सब–स्टेसनको विरोध

शंखरापुर बोझेनीका स्थानीय आक्रोशित, पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि छानबिन

शंखरापुर बोझेनीका स्थानीय आक्रोशित, पेस्तोल ताक्ने प्रहरी निरीक्षकमाथि छानबिन

काठमाडौं : अपर तामाकोसी जलविद्युत आयोजनाको सब–स्टेसन बनाउन नदिने आन्दोलन दबाउन प्रहरीले पेस्तोल ताकेको छ। सब–स्टेसन निर्माणको विरोध गरेका काठमाडौँ शंखरापुर बोझेनीका स्थानीयको आन्दोलन दबाउन प्रहरीले पेस्तोल ताकेको हो।

बोझेनीका स्थानीयले एक सातादेखि आन्दोलन जारी राखेका छन्। अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत ०७४ देखि नै सुरु भएको आयोजनाको सुरुवात देखि नै स्थानीयले विरोध जनाएका थिए।

एमसीसीले प्रसारण लाइन र विद्युत् प्राधिकरणले सब-स्टेसन निर्माण गर्ने भएपछि शंखरापुरका बासिन्दा उठिबास बनाउन लागेको भन्दै आन्दोलित भएका हुन्।

नेपाल सरकारसँग विद्युत् प्रसारण लाइन र सब-स्टेसन निर्माण गर्ने सम्झौता गरेको एमसीसीले बोझेनीबाट सर्वेको काम सुरु गरेको छ। बोझेनीबाट सुरु भएको एमसीसीको प्रसारण लाइन भारतको सिमानासम्म पुग्नेछ।

प्रहरीले स्थानीय बासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरु गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

अपर तामाकोसीको सब-स्टेशन निर्माणमा जोडियो एमसीसी, स्थानीय आन्दोलित

गत शुक्रवार स्थानीयको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट खटिएका प्रहरी टोलीका प्रहरी निरीक्षक बुढाथोकीले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिऊँ’ भन्दै पेस्तोल ताकेका थिए।

उनले गैर व्यावसायिक अभ्यास गरेकाले छानबिनका लागि समिति बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी मैनालीले जानकारी दिए।

स्थानीय आक्रोशित

प्रहरी प्रशासनले बल प्रयोग गरेर सब-स्टेशन बनाउन सर्भे जारी राखेपछि स्थानीय आक्रोशित भएका छन्। बोझेनीका स्थानीयले ‘एमसीसी मुर्दावाद, गृहमन्त्री राजीनामा दे, कुलमान घिसिङ मुर्दावाद,’ जस्ता नारा लगाउँदै आन्दोलनमा जारी राखेका छन्।

बस्तीको बिचमा सब-स्टेशन निर्माण हुँदा पुरै बस्ती विस्थापित हुने भएकाले आफूहरूको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने सङ्घर्ष समितिका अध्यक्ष रञ्जित तामाङले बताए।

सब-स्टेशन निर्माणले खेतीयोग्य जमिनका साथै आफ्नो पहिचान संस्कृति जोगाउन नसकिने डर बढेको उनले बताए। ‘मुआब्जा पाए निर्माण गर्न दिने भन्ने होइन,’उनले भने,‘एक मात्र माग बस्तीबिचमा सब-स्टेसन बनाउन हुँदैन भन्ने नै हो।’

यो सब–स्टेसनले माथिल्लो तामाकोसी, एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ।

स्थानीयको मागमा शंखरापुर नगरपालिकाले साथ दिएको छ। विद्युत् सब-स्टेशन मानव बस्तीभन्दा पर हुनुपर्ने निर्णय गदै नगरपालिकाले नेपाल सरकारलाई जानकारी गराउँदा समेत बेवास्ता गरिएको वडाध्यक्ष सूर्य बहादुर तामाङले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading