वीर अस्पतालका ७ सय शैया निःशुल्क, ६ करोड भार थपिने

वीर अस्पतालका ७ सय शैया निःशुल्क, ६ करोड भार थपिने

काठमाडौं : वीर अस्पतालले शुक्रवारदेखि लागु हुने गरी अस्पतालका ७ सय शैया निःशुल्क गरेको छ।

बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति सहित रेक्टर, रजिस्ट्रार र डिन नियुक्ति गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालयका बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए।

मन्त्रीको निर्देशनपछि शुक्रवार न्याम्स पदाधिकारीको बैठकले क्याबिन र आइसियु बाहेक वीरका सबै ७ सय वटै शैया निःशुल्क गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले राजधानीमा शुक्रवार आयोजना गरेको जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्याङ्क सार्वजनिकिरण कार्यक्रममा मन्त्री बस्नेतले भने, ‘वीर अस्पतालका ७ सय वटै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएको थिए। आज निर्णय भएर कार्यान्वयनमा आयो, जनताका पक्षमा काम गर्न सकेकोमा खुसी लागेको छ।’

वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक २ सय रुपैयाँ लाग्ने गरेको थियो। दैनिक २०० रुपैयाँ तिर्न पनि विपन्न बिरामीलाई हम्मे हम्मे पर्दथ्यो। ७०० शैया निःशुल्क भएपछि वीरलाई करिब ६ करोड भार थपिने छ।

न्याम्सका नवनियुक्त उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले पनि स्वास्थ्य मन्त्री बस्नेतले पटक पटक दिनु भएको निर्देशन अनुसार न्याम्सका नव नियुक्त पदाधिकारको पहिलो बैठकले सबै जनरल वार्ड निःशुल्क गर्ने निर्णय गरेको बताए। उनले क्याबिन र आइसियु बाहेक सबै शैया निःशुल्क गरेपछि अपुग हुने रकम स्वास्थ्य मन्त्रालयसँग माग गर्ने बताए।

मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न बिरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको र त्यसमा आफू सफल हुँदै गइरहेको बताए।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिशत शैयामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफूले कडाइका साथ लागु गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले दाबी गरे।

मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरूको निःशुल्क उपचार गर्न सकिने र आफू त्यो काममा अगाडि बढिसकेको बताए। सुर्ती जन्य पदार्थ र मदिरामा कर बढाएर त्यो करको रकमबाट विपन्नको उपचार गर्ने गरी आफू लागेको र यो अभियानमा सबैको साथ चाहिएको उनले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading