विमानस्थल भन्सारमा अर्को बदमासी : सुनको ‘ब्रेक शु’ १५५ किलो, नौ जना पक्राउ

विमानस्थल भन्सारमा अर्को बदमासी : सुनको ‘ब्रेक शु’ १५५ किलो, नौ जना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अवैध सुन ओसारपसारको अखडा बनेको छ। विदेशबाट कहिले चकलेट, कहिले बिस्कुट हुँदै मङ्गलवार राति त स्कुटरको ब्रेक शु आकारमा अवैध सुन भित्रिएको छ।

सामान्य मेटल अर्थात् धातुमा समेत कुइकुई कराउने डिटेक्टर ब्रेक शु आकारको सुन भित्रिँदा कराएन। यसले अवैध सुन भित्र्याउन भन्सारका कर्मचारी, एजेन्ट सहितको मिलेमतो भएको पुष्टि भएको छ।

विमानस्थल भन्सार कार्यालय पटक पटक सुन काण्डमा मुछिँदै आएको छ। अहिले ब्रेक शु आकारमा सुन भित्रिए पछि भन्सार कार्यालयको अर्को बदमासी छर्लङ्ग भएको छ।

राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीले प्रहरी र भन्सारका कर्मचारीको मिलेमतोमा सुन तस्करी हुने गरेको बताएका छन्। ‘आज सय किलो निस्किदा डिटेक्टर किन कराएन? भन्सारका कर्मचारीहरू के गरिरहेका थिए? त्यहाँको पुलिस के गरिरहेको थियो?’उनले भने,‘हामीले लाज मान्नु पर्छ कि पर्दैन? संसारभर पुग्छ यो न्युज,हामी सरकार चलाउँदै छौ कि तस्कर गर्दैछौ?’

राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पूर्वसभामुख र गृहमन्त्रीको नाम नै जोडिएकाले निष्पक्ष छानबिन हुन्छ भन्न नसकिने बताए। ‘हाम्रो देशमा तस्करहरूले राज्य सञ्चालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ। बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ। पावरमा भएकाहरू जोडिँदासमेत छानबिन भएको छैन। जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ,’उनले भने,‘भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्।’

सुनको ब्रेक शु १५५ किलो

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनसहितका स्कुटरका ब्रेक शुको तौल १५५ किलो भएको जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल राष्ट्र बैङ्कको टक्सार विभागमा लगिएको ब्रेक सु जोख्दा कुल तौल १५५ किलो भएको विभागले जनाएको हो।

अब ती ब्रेक शुबाट सुन निकालेर जोखिनेछ। सुनलाई गलाएर जोखे पछि मात्र वास्तविक परिणाम थाहा हुने विभागले जनाएको छ। ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ’ भन्सार स्रोतले भनेको छ।

विभागले मङ्गलवार राति काठमाडौँको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो। ती ब्रेक सुमा एक क्विन्टल सुन भएको अनुमान विभागको छ। विभागले विशेष अपरेसन चलाएर सुन बरामद गरेको थियो।

भन्सार कार्यालयबाट करिब सय किलो सुन जाँच पास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने तयारी गरेको छ। भन्सार जाँच पास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए। यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुन काठमाडौँको क्षेत्रपाटीबाट समातिएको थियो।

९ जना पक्राउ

एक क्विन्टल सुन तस्करी प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन्। राजन श्रेष्ठ र पुष्करराज भट्ट बिहीबार साँझ पक्राउ परेका छन्। चिन उड्न लागेका चिनियाँ नागरिक लिङ चुवान दिउँसो अध्यागमन विभागबाट पक्राउ परेका थिए।

सुन ओसारपसारमा संलग्न भएको आरोपमा रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, सहयोगीहरू हर्कराज राई, रामकुमार भुजेल, थुक्पिन छिरिङ र टयक्सीका चालक अशोक राना मगर पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागले १०० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्न १० दिनको म्याद पाएको छ। ​
विभागको टोली थप आरोपीलाई पक्रन परिचालन भएको छ।

दुर्गा प्रकाशको स्मृतिग्रन्थ : भन्सारका महत्त्वपूर्ण सात घटना

सुन तस्करीबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ। विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा समिति गठन भएको छ। समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

तर समितिले सत्यतथ्य छानबिन गर्नेमा आशङ्का गरिएको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने एक क्विन्टल सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउँछन्।

उनले यस्ता घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसुन् भनेर यस अघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको सुनाए।

‘प्रधानमन्त्रीको पनि स्टयाण्डबाईं निर्देशन छ। जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसुन् र, घटनाक्रमको वा कुनै पनि परिघटनाको सन्दर्भमा अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस्। र, दोषीलाई चाहिँ कानुनको दायरामा ल्याउने गरी होस् भन्ने हाम्रो स्टयाण्डबाई निर्देशन छ,’उनले भने,‘त्यसै आधारमा हुन्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading