रविको ‘विधि र पद्धति’ बालकोटमा बन्धक

रविको ‘विधि र पद्धति’ बालकोटमा बन्धक

काठमाडौं : हत्या आरोपमा फरार लक्ष्मी कोइरी नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन्। मङ्सिर ४ मा सम्पन्न चुनावबाट निर्वाचित सांसद कोइरीले निर्बाध संसद् बैठकमा आउजाउ गरिरहेका छन्।

कोइरीले पुस ७ गते प्रतिनिधि सभा सदस्यको शपथ लिए भने पुस २६ गते संसद् बैठकमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए। बिहीबार सभामुख चयनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा कोइरीको संसद् आउजाउलाई लिएर काँग्रेसले ध्यानाकर्षण गराएको छ। बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणालाई काँग्रेस सांसद रामहरि खतिवडाले कोइरीको उपस्थितिबारे ध्यानाकर्षण गराए।

कोइरीले सभामुख चयनको मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गर्न खतिवडाको माग थियो। ‘सभामुखको निर्वाचन हुने बेलामा हत्या अभियोग लागेका सांसदहरू पनि यहीँभित्र छन् भन्ने सुनिन आएको छ, म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु हामी चिन्दैनौ उहाँलाई,’खतिवडाले भने,‘यदि उपस्थित हुनुहुन्छ भने उहाँलाई मतदान प्रक्रियामा भाग लिन पाउने÷नपाउने निर्क्योल गरेर मात्रै सभा सञ्चालन गरियोस् भन्ने माग गर्न चाहन्छु।’

ज्येष्ठ सदस्य राणाले हत्या आरोपमा फरार सांसद कोइरीको उपस्थिति र मतदान प्रक्रियामा भाग लिन पाउने/नपाउने केही बोलेनन्। प्रहरीको फरार सूचीमा रहेकै बेला महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको संरक्षणमा छन्। ओली सत्ता साझेदार दलको राजनीतिक संयन्त्रको संयोजक बनेका छन्।

रवि लामिछाने उपप्रधानमन्त्रीको ‘फुर्को’ हटाउन तयार

काँग्रेस सांसद विश्वप्रकाश शर्माले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राखेको बताए। शर्माले माछा नपर्ने ढोक्सा नथापेको तर ओलीले सरकारलाई पिँजडामा राखेको बताउँदा प्रधानमन्त्री प्रचण्ड मुस्कुराएका थिए।

गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद कोइरीलाई विधि र पद्धतिअनुसार पक्राउ गरिने बताए। तर उनको विधि र प्रक्रिया ओली निवास बालकोटमा बन्धक बनेको छ। सत्ता साझेदार दलका सांसदलाई पक्राउ गर्दा गडबड हुने देखेका लामिछानेले विधि र पद्धति अनुसार हुने बताए। प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कोइरीलाई पक्राउ गर्न नसकेकोमा प्रश्न उठेपछि गृहमन्त्री लामिछानेले राप्रपाको चियापनमा कार्यक्रममा कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयमा निर्देशन दिएको बताएका थिए।

गृहमन्त्री रविमाथि अमेरिकी दूतावासकी पूर्वकर्मचारीको आरोप

तर, बिहीबारको संसद् बैठकमा उनले सांसद कोइरीको नाम लिएनन् भने सभामुखले रुलिङ नगरेको उल्लेख गरे। काँग्रेसका सांसद खतिवडाले कोइरीलाई पक्राउ गर्न गराएको ध्यानाकर्षणबारे जवाफ दिँदै गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक इन्च बाहिर नजाने बताए। ‘यसको प्रक्रिया छ,’उनले भने,‘यसमा दबाब र प्रभाव पार्नु हुनेछैन।’

लामिछानेले आफैँ नागरिकता विवाद परेका छन्। अमेरिकी नागरिक त्यागेको तर नेपाली नागरिकता लिने प्रक्रियामा नगएको स्वीकार गरेका लामिछानेको मुद्दामा सर्वोच्च अदालतले माघ ११ गते पूर्ण सुनुवाइका लागि पेशी तोकेको छ। लामिछाने आफैँ नागरिकता विवादमा परेकाले फरार सांसद कोइरी पक्राउ गरेर बालकोटलाई चिढ्याउन चाहँदैनन्।

मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका कोइरी प्रहरीको फरार सूचिमा छन्। भ्रष्टाचार आरोपी काँग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परिसकेका छन्। फौजदारी अभियोग लागेका तर पक्राउ नपरेका कोइरी भने नियमित संसद्मा आउजाउ गरिरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading