पनि प्रयोग गर्न मिल्ने, इस्ट्रोजेन नामक हर्माेन भएको वा इस्ट्रोजेन र प्रोजेस्टेरोन भएका महिलाले पनि प्रयोग गर्न मिल्ने सङ्घका स्वास्थ्यकर्मीले जानकारी दिए।

यो सुई गर्भवती नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआइभी सङ्क्रमित वा एड्स भएको वा एन्टी रेट्रो भाइरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने स्वतथ्यकर्मी बताउँछन्।

सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ। छालाको मुनि पर्ने गरी एक पटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ।

यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ। औषधी एउटै हो, मात्रा मात्रै फरक हो। डिपो प्रोभेरा पाखुरामा मात्रै लगाइन्थ्यो भने सायना प्रेस पाखुराको अतिरिक्त पेट र तिघ्रामा समेत लगाउन सकिन्छ। सायना प्रेस ०.६५ एमएल (मिलिलिटर) मा १०४ मिलिग्राम (एमजी) हुन्छ भने डिपो एक एमएलमा १५० एमजी हुन्छ।

सायना प्रेसलाई महिला आफैँले पनि सुईको माध्यमबाट लगाउन सक्छन्। सामान्य तालिमको भरमा पनि महिलाले घरमै सायना प्रेस लगाउन सक्ने शाखा प्रबन्धक अर्यालले बताए। यो साधनले कुनै प्रकारको कमजोर बनाउँदैन। शारीरिक कमजोरी र रक्तअल्पता हुनबाट बचाउने दाबी गरिएको छ।

रगत धेरै बग्न सक्छ वा हल्का रगत धेरै दिनसम्म बग्न सक्छ। यस्तो समस्या केही महिना पछि आफैँ ठिक भएर जान्छ। बरु कहिलेकाहीँ महिनावारी हुँदा रगत नै नदेखिन सक्ने सायना प्रेस सेवा सञ्चालन तथा विस्तार सहजीकरण सामग्रीमा लेखिएको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले सायना प्रेस सुई लगाउँदा खानामा अरुचि नहुने र महिलाले गर्भधारण गर्न चाहेसम्म यसलाई प्रयोग गर्न सक्ने जनाएको छ।

सायना प्रेस आफैँ भण्डारण गरेर पनि राख्न सकिन्छ। पहिलो पटक स्वास्थ्यकर्मीबाट लगाएपछि अर्को पटक आफैँ लगाउन सक्ने सेवा पनि परिवार नियोजन सङ्घले दिने जनाएको छ। यो खोप कोठाको तापक्रममा भण्डारण गर्नुपर्दछ। सूर्यको किरण सिधै नपर्ने गरी भण्डारण गर्नुपर्दछ। भण्डार कक्षको भुईँ तथा भित्ता ओसिलो हुनुहुँदैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading