औषधी पसलको विकृति, गैरकानुनी कारोबार रोक्न चुनौती

औषधी पसलको विकृति, गैरकानुनी कारोबार रोक्न चुनौती

काठमाडौं : नेपालमा अहिले औषधी पसल खोल्ने प्रतिस्पर्धा चलेको छ। जनसङ्ख्या अनुसार अमेरिकाको भन्दा धेरै औषधी पसल सञ्चालन भएको पाइएको औषधी विभागले जनाएको छ।

१८ सय भन्दा पनि कम जनसङ्ख्या बराबर एउटा औषधी पसल सञ्चालन भएको पाइएको विभागले जनाएको हो। औषधी पसलको घनत्व धेरै हुँदा विकृति बढेको छ। यसलाई डाउन साइज गर्नुपर्ने बागमती प्रदेशका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ बताउँछन्।

औषधी विभाग शाखा कार्यालय विराटनगरले २१ कात्तिक २०७८ मा अनुगमन गर्दा ‘जो व्यक्तिले सम्बन्धित विषयमा पढेको छैन, उसैले दर्ता गर्ने अनि व्यवसायीहरूबाट लाइसेन्स भाडामा लिएर आफैँ निस्फिक्री रूपमा औषधी बेच्ने गरेको पाइएको थियो।

कतिपय औषधि पसलले सक्कल प्रमाणपत्र र बोर्डबिना नै औषधि बिक्री गर्ने गरेको पाइएको छ। अनुगमनका क्रममा प्रयोगकर्तालाई २० रुपैयाँमा ल्याएको प्रतिबन्धित औषधि चार सय रुपैयाँसम्ममा बेच्ने गरेको पाइएको छ।

नेपालमा औषधी/फार्मेसीको घनत्व अमेरिकामा भन्दा धेरै हुँदा विकृति बढेको बागमती प्रदेश अध्यक्ष श्रेष्ठले बताए। ‘यस्तो काहीँ पनि हुँदैन,औषधी पसलहरू भनेको नियन्त्रित व्यवसाय भित्र पर्छ,’श्रेष्ठले भने,‘यो एउटा उपभोग्य बस्तु भए पनि अन्य उपभोग्य बस्तु जस्तो होइन,त्यसकारण राज्यले सोच्नु पर्ने हुन्छ, कसरी डाउन साइजिङ गर्ने भनेर।’

राज्यले नै मनलाग्दी औषधी पसल सञ्चालनको अनुमति दिइरहेको छ। यसले विना प्रेसक्रिप्सन गैरकानुनी रूपमा औषधी विक्री गर्ने प्रवृत्ति बढेको छ। राज्यको उपस्थिति नहुँदा मान्छेको ज्यानै जोखिममा पार्ने औषधी विक्री भइरहेको छ।

सबै ठाउँमा राज्य नपुग्ने भन्दै सहयोग गर्न सरकारले व्यवसायीलाई आग्रह गरिरहेको छ। व्यवसायी टेर पुच्छर लगाउने सुरमा छैनन्। उनीहरू राज्यले ल्याएको नीतिका कारण औषधी पसल बन्द गर्नुपर्ने अवस्था आउन नदिने लबिङमा लागेका छन्।

औषधी व्यवसायीलाई राज्यको बिमा पोसिलीमा संलग्न नगराए पसल बन्द गर्नुपर्ने अवस्था आउने व्यवसायी डा. सन्तोष केसीले बताएका छन्। ‘यदि औषधी व्यवसायीहरूलाई इन्स्योरेन्स पोसिलीमा संलग्न गर्न सकेनौ भने निकट भविष्यमा हाम्रो औषधी पसल बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’

राज्यको नीति नियम उल्लङ्घन गरेर सञ्चालन भएका औषधी पसलको संरक्षणमा व्यवसायी लाग्दा कारबाही गर्न सरकारलाई सकस परिरहेको छ। व्यवसायी नै गैरकानुनी औषधीको कारोबार गर्ने जोगाउन लाग्दा विकृति बढिरहेको औषधी विभाग बागमती प्रदेशका अध्यक्ष श्रेष्ठले बताए।

‘कसैले उजुरी गर्नुहुन्छ,हामी निरीक्षणमा जान्छौ,व्यवसायीहरू जोगाउन लाग्नुहुन्छ,’औषधी व्यवसायीलाई श्रेष्ठले भने,‘तपाईँहरूले हात ठड्याउन जान्नु पर्‍यो, यसले गैरकानुनी कारोबार गर्‍यो, यसले ट्रामाडोल बेच्छ, यसलाई कारबाही गर्नुपर्छ नभनेसम्म व्यवसाय ठिक ढङ्गले चल्दैन,त्यही कारण व्यवसायीमाथि आक्षेप लागिरहेको हुन्छ।’

औषधी पसलहरूमा सेवा मुखी भावना निमिट्यान्नै भएको छ। जसरी हुन्छ नाफा कमाउने धन्दामा लागेका औषधी पसलको सङ्ख्या घटाउनुपर्ने चुनौती सरकारका सामुन्ने उभिएको छ।

श्रेष्ठले २० जनालाई औषधी पसल सञ्चालन गर्ने सोध्दा १० जना तयार हुने अवस्था देखिएको बताए। तत्कालै नगद नाफा कमाउन सकिने व्यवसायका रूपमा औषधी पसलहरू किराना पसल जस्तै सञ्चालन भए पनि सरकारको नजर सबै औषधी पसलमा पुग्न सकेको छैन। बदमासी गर्ने औषधी पसलविरुद्ध उजुरी दिन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading