राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

मुटुमा समस्या देखिएपछि शनिवार बिहान त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको स्वास्थ्यमा सुधार हुँदै गएको डा. नीरज बमले जानकारी दिए।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार भएको र अहिले अस्पतालमै आराम गरिरहनु भएको डा. बमले बताए। ‘राष्ट्रपतिले स्वास्थ्यलाभ गरिरहनु भएको छ,खाना खाइरहनु भएको छ,’डा. बमले पहिचानसँग भने,‘अस्पतालबाट डिस्चार्ज गर्नेबारे भने टिमसँग छलफल हुनेछ।’

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले डिस्चार्ज गर्नेबारे चिकित्सिकहरुबाट केही जवाफ नआएको बताए। ‘स्वास्थ्यमा सुधार भइरहेको छ,’उनले पहिचानसँग भने,‘डिस्चार्ज गर्नेबारे भने अस्पतालले केही भनेको छैन।’

राष्ट्रपति पौडेलको गत मङ्गलवार मात्रै शहीद गङ्गालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको थियो। एक दिन अस्पताल भर्ना भएर बुधवार डिस्चार्ज भएका पौडेलको फेरि मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन्।

गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित भएयता राष्ट्रपति पौडेल पाँच पटक गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि गत चैत्र १८ गते साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल ५ दिन अस्पताल भर्ना भएपछि निको भएर फर्केका थिए।

त्यसको केही समय लगत्तै पेटमा समस्या देखिएपछि नेपालमा उपचार हुन नसक्ने भन्दै राष्ट्रपति पौडेललाई गत वैशाख ६ गते एयर एम्बुलेन्समार्फत भारतको नयाँ दिल्लीमा लगिएको थियो। नयाँ दिल्ली जानुअघि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो।

भारतमा ११ दिनको उपचारपछि स्वदेश फर्किएका राष्ट्रपति पौडेललाई तीन दिन अघि पनि सहिद गङ्गालाल हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना गरिएको थियो।

दिल्लीमा उपचारका लागि राज्य कोषबाट खर्च गरिन लागेको भन्दै सडक देखि सदन सम्मै विरोध भएपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर उपचारमा लागेको सम्पूर्ण खर्च स्वयमले बेहोर्ने जानकारी गराएको थियो।

शारीरिक उतार चढावकाबीच तेस्रो महिना पुगेर चार महिने कार्यकाल टेक्दै गर्दा राष्ट्रपति पौडेल सरकारको सिफारिस कार्यान्वयन गर्दा विवादमा समेत परे।

नागरिकता विधेयक प्रमाणीकरण र रेसम चौधरीलाई दिएको आममाफीका विषयमा आलोचित बनेका राष्ट्रपति पौडेलले सवारीका बेला हुने अनावश्यक तामझामलाई रोकेर राम्रो सुरुवात गरेपछि वाहवाही पाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading