राष्ट्रिय मिडिया सम्मेलनमा नीलो फूलको सन्देश, जबरजस्ती विवाहले जिन्दगी बरबाद नपारौँ

राष्ट्रिय मिडिया सम्मेलनमा नीलो फूलको सन्देश, जबरजस्ती विवाहले जिन्दगी बरबाद नपारौँ

रुपन्देही : राष्ट्रिय मिडिया सम्मेलनमा जबरजस्ती विवाहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको जीवन बरबाद भइरहेको लघु कथानक चलचित्र नील फूल प्रदर्शन भएको छ। नेपाल पत्रकार महासङ्घले आफ्नो ६८ औँ स्थापना दिवसका अवसरमा लुम्बिनीमा गरेको मिडिया सम्मेलनमा चलचित्र प्रदर्शन भएको हो।

देशभरका १३ हजार पत्रकार सदस्य रहेको महासङ्घले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको बलजफती विवाह रोक्ने सन्देश चलचित्रमा रहेको बताएको छ। महासङ्घका अध्यक्ष विपुल पोखरेलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकार र सहअस्तित्व स्विकार्नु पर्ने बताए।

चलचित्र हेरेपछि बलजफती विवाह गरिदिँदा घर, परिवार, समाजले गर्ने व्यवहार बुझ्न र समाचार लेख्न सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए। ‘विषय बुझेमा समाचार लेख्न सजिलो हुनेछ,’महासङ्घका अध्यक्ष पोखरेलले भने,‘राष्ट्रिय मिडिया सम्मेलनमा नीलो फूल प्रदर्शन गर्नुको मनसाय पनि त्यही हो।’

उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आवश्यकता पूरा गर्ने वातावरण बनाउनु पर्ने बताए। उनले चलचित्र निर्माण सिर्जनात्मक काम भएको उल्लेख गरे।

महासङ्घका महासचिव रोशन पुरीले यो खालको समस्याहरू समाजमा व्याप्त रहेको प्रतिक्रिया दिए। ‘समस्या नबुझ्ने र त्यसलाई अनेक तरिकाले समस्यामा पार्ने स्थिति छ, त्यसलाई अन्त्य गर्ने हिसाबले फिल्म बनेको रहेछ,’पुरीले भने,‘यो अत्यन्तै सोचनीय छ। जुनसुकै समाजमा पहिचान गर्न नसक्ने समस्या छ। आत्मसम्मान सहितको पहिचान खुल्ने गरी काम गर्नुपर्छ।’

महासचिव पुरीले त्यसमा राज्य, गैरसरकारी क्षेत्र र नेपाल पत्रकार महासङ्घ जस्ता सङ्घ संस्थाहरूले पनि सहयोग गर्न जरुरी रहेको उल्लेख गरे।

पत्रकार महासङ्घका पूर्वसचिव राम प्रसाद दाहालले चलचित्र मार्फत समाजमा लुकेको कुरा बाहिर आएको बताए। ‘समाजको हिडन चिजलाई एक्सपोज गरेको छ। अलि फराकिलो भएर हेर्नुपर्ने र नीति बनाउनु पर्ने सन्देश चलचित्रले दिएको छ,’उनले भने,‘यही प्रकृतिको हामीले हेरेका थिएनौ। हामीलाई पनि समाज बुझ्नका लागि सहयोग गरेको छ।’

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भिषण राईले आफ्नै जिन्दगीसँग गुम्सिनु परेको पीडा चलचित्रले पस्केको उल्लेख गरे। उनले आफ्नो साथीको विवाह भएको ६ महिना नै नपुगी श्रीमतीले छोडेर हिँडेको सुनाए। ‘फिल्म हेरेपछि सायद उसको पनि जबरजस्ती विवाह भएको होला,’उनले भने,‘पहिले पो सहेर बस्थे, अहिलेको मोर्डन युगमा थाहा पाएर श्रीमतीले छोडेर गएको हुनसक्छ।’

पत्रकार शरद अधिकारीले यसलाई खोजीको विषय बनाउनु पर्ने बताए। ‘यो भन्दा जटिल खालका समस्याहरू पनि होलान्। भयावह होला,’उनले भने,‘समाधानका लागि सञ्चार क्षेत्रको सहयोग हुन्छ, यस्ता विषयमा संस्थाको बिजनेस मात्रै नबनिदियोस।’ उनले समाधान मुखी अभियान सञ्चालन होस भन्ने अपेक्षा रहेको सुनाए।

छोरो ‘गे’ हुँदा भोजराज पोखरेललाई यस्तो, आम परिवारको अवस्था कस्तो?

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष विमला भण्डारीले बलजफती विवाह समाजको यथार्थता भएको बताइन। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई हेर्ने दृष्टिकोणमा पछिल्लो समय सामान्यीकरण बन्दै गएको बताइन। ‘समाजमा आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउनु पर्छ,’उनले भनिन्,‘अहिले परिवर्तन छ समाज। समाजमा लुकेका हरेक विषयलाई मिडियाले उजागर गर्दै आएको छ।’

संविधान सभाका सदस्य एवं चलचित्र नीलो फूलका निर्माता सुनिलबाबु पन्तले पितृसत्तात्मक सोचका कारण समलिङ्गी तेस्रोलिंगीलाई जबरजस्ती विवाह गराइदिँदा महिला र पुरुषको पनि जिन्दगी बरबाद हुने गरेको सुनाए।

विवाहलाई इज्जतसँग जोडेर हेर्ने गरिएको भन्दै पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले घरको भान्सादेखि बेड रुमसम्म नै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको बताए। ‘खास कानुनले इच्छा लागेको विवाह गर्न दिँदैन। सशक्त संरक्षण पनि गर्दैन,’पन्तले भने,‘अब सोच्ने बेला आएको छ,विवाहको कानुन बन्नु पर्छ।’पन्तले समलिङ्गी तेस्रोलिंगीलाई जबरजस्ती विवाह गराउँदा त्योसँग जोडिएका महिला र पुरुषको जिन्दगी पनि बरबाद हुने बताए।

चलचित्रमा कलाकार सागर घिमिरे, उर्मिला कार्की लगायतको अभिनय रहेको छ। बलजफती विवाह रोक्नु पर्ने र समलिङ्गी विवाहको कानुन बनाउन सहयोग पुर्‍याउने चलचित्र नील फूलको उद्देश्य रहेको पन्तले बताए।

नमोबुद्धमा चल्यो ‘बलजफती विवाह’को छलफल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading