प्रेम आचार्यको आत्मदाह

जनआक्रोस सतहमा, नेताहरू दोष थुपार्ने होडबाजीमै व्यस्त

जनआक्रोस सतहमा, नेताहरू दोष थुपार्ने होडबाजीमै व्यस्त

काठमाडौं : इलामका प्रेमप्रसाद आचार्यले संघीय संसद भवन नयाँ बानेश्वर अगाडी आत्मदाह गरे पछि जनआक्रोस सतहमा देखिएको छ। एक नागरिकले हजारौँ प्रयास गर्दासमेत भ्रष्ट राजनीतिक तथा कर्मचारी तन्त्रका कारण बाच्न सक्ने अवस्था नरहेको भन्दै विरोध सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी भइरहेको नजिकै आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गर्ने प्रयास गर्नुले देशको अनुहारमा कालो धब्बा लागेको रूपमा टिप्पणी पनि भएको छ।

आत्मदाह गर्नुअघि आचार्यले करिब ६ हजार शब्द फेसबुक स्ट्याटस लेख्दै देशको स्थिति र आफूले भोग्नुपरेको सास्तीका बारेमा उल्लेख गरेका थिए। आचार्यको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भए पछि उपप्रधानमन्त्री रवि लामिछानेले परिस्थितिका कारण शान्त विद्रोह गरेर राजनीतिमा होमिएको बताए।

लामिछानेले सरकारमा आउँदासमेत थप आशा जगाउन नसकेकोमा आफू दोषी रहेको उल्लेख गरे। त्यसपछि आचार्यको परिवारलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका लामिछानेले आचार्यले उठाएका मागका बारेमा छानबिन गर्ने प्रतिबद्धता जनाए।

लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले आचार्यले उठाएका विषयमा छानबिन गर्ने निर्णय गरेको छ। छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिने बैठकले निर्णय गरेको गृहमन्त्री लामिछानेले जानकारी दिए।


तर मृतककी श्रीमती नानुका आचार्यले अघि सारेका मागमा सरकार गम्भीर देखिएन। आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षा सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी थिइन।

आचार्यको आत्मदाह नभएर राज्यद्वारा हत्या भएको भन्दै न्याय माग्दै युवाहरू सडक सङ्घर्षमा उत्रिएका छन्। काठमाडौँको माइतीघरमा केही युवाहरूले स्वस्फुर्तरूपमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘अब अर्को श्रद्धाञ्जली मेरो लागि नहोस् !’ भन्दै राज्यको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सरकारले अहिलेको अवस्था बदल्नका लागि ठोस् कदम नचालेसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी दिए।

काठमाडौँमा मजदुरहरूलाई दिनदिनै लखेटिरहेका मेयर बालेन साहले पनि आचार्यको मृत्यु राज्यकै कारण भएको भन्दै फेसबुकमा स्ट्याटस लेखेपछि उनी पनि भागिदार भएको आरोप लागेको छ।

प्रमुख प्रतिपक्षी दलले समेत यसलाई सरकारको विरोध गर्ने विषय बनाएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले आचार्यको आत्मदाहको घटनाले राज्य लज्जित भएको टिप्पणी गरेका छन्।

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहले सबैलाई कठघरमा उभ्याएको उल्लेख गरेका छन्। सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष सिके राउतले भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा नेपालमा क्रान्ति ल्याउनुपर्ने बताएका छन्।

गरेर खान चाहने सोझासाझाहरूका लागि यो देश बाँच्नै नसक्ने सीमासम्म पुगेको भन्दै राउतले मोहम्मद बौउजीजीले आत्मदाह गर्दा सुरु भएको अरब आन्दोलनले ल्याएको परिवर्तनसँग तुलना गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading