मन्त्रिपरिषद् २३ सदस्यीय : चार उपप्रधानमन्त्री, ६ जना महिला

मन्त्रिपरिषद् २३ सदस्यीय : चार उपप्रधानमन्त्री, ६ जना महिला

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २३ जना मन्त्री बनेका छन्। प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने आफैसँग राखेका छन्। २३ मध्ये तीन जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री बनेका छन्। यसअघि एमालेका विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थ, माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधान तथा गृह मन्त्रीमा नियुक्त भएका थिए। मङ्गलवार विस्तार भएको मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा नियुक्त भएसँगै सरकारमा उपप्रधानमन्त्रीको सङ्ख्या चार पुगेको हो।

राष्ट्रपति कार्यालयका अनुसार रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डे सहरी विकास, ज्वाला कुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र अब्दुल खान खानेपानी मन्त्री बनेका छन्।

रवि लामिछाने उपप्रधानमन्त्रीको ‘फुर्को’ हटाउन तयार

यस्तै डा. विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा र ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन्।

सुशीला श्रीपालि ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्या र दीपक बहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्रीमा नियुक्त भएका छन्।

६ जना महिलाको प्रतिनिधित्व


वर्तमान मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री बनेका छन्। एमालेबाट राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्याल परराष्ट्र मन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रिय योजना आयोगको पूर्व सदस्य भई काम गरेकी पौड्यालले पहिलो पटक मन्त्री बनेकी हुन्।

काँग्रेस उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गरेर सांसदमा निर्वाचित एमालेकी भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएकी छन्। एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी उनी पूर्व वनराज्यमन्त्री समेत हुन्। उनी २०७० सालको संविधानसभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा गच्छदारसँग पराजित भएकी थिइन्।

सुनसरीमा फरवार्ड नामक लघुवित्त संस्था स्थापना गरेर महिलालाई रोजगारी दिएकी भगवतीले गच्छदारले सरकारमा बसेर २० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने बताउँदै आएकी थिइन।

एमालेकै ज्वाला कुमारी शाहले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्। उनी बाबुराम भट्टराईको सरकारमा साढे चार महिना भूमिसुधार राज्यमन्त्री बनेकी थिइन।

एमाले महासचिव शङ्कर पोखरेललाई पराजित गरेकी रेखा शर्मा सञ्चार मन्त्री बनेकी छन्। २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बाबुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरू सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन। उनी यसअघि सामान्य प्रशासन मन्त्री बनेकी थिइन। माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेकी सुशीला श्रीपालि ठकुरीका श्रीमान् डम्बरसिंह ठकुरी सेना समायोजनमार्फत नेपाली सेनामा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित डाक्टर तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्री पाएकी छन्। उनले डा.गोविन्द के.सी.को स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहको आन्दोलन, व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading