ललिता निवासदेखि नक्कली भुटानी शरणार्थी प्रकरण

बहालवाला सचिव पक्राउ, आरजुलाई पैसा बुझाएको अडियो फेक नभएको पुष्टि

बहालवाला सचिव पक्राउ, आरजुलाई पैसा बुझाएको अडियो फेक नभएको पुष्टि

काठमाडौं : ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याललाई पनि आइतबार नै काठमाडौँबाट पक्राउ गरेको छ। 

काठमाडौँबाट विराटनगर जान लागेका सञ्चार सचिव राउत दिउँसो त्रिभुवन विमानस्थलबाट पक्राउ परेका सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनी तत्कालीन भौतिक तथा निर्माण मन्त्रालयका शाखा अधिकृत थिए।  

एसएसपी आचार्य नापी अधिकृत अर्याललाई कलङ्कीबाट र घिमिरेलाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका घिमिरेले समरजङ्ग कम्पनीको प्रमुख रहेको बेला सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ, बालेनको निगरानी

अर्याल भने नापी अधिकृतको रूपमा जग्गा नाप जाँचमा संलग्न रहेको पाइएको छ। प्रहरीले यस प्रकरणमा मुछिएका १२ जनालाई समातेको छ भने तीन जना अदालतको स्टे अर्डरका कारण छुटेका छन्। पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झन्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरू जोडिएका छन्। सरकारी जग्गा व्यक्तिको नाममा गरेको विषयमा अनुसन्धानको क्रममा उनीहरू पक्राउ परेको र थप पक्राउ पर्न सक्ने एसएसपी आचार्यले बताए। 

आरजुलाई पैसा बुझाएको अडियो सन्देश शर्माकै भएको पुष्टि

हाइप्रोफाइल व्यक्ति संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा भने आरजु राणा देउवालाई रकम बुझाएको भन्ने सम्बन्धी अडियो सन्देश शर्माको आवाजसँग मेल खाएको छ। अडियो परीक्षण गर्दा भुटानी शरणार्थी प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। 

अडियो सार्वजनिक भएपछि प्रतिनिधि सभा सांसद समेत रहेकी काँग्रेस नेतृ राणाले नक्कली अडियो भएको र यसबारे जाँच गर्न भन्दै प्रहरीमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन। उक्त उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको आवाजसँग मेल खाएको प्रहरीले जनाएको छ। 

शर्माले आरजु राणालाई चिन्दै नचिनेको र पैसा बुझाएको कुरा वास्तविक नभएको बताए पनि अदालतमा बयान दिँदा आवाज आफ्नै भएको स्वीकारेका थिए। उनले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आफूहरू फस्न सक्ने भन्दै फोन गरेर राणासहितको नाम लिई पैसा बुझाएको भन्न लगाएकाले आफूले त्यसो भनेको अदालतमा बताएका थिए। 

डिआइजी कडायतका अनुसार उक्त अडियो कहाँ र को बाट ओरिजिनेट भएको भन्नेबारे खुलेको छैन। त्यसका लागि टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । 

नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जना पुर्पक्षका लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका थिए। बयानका क्रममा नाम पोलिएकाहरूबारे भने प्रहरीले अनुसन्धान जारी राखेको दाबी गरेको छ। तर हालसम्म पर्याप्त प्रमाण नभेटिएका कारण उनीहरू पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ। 

नक्कली शरणार्थी : टोपबहादुरका वकिलले दिए टेकनाथलाई बयान फेर्न दबाब

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading