गृह माओवादी र अर्थ काँग्रेसले लिने पक्का, दलहरू मन्त्री छान्न व्यस्त

गृह माओवादी र अर्थ काँग्रेसले लिने पक्का, दलहरू मन्त्री छान्न व्यस्त

काठमाडौं : मन्त्रिपरिषद् विस्तारको भाका सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको गठबन्धन दलको बैठकले बिहीबार साँझसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ।

अब दलहरूले प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउने छन्। जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने गरी छलफल भएको बताए। ‘कसलाई कति वटा मन्त्रालय दिने भन्ने कुरामा एकसरो स्टान्डिङ भयो,’बैठकपछि श्रेष्ठले भने,‘त्यो अनुसार भोलि (बिहीबार) बेलुकासम्म मन्त्रिपरिषद् विस्तार भएर शपथ ग्रहण गराउने सहमति भएको छ।’

श्रेष्ठका अनुसार जनमोर्चाबाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारमा नजाने उनले बताए। माओवादी केन्द्र पाँच मन्त्रालयमै सीमित रहे पनि काँग्रेस ले ७/८ कति पाउने भन्ने निर्णय बिहीबार बिहान ८ बजे बस्ने बैठकबाट हुने उनले सुनाए।

होल फाइनान्सियल सिस्टममा प्रबलम, सडकमा नारा लाग्दा राष्ट्र बैङ्क रमिते (भिडियो)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका शीर्ष नेताहरूसँग छुट्टा छुटै भेटेर एक/एक जनाको मात्रै भए पनि नाम लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका थिए। तर, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पटकपटक नाम दिँदा पार्टी भित्रै विवाद आउने बताएपछि प्रचण्ड एक÷एक जना सहभागी गराउने योजना रोक्न सहमत भएका छन्।

गृह प्रधानमन्त्रीकै दल नेकपा माओवादीले राख्ने र काँग्रेस अर्थ मन्त्रालय लिएर सरकारमा जाने टुङ्गो लागे पनि अरू मन्त्रालयको भागबन्डा टुङ्गिन बाँकी छ। काँग्रेसमा सरकारको नेतृत्वलाई लिएर उपसभापति पूर्णबहादुर खड्का र पार्टी प्रवक्ता डा.प्रकाशशरण महत सभापति देउवासँग लबिङ गरिरहेका छन्।

गठबन्धन दलको बैठकमा सहभागी उपसभापति खड्का अर्थ लिएर सरकारको नेतृत्वमा दाबी गरिरहे पनि सभापति देउवाको रोजाइमा अहिलेसम्म प्रवक्ता महत नै छन्। माओवादीले गृहको नेतृत्व नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिने लगभग पक्का गरे पनि काँग्रेसले अर्थ मन्त्रालयमा खड्का या महत कसलाई पठाउने टुङ्गो गरेको छैन।

मन्त्रिपरिषद् विस्तार : घेराबन्दीमा प्रचण्ड

मन्त्रालय भागबन्डा टुङ्गो नलाग्दा मङ्गलवार बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित गरेको काँग्रेसले बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनुरोध गरेका छन्।

नेकपा एकीकृत समाजवादी र जसपाले ३/३ मन्त्रालय दाबी गर्दै आएका छन्। एकीकृत समाजवादीले अहिलेसम्म दुई मन्त्री मात्र पाएमा उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई पठाउने तयारी गरेको छ।

भुसालले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने सम्भावना छ भने ज्वालालाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने तयारी छ। तर तीन वटा मन्त्रालयको दाबी यथावत् रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। ‘अनुमान गरेका नामहरू पनि धेरै पर्न सक्छन्,’खतिवडाले भने,‘तर, उहाँहरूले हामीलाई तीन वटा मन्त्रालय नदिएसम्म हाम्रो नाम डिसक्लोज हुँदैन।’

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री प्रचण्डलाई जसरी पनि तीन मन्त्रालय दिन दबाब दिइरहेका छन्। जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने करिब निश्चित भएको छ।

स्वतन्त्रबाट चुनाव जितेपछि अहिले आम जनता पाटी खोलेका प्रभु शाह पनि सरकारमा सहभागी हुने स्रोतले बताएको छ।

प्रधानमन्त्रीले मन्त्रीको नाम मागे पछि दलहरू आन्तरिक छलफलमा जुटेका छन्। भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेको लोकतान्त्रिक समाजवादी पार्टी पनि एक जना मन्त्री छान्ने छलफलमा छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading