नयाँ सरकार गठन भएको ६ महिना नपुग्दै परिवर्तनको खेल सुरु

नयाँ सरकार गठन भएको ६ महिना नपुग्दै परिवर्तनको खेल सुरु

काठमाडौं : नयाँ सरकार गठन भएको ६ महिना पुग्नै लाग्दा परिवर्तनको खेल सुरु भएको छ। सत्तारुढ काँग्रेसका सभापति शेरबहादुर देउवा इतर पक्ष र प्रतिपक्षी एमालेले सरकार परिवर्तनको खेल सुरु गरेका हुन्।

सरकार परिवर्तनको सङ्केत काँग्रेस महामन्त्री गगन थापाले जेठ ३० गते दिएका हुन्। बिराटनगर विमानस्थलमा पत्रकारहरूसँग महामन्त्री थापाले नेपाली जनताले काँग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको बताएका थिए।

महामन्त्री थापाको नयाँ प्रधानमन्त्रीको अभिव्यक्ति आएकै भोलीपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको कुनै चिन्ता नभएको बताएका थिए।

प्रचण्डका चुनौती : सरकार जोगाउने कि सुशासन कायम गर्ने?

सरकार परिवर्तन हुने अभिव्यक्ति सत्तारुढ दलका नेताहरूबाटै आउन थालेपछि काँग्रेस सभापति देउवा पत्नी आरजुसँगै उपचारका लागि सिंगापुर गएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल पक्राउ परेपछि वाहवाही पाएको सरकारले अर्को कुनै उल्लेखनीय काम गर्न नसकेको आरोप लागेको छ।

प्रतिपक्षी नेकपा एमालेले सरकारको दिन गन्ती नै सुरु भएको बताएको छ। एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले एक साता भित्रै वर्तमान सरकार ढल्ने भविष्यवाणी नै सुनाएका छन्। ‘नेकपा एमालेले चाहेर सरकार ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ,’उनले भने,’यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो। भोलिपल्ट, अर्को एक दिनको लागि हो।’

सरकारमा रहेकै दलहरूको एउटा समूहले समाजवादी मोर्चा गठन गर्नुको पछाडि प्रधानमन्त्री प्रचण्डमा सरकार ढल्ने त्रास देखिएको दाबी समेत प्रतिपक्षी दल एमालेले गरेको छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहितका चार दलले मोर्चा घोषणा गर्नुले नै प्रधानमन्त्री प्रचण्डमा सरकार ढल्ने त्रास देखिएको एमाले सचेतक बर्तौलाले बताए। ‘गठबन्धनको सरकार छ। गठबन्धन आफैँमा एउटा मोर्चा बनाएर उहाँहरू हिँडिरहनुभएको छ। त्यो मोर्चाभित्र पनि अर्को एउटा गुट निर्माण गर्नुभयो,’उनले भने,‘यसले के देखाउँछ भने प्रचण्ड प्रत्येक दिन काँग्रेससँग तर्सेर बसिरहनुभएको छ।’

समाजवादी मोर्चा घोषणा : ११ वर्षपछि प्रचण्ड र विप्लव एउटै कित्तामा

सरकार परिवर्तन हुने अभिव्यक्तिलाई सत्तारुढ माओवादीले भने हल्ला मात्रै भएको दाबी गरेको छ। माओवादीका सांसद र मन्त्रीहरू सरकार नढल्ने दाबी सुनाउन थालेका छन्। माओवादी सांसद माधव सापकोटाले मङ्गलवार सरकार नढल्ने बताएका थिए।

बुधवार सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले पनि सरकार नढल्ने अभिव्यक्ति दिएकी छन्। उनले बजेट संशोधन भए पनि नभए पनि सरकार फेरबदल नहुने बताएकी छन्।

तर, बजेट संशोधनको विषयलाई लिएर मन्त्रिपरिषद् भने विभाजित भएको छ। दश दलीय गठबन्धनमा बनेको सरकारमा मन्त्री बन्न नपाएका सत्तापक्षका सांसदहरूले नै बजेटको विरोध गरिरहेका छन्। सत्तापक्षका सांसद र सत्ता साझेदार दलको मात्र होइन मन्त्रिपरिषद्मै रहेका कतिपय मन्त्रीले समेत बजेट संशोधन हुनु पर्ने बताएका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले आफ्नो मन्त्रालयमा अघिल्लो वर्षको जस्तै बजेट आएकाले आफूले बजेट थप्नेबारेमा कुरा गरिरहेको बताए। मन्त्री आचार्यले सत्तापक्षकै सांसदको चित्त नबुझेकाले अर्थमन्त्री संशोधन गर्न बाध्य हुने दाबी समेत गरे।

संसद्मा विनियोजन विधेयकको मन्त्रालयगत छलफल भइरहेको र छलफल सकिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलगायतको छलफल हुने उनले बताए। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले भने बजेट संशोधनको कुनै सम्भावना नरहेको जिकिर गरे।

सत्तारूढ नेकपा एकीकृत समाजवादीका सांसदहरूले बजेट संशोधन नभए सरकार नै भत्काउने चेतावनी दिएका छन्।

अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठुलो कुरो नभएको बताएका हुन्।

सांसदहरूको असन्तुष्टि पछि अध्यक्ष नेपालले भोलि दिउँसो २ संसदीय दलको बैठकमा छलफल गर्ने जवाफ दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading