नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर बिन्दास, रोइरहे टेकनारायण

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर बिन्दास, रोइरहे टेकनारायण

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका हाइप्रोफाइलहरुको रुवावासी भएको छ। पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको जेलभित्रै रुवावासी भएको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएका १६ जनालाई केन्द्रीय कारागार जगनन्नाथदेवल सुनधारामा राखिएको छ।

काठमाडौँ जिल्ला अदालतको आदेशमा शुक्रवार झिटीगुन्टासहित कारागार चलान भएका १६ जनाको इन्ट्री गर्दै फोटो खिचेर केन्द्र र भद्र बन्दी गृहमा व्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ।

शुक्रवार बन्दी व्यवस्थापनमा खटिएका कारागार प्रशासनका कर्मचारीलाई हाइप्रोफाइलहरुले दम्भ प्रदर्शन गरेका कारागार स्रोतले बताएको छ। कर्मचारीहरूले जेल पर्दा पनि चेत नखुलेकाहरूको दम्भ देखिएको बताए।

भित्रै बसेर सेट गर्न सक्ने पावर र सेटिङ भएका हाइप्रोफाइलहरु अजिङ्गरको रूपमा प्रस्तुत भएका एक कर्मचारीले बताए। ‘पावर छ, सेटिङ छ, जेलमा आए पनि प्रधानमन्त्रीसम्म कनेक्सन छ भन्ने घमन्ड देखिन्छ,’ती कर्मचारीले पहिचानसँग भने,‘ठाउँ पो फरक पर्‍यो, व्यवहार त अजिङ्गर जस्तै छ।’

कारागार प्रशासनले पूर्वमन्त्री र बहालवाला (निलम्बित) सचिव टेकनारायण पाण्डेलाई छुट्टाछुट्टै राखेको जनाएको छ। ‘पूर्वमन्त्री र पाण्डेलाई एकै ठाउँमा राख्दा घुरेर हेर्ने देखि झम्टिहाल्न सक्ने या झगडा पर्ने ठानेर छुट्टा छुट्टै राखिएको छ,’कारागार प्रशासनले भन्यो,‘कतिलाई रिहा हुन्छु भन्ने रैछ, क्वाँक्वाँ नै रोए।’

सचिव पाण्डे शनिवार जेल भित्रै क्वाँक्वाँ नै रोइरहे। ‘बच्चा जस्तै रोइरहनु भएको छ,सायद उहाँले जेल बस्नु नपर्ने आदेश आउँछ भन्ने सोच्नु भएको थियो होला,’कारागार प्रशासनका कर्मचारीले भने,‘असह्य भएर रोइरहनु भएको देखिन्छ।’

कारागार स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने बिन्दास देखिएका छन्। उनको मुहारमा कुनै त्यस्तो निराशापन देखिएको छैन। पूर्वगृहमन्त्री बालकृष्ण खाँणमा पहिले पनि जेल बसेरै मन्त्रीसम्म भएको दम्भ देखिन्छ। भोलि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पावर आफ्नै हातमा आउने देखेर खाँण जेलभित्र दम्भका साथ प्रस्तुत भएका हुन सक्ने अड्कलबाजी समेत कर्मचारीहरूले सुनाएका छन्।

पक्राउ परेका हाइप्रोफाइलहरुले डिल्लीबजार कारागार जान सोर्सफोर्स लगाउन सक्ने ती कर्मचारीले बताए। ‘एक÷दुई जनालाई पठाउने कुरा भएन,’ती कर्मचारीले भने,‘पठाए १६ जनालाई नै डिल्लीबजार कारागार पठाउने हुनसक्छ।’

जेलमा असह्य पीडामा देखिएका टेकनारायण पाण्डे भने शनिवार दिनभर जसो नै रोइरहे। भुटानी नेता टेकनाथ रिजाल निराश जस्तो देखिन्छन्। रिजाललाई केन्द्र बन्दी गृहमा राखिएको छ। ‘उहाँलाई म आफैले व्यवस्थापन गरेको हुँ,’ केन्द्रीय कारागारका नायबसुव्वा गोविन्द प्रसाद खतिवडाले पहिचानसँग भने,‘स्वदेशी, विदेशी सबैलाई समान व्यवहार हुन्छ।’

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

जिल्ला अदालतको आदेशमा चित्त नबुझे उच्च अदालत जान पाउने कानुनी व्यवस्था भएकाले पक्राउ परेकाहरूको तर्फबाट आदेश बदर विरुद्ध उच्च जाने तयारी कानुन व्यवसायीहरूले गरेका छन्। ‘कतिलाई अस्ति छुट्छौ भन्ने रहेछ, कतिलाई उच्चको आदेशमा छुट्छौ भन्ने होला,’एक कर्मचारीले भने,‘उनीहरू जेलबाट छुटिहाल्ने मनस्थितिमा देखिएका छन्।’

जेलमा नेपाली र विदेशी गरेर ३ हजार ३९७ जना कैदीलाई राखिएको छ। केन्द्र बन्दी गृहमा ९७२ कैदी र ८७६ बन्दी सङ्ख्या रहेको छ। विदेशी मात्र ११९ जना रहेका खतिवडाले जानकारी दिए। भद्र बन्दी गृहमा ६६५ कैदै र ४५६ बन्दी संस्था रहेको छ भने विदेशी मात्र ७६ जना रहेका छन्।

५ वर्ष मुनिका ११ जना बच्चा आमासँगै जेलमा छन्। नायवसुब्बा खतिवडाले आमासँगै आएका आश्रित बालबालिकाको ११ जना रहेका जानकारी दिए। कारागार प्रशासनले बिरामी परेका कैदी बन्दीलाई उपचारको व्यवस्था गर्ने गरेको छ। बस्ने, खाने र उपचारसम्मको व्यवस्था कारागार प्रशासनले गर्दै आएको खतिवडाले बताए।

नक्कली शरणार्थी : भुटानी नेता टेकनाथले मागे ‘निसाफ’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading