उपचार व्यवस्था तयारी अवस्थामा राख्न स्वास्थ्यको निर्देशन

उपचार व्यवस्था तयारी अवस्थामा राख्न स्वास्थ्यको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएको जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले निरीक्षण क्रममा सुरक्षित गर्न तापक्रम व्यवस्थापनको समेत अभाव भएको पाइएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको हो।
मन्त्री बस्नेतले बिहीबार हेटौडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका थिए।

काठमाडौँका सरकारी अस्पताल र केही निजी अस्पतालको निरीक्षण गरिसकेका मन्त्री बस्नेतले उपत्यका बाहिरका सरकारी र निजी अस्पतालहरूले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिन र सेवा सुधार्ने उद्देश्य अनुसार आकस्मिक निरीक्षणमा निस्केका हुन।

हेटौडा अस्पतालको आकस्मिक निरीक्षणको क्रममा मन्त्री बस्नेतले अस्पतालले प्रदान गरिरहेको उपचार सेवाका विषयमा जानकारी लिएका थिए। अस्पतालमा उपचाररत बिरामीहरूसँग पनि मन्त्री बस्नेतले कुराकानी गरेका थिए।

निरीक्षण पछि मन्त्री बस्नेतले देश भरिका अस्पतालहरूले १० प्रतिशत शय्या विपन्नका लागि छुट्टाएर नि शुल्क उपचार गर्नु पर्नेमा जोड दिएका थिए। देशका अधिकांश सरकारी अस्पतालहरूले उपकरण किनेर प्रयोगमा नल्याउने र थन्क्याएर राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय नगरी नयाँ उपकरण खरिद नगर्न आफूले निर्देशन दिएको मन्त्री बस्नेतले जानकारी दिए। उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा मात्र उपकरण किन्नु पर्छ।’

जनताले गुणस्तरीय उपचार पाउनु पर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताउँदै मन्त्री बस्नेतले राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन र काम नगर्नेलाई कारबाही गर्न आफू पछि नपर्ने चेतावनी दिएका थिए।

त्यसैगरि मन्त्री बस्नेतले पथलैयास्थित औषधि स्टोरको पनि निरीक्षण गरेर त्यहाँ रहेको औषधि र भण्डारणका विषयमा जानकारी लिएका थिए। सो अवसरमा बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्कालगायत औषधि स्टोरका अधिकारीले मन्त्री बस्नेतलाई औषधि भण्डारणका विषयमा जानकारी गराएका थिए।

मन्त्री बस्नेतले अनुगमन गरेको भोलिपल्ट मन्त्रालयले विज्ञप्ति निकालेर बिरामीहरूका लागि तापक्रमको व्यवस्थापन गर्नुका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई थप व्यवस्थित गर्न सङ्घीय, प्रादेशिक तथा स्थानीय स्तरका सबै अस्पतालहरूलाई आवश्यकता अनुसारको उपचार व्यवस्था मिलाउन भनेको हो।

गर्मीयाम बढेसँगै तराई क्षेत्र लगायत देशका मध्य पहाडी जिल्लाहरूमा सर्पदंशबाट हुन सक्ने क्षति आगलागी, झाडा पखाला, उच्च ज्वरो जस्ता रोग एवं विपद्जन्य अवस्थामा तत्कालै बिरामीहरूलाई उपचार सेवा पुर्‍याउन सक्ने गरी सङ्घीयसँगै प्रादेशिक अस्पतालहरूले आवश्यकता अनुसारको उपचार व्यवस्था (औषधि, स्वास्थ्य उपकरण, ए.सी. सहितको उपचार कक्ष) तयारी अवस्थामा राख्न सहप्रवक्ता समीर कुमार अधिकारीले निकालेको विज्ञप्तिमा भनिएको छ।

‘यस किसिमका रोग तथा विपद्जन्य अवस्था हुनबाट पूर्व सतर्कता अपनाउन स्थानीय स्तरका रेडियो, एफ. एम., पत्र पत्रिका मार्फत सूचना सम्प्रेषण गर्न र पीडितहरूको उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आम नागरिकको जीवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मीको परिचालन गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध छ’सहप्रवक्ता अधिकारीले निकालेको विज्ञप्तिमा लेखिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading