नीति तथा कार्यक्रम : खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने…

नीति तथा कार्यक्रम : खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने…

काठमाडौं : सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आइतबारदेखि छलफल सुरु हुदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सङ्घीय संसद्का दुवै बैठकमा आइतबारदेखि छुट्टाछुट्टै छलफल हुन लागेको हो।

सङ्घीय संसद् सचिवालयले शनिवार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल गरिने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

तर, सांसदहरूले भने संशोधन राख्न समय नै नपाएको गुनासो गरेका छन्। सचिवालयले नीति तथा कार्यक्रममा शनिवार दिउँसो २ बजेसम्म संशोधन राख्न सांसदहरूलाई समय दिएको थियो। संशोधन राख्न २० घण्टाको पनि समय नपाएको गुनासो राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गरेकी हुन्।

उनले नीति तथा कार्यक्रम ‘खाऊँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको टिप्पणी पनि गरेकी छन्। उनले आर्थिक परिसूचक सकारात्मक र अर्थतन्त्र लयमा फर्कन थालेको भनेर सरकारले ढाटेको बताइन।

२० बुँदामा संशोधन राखेकी सांसद श्रेष्ठले सरकार विपन्न नागरिकका लागि अनुदार देखिएको आरोप पनि लगाइन। बढी खपत गर्नेलाई बिजुली निःशुल्क दिने भन्ने तर गरिबलाई स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने कार्यक्रमले न्याय हुन नसक्ने उनले बताइन।

राष्ट्रपति पौडेलको पहिलो सम्बोधन र प्राथमिकतामा नपरेको समलिङ्गी विवाह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा मात्रै भएको टिप्पणी गरेका छन्।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यसबर्षको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योल ग्रस्त र दिशाहीन भएको बताउँदै कति वर्षमा सरकारले कति लक्ष्य हासिल गर्ने भन्ने विषय कहीँ कतै उल्लेख नै नगरेको दाबी गरे।

आफूहरू सरकारमा हुँदा ल्याएकै कार्यक्रम तानतुन गरेर मिलाएको भन्दै एमाले अध्यक्ष ओलीले नजान्ने विद्यार्थीले चिट चोरे जस्तो गरेको टिप्पणी गरेका छन्।

ओलीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमका साथै समसामयिक विषयमा आफूले सम्बोधन गर्न लागेको जानकारी दिए।

बैठकमा सबै एमाले सांसदहरूलाई नीति तथा कार्यक्रम, पञ्चवर्षीय योजना, संविधान र मौलिक हकका विषयमा खरो ढङ्गले प्रस्तुत हुन ओलीले निर्देशन पनि दिएका छन्।

अर्थमन्त्री र सांसदबिच भनाभन

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शनिवारको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र सांसदबिच भनाभन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले बोल्ने क्रममा पुराना कुराहरू दोहर्‍याएको भन्दै अर्थमन्त्री महतले जिज्ञासा मात्रै राख्नु भनेपछि भनाभन भएको हो।

समितिको बैठकमा बोल्ने क्रममा सांसद श्रेष्ठले डाँडाको टुप्पोमा भ्युटावर भनेको कस्तो बेवकुफ भन्ने शब्द प्रयोग गरेपछि मन्त्री महतले अर्थतन्त्र र बजेटको बारेमा जिज्ञासा राख्न आग्रह गरेका थिए। मन्त्री महतले आफूले यस्ता विषयहरू बुझिसकेको भनेपछि पुनः सांसद श्रेष्ठले निजी क्षेत्रले सरकारलाई विश्वास गर्न नसकेको कुरा उठाए।

उनmले वित्तीय संस्थालाई नियमन कसरी गर्ने? र तीन खम्बे अर्थनीतिको कुरा गरेपछि पुनः मन्त्री महतले आफूले यस बारेमा बुझिसकेको प्रतिक्रिया दिए। मन्त्रीले आफूलाई ढिला भइसकेको भनेपछि सांसद श्रेष्ठले मन्त्री महतलाई हतार नगर्न आग्रह गरे। मन्त्री महतलाई हतार भए जानुहोस्, भन्दै सांसद श्रेष्ठले असहमति जनाए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताए। कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको वाग्लेले बताए।

अर्थमन्त्री महतले कुनै व्यापारिक घराना वा निश्चित बर्गलाई फाइदा हुने गरी करको दर हेरफेर नहुने बताए। अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दर हेरफेर लगायतका नीतिगत भ्रष्टाचार नहुने र नदिने दाबी गरे।

समग्र अर्थतन्त्रलाई मध्यनजर राखेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए। अर्थमन्त्री महतले अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलब्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृत्तिलाई आफूले रोकेको जानकारी दिँदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने समेत बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading