भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न

भुटानी शरणार्थी स्व.भम्पा : एक अडान अनेक प्रश्न

‘सुरक्षाको खातिर नेपाल पसेका रिजाललाई अपहरण गरेर ल्याइनु निरङ्कुशताको पराकाष्ठा’

काठमाडौं : भुटानी शरणार्थी स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका मध्येका एक थिए डा. भम्पा राई। उनी दमकमा एक्लै बस्थे। तत्कालीन भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा आफ्नै इच्छाले नेपाल आएका थिए।

३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए। आमा विष्णुमायाको २०५४ र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो। उनकी बहिनीको पनि शरणार्थी हैसियतमा झापामै निधन भएको थियो।

सन् ९० को दशकमा दक्षिणी भुटानबाट नेपालीभाषी ल्होत्साम्पा लखेटिन थालेपछि तिनै नेपालीभाषीका पछि लागेर स्वैच्छिक रूपमा निर्वासनमा आएका डा. राई दक्षिणी भुटानको साम्चीमा जन्मे–हुर्केका थिए। सन् १९९१ मध्यदेखि झापाको दमकवासी बनेका उनको गत वर्ष ५ असार २०७९ मा निधन भएको थियो।

उनै डा.राईको पुस्तक ‘भम्पा एक अडान अनेक प्रश्न’ पुस्तक झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीमा विमोचन भएको छ। भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलको प्रमुख आतिथ्यमा भुटानी शरणार्थी बस्ती व्यवस्थापन समिति बेलडाँगीका सचिव सञ्चहाङ सुब्बा, लेखक, साहित्यकार तथा प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका समित्र वाङदेल ‘चेली’, कान्तिपुर राष्ट्रिय दैनिकका लेखक तथा वरिष्ठ पत्रकार देवेन्द्र भट्टराई, लेखक तथा कार्यवाहक अध्यक्ष बिआरआरआरसी तथा अध्यक्ष द लिटेररी सोसाइटी अफ भुटाका तिलक राई, लेखक तथा कृषि वैज्ञानिक डा. गोविन्द रिजाल, कृतिकार वीरेन मगरले पुस्तकको विमोचन गरे।

पुस्तकमाथि तिलक राई, सुमित्र वाङ्देल ‘चेली’, देवेन्द्र भट्टराई, डा. गोविन्द रिजालले चर्चा गरेका थिए भने वीरेन मगरले लेखकको, सान्त क्षेत्रीले परिवार (भान्जा)को र बलराम पौडेलले प्रमुख अतिथिको मन्तव्य राखेका थिए।

पुस्तक विमोचन कार्यक्रममा ३० वर्ष भुटानको जेलमा बन्दी जीवन बिताएर भर्खरै शरणार्थी शिविरमा आएका मधुकर मगरलाई नेदरल्याण्डमा रहेका भुटानी राजबन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियानका संयोजक राम कार्कीको पहलमा सङ्कलन भएको २ लाख १२ हजार १८ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको थियो भने डि.बि सुब्बाले सन्देश र सहयोगीहरूको नामावली वाचन गरेका थिए।

वीरेन मगरले लेखेको ‘भम्पा एक अडान अनेक प्रश्न’ पुस्तकको दुई खबर शीर्षकको एक अंश यस्तो छ :
अक्टोबर १९८९ को एक साँझ आठ बजेतिर ओ.सी. जमानसिङ गुरुङ मेरो क्वार्टरमा देखा परेका थिए। उनीसँग पुलिसको एक जत्था थियो। म बैठक कोठामा थिएँ। जमानसिङ मेरो नजिक आए। हामी एकै गाउँको परेका हुनाले हाम्रो राम्रो चिनजान थियो। उमेर सानो भएका कारण उनलाई म भाइ भन्थे।
आफूसँग आएका अन्य पुलिसलाई क्वार्टरबाहिरै बस्न आदेश दिएर जमानसिंह मेरो क्वार्टरमा छिरे।

‘दाजु भित्र बेडरुममा जौ न,’ उनले मेरो नजिक आएर भने।

उनको अनुहारले बताउँथ्यो कि कुरा गम्भीर छ। मैले उनलाई मेरो बेडरुमभित्रै लगे। जमानसिंहले मेरो हालखबर बुझेपछि अघिल्लो दिनको घटना सुनाउन थाले।

एन.आइ.ई. का लेक्चरर रतन गजमेर मध्यराति पक्राउ परिसकेका रहेछन्।

एन.आई.ई.लाई जनता भड्काउने थलो भयो भनेर कसैले भनेको सुनेको थिएँ। रतनलाई त्यसको नाइके भएको आरोप लागेको रहेछ।

उनले त्यो मध्यरातिको घटना विवरण प्रस्तुत गरिसकेपछि सोधे–‘दाजु, यसमा तपाईँको पनि संलग्नता त छैन नि?’

‘छैन,’ मैले सहज उत्तर दिएँ। त्यसपछि उनी जत्था लिएर आफ्नो बाटो लागे।

रतन गजमेर पक्राउ पर्नुअघि नै सन् १९८८ को जुनमा टेकनाथ रिजाल देशबाट बाहिरिएको खबर सुनिसकेको थिए। रिजाललाई साथ दिँदै जोगेन गजमेर, सुशील पोखरेल आदि युवा पनि बाहिरिए। खासमा, त्यस बेला यो समूह भुटानमा मानव अधिकारवादी सङ्गठन पिपल्स फोरम फर राइटस् भुटान (पी.एफ.एच.आर.बी) निर्माण गर्न लागि परिरहेका थिए। त्यसका लागि रतन देशभित्रैबाट काम गरिरहेका थिए भने रिजालको नेतृत्वमा जोगेन गजमेरहरू देशबाहिरबाट काम गरिरहेका थिए। त्यस बेला रतन पक्राउ पर्दा, यो समूह सङ्गठनको डकुमेन्ट निर्माणको क्रममा थिए।

रिजाल बाहिरिनुमा मुख्यतः दुई वटा कारण छन्। पहिलो हो–भ्रष्टाचार अनुसन्धान आयोग। राजाकै सहमतिमा गठित उक्त आयोगले धेरै दरबारिय र तिनका आसेपासेहरूका पोल खोलिदिएका थिए। जसले गर्दा भ्रष्टाचारमा मुछिएका सबै रिजालका विरुद्ध भएका थिए।

दोस्रो कारण हो– रिजालले जनगणनालाई लिएर राजालाई चढाएको ज्ञापनपत्र। खासमा, सन् १९८८ मा भएको जनगणना नेपालीभाषीलाई अनागरिक अथवा विदेशी करार दिएर देश छोड्न बाध्य बनाउने ग्रान्ड डिजाइन अन्तर्गत थियो। त्यस बेला सरकारले निकै लामो तयारीपश्चात् यस्तो कदम चालेको बुझ्न सकिन्छ।

जनगणनामा सन् १९८० मा ल्याइएको विवाह अधिनियम र १९८५ मा ल्याइएको नागरिकता अधिनियम जबरजस्त रूपमा जनतामा लादिँदै थियो। अधिनियम मुख्य रूपमा नेपालीभाषीप्रति लक्षित थिए। सन् १९८५ को नागरिकता अधिनियममा पहिलेका सबै प्रावधानलाई उल्ट्याएर नयाँ प्रावधान राखिएको थियो।

विवाह अधिनियममा विदेशीसँग विवाह गरेका भुटानीमाथि कडा प्रावधान थोपरिएका थिए। किनभने तुलनात्मक रूपमा विदेशी महिला वा पुरुषसँग विवाह गर्ने चलन नेपालीभाषीमा धेरै थियो। यसो हुनुको केही कारण यस्ता छन्– भुटानीमा झन्डै साठीको दशकसम्म पनि राज्य र दक्षिणका नेपालीभाषीको सम्बन्ध भनेको कर लिने र दिनेमा मात्रै सीमित थियो। यसले नेपालीभाषीहरू राज्यभित्र अन्य जातजाति र भाषाभाषीसँग अन्तरघुलन हुने वातावरण बनेन।

राज्यले जातजातिबीचको पर्खाल मेटाउन जनतालाई प्रोत्साहित गरेको पनि खासै थिएन। अन्य जातजातिको बाहुल्य रहेको क्षेत्रमा नेपालीभाषीलाई घरजग्गा जोड्ने अनुमति पनि हुँदैन थियो। यसरी आफ्नै माटोमा पृथक् हुन पुगेका नेपालीभाषीले विवाहलगायत पारिवारिक सम्बन्ध जोड्नु पर्दा आफ्नै देशका अन्य जातिभन्दा अन्य देशका आफ्नो धर्म र संस्कृति मिल्नेहरू रोज्न बाध्य थिए।

सोझासाझा जनता खासगरी दक्षिणवासीहरू राजालाई विष्णु भगवानको अवतार मान्छन्। भगवान्को लीलाप्रति सन्देह प्रकट गर्न पाप ठान्ने हिन्दु धर्म, संस्कृति र परम्परामा बाँधिएका दक्षिणवासी जनताले राजालाई सन्देह गर्ने कुरा हुँदैन थियो। यसै कारणले पनि उनीहरूले शासकको मनमा उम्रिरहेको कुविचारलाई असीको दशकपूर्व कहिल्यै जान्न सकेनन्। राष्ट्रिय एकताको नाममा सरकारले उनीहरूविरुद्ध ल्याएका जोङखाकरण, भुटानीकरण, डुक्पाकरण आदि सरकारी नीतिमा सहयोग गरिरहे।

बक्खु र कीरा दक्षिण भुटानको मौसम अनुकूल छैन। तर, सरकारले जोङखाकरणको नीतिअन्तर्गत राजाले राष्ट्रिय एकताको नाममा बक्खु र कीरा अनिवार्य गरेपछि नेपालीभाषीले त्यसलाई सहज स्वीकारे। नेपालीभाषीको जनसङ्ख्या वृद्धिदर कम गर्न सरकारले दक्षिणमा परिवार नियोजन कार्यक्रम चलायो। परिवार नियोजन गर्नेलाई सरकारले सेवा सुविधाको प्रलोभन देखाएका थिए भने महिलालाई भन्दा पुरुषलाई बढी प्रोत्साहन गर्दथे। प्रलोभनमा परेर होस् वा नपरेर होस्, धेरै पुरुषहरूले बन्ध्याकरण नै गरेर सरकारको यस नीतिलाई सफल तुल्याउन मद्दत गरेका थिए। दक्षिण भुटानका नेपालीभाषीले राजाको राज्याभिषेकदेखि विवाह गर्नसमेत चन्दा दिएर सहयोग गरे।

नेपालीभाषी सोझासाझा जनता आफूमाथि आइपरेका हरेक दुःख, अभाव र तिरस्कारलाई उनीहरू भाग्य ठानेर बाँचिरहेका थिए। जे–जस्तो भए पनि उनीहरू शान्तिपूर्वक बसोबास गरिरहेका थिए।

तर, जनगणनाले गर्दा दक्षिण भुटानमा भुईँचालो गयो। सरकारका तर्फबाट खटाइएका जनगणकले सोधेका प्रश्न, मागेका प्रमाण र तेर्स्याइएका सर्तहरूले दक्षिणवासी भुटानीको मानसिकता बिथोलियो।

त्यसअघि सन् १९५८ को राष्ट्रिय कानुनमा जमिनको कागजात वा कुनै पनि कर तिरेको रसिद (जसले भुटानमा बसोबास गर्दै आएको प्रमाण दिन्थ्यो) नागरिकता पाउने आधार थिए। तर, नेपालीभाषीलाई सन् अन्ठाउन्नकै भूमि कर तिरेको रसिद मागियो। अन्ठाउन्न साल अघिदेखि बस्दै आएको भए पनि गृह मन्त्रालयमा दर्ता हुनुपर्ने सर्त राखियो। त्यसअघि कुनै पनि प्रकारको दर्ता मान्य नहुने भयो। यस्ताखाले सरकारी सर्तले पुस्तौँदेखि भुटानमा रहँदै बस्दै आएका वृद्धवृद्धा विदेशी ठहरिन जान्थ्यो।

त्यसअघि आमा विदेशी भए पनि वंशजका आधारमा नागरिकता दिइन्थ्यो। तर, अब बाबुआमा दुवै भुटानी हुनुपर्ने सर्तहरू अघि सारियो। बाबु वा आमा विदेशी भए तिनका सन्तान स्वतः विदेशी ठहरिए। एक सरकारी तथ्याङ्कमा त्यस बेला चौध हजारभन्दा धेरैले विदेशीसँग विवाह गरेको रिपोर्ट उल्लेख थियो। यस आधारमा हेर्दा झन्डै साठी हजार भुटानी बालबच्चा स्वतः विदेशी ठहरिए वा नागरिकता लिनबाट वञ्चित हुने भए।

यसरी अनागरिक अथवा विदेशी ठहरिन पुगेका निमुखा भुटानीलाई सरकारले अवैध आप्रवासीको बिल्ला भिराएको थियो।

गृह मन्त्रालयको प्रत्यक्ष निर्देशन पाएका जनगणकहरूले मनोमानी ढङ्गले कार्य अगाडि बढाउँदै थियो। अनुचित र एकदम अन्यायपूर्ण अगाडि बढिरहेको जनगणना यतिमै रोकिँदैन। यसले खासगरी नेपालीभाषीलाई विभिन्न सात वर्गमा वर्गीकरण गर्न पुग्छ।

एकै परिवारका सदस्यहरू विभिन्न वर्गमा राखेर सरकारी जनगणकले अत्याचारको हद पार गरेका छन् त्यस बेला। उनीहरूले सोझासाझा जनतालाई थाहै नदिएर हुन्छ कि जबरजस्त हुन्छ, कागजमा जथाभाबी सही गराए।

यही जनगणनाको नाममा दक्षिणमा भइरहेको ज्यादतीको विरुद्ध रिजालले आवाज उठाएका हुन्। उनले राजालाई ज्ञापनपत्र चढाएर विवाह अधिनियम र नागरिकता अधिनियममा राखिएका केही धारा संशोधन गर्नका साथै गणनाका नाममा भइरहेको ज्यादतीको सत्यतथ्य छानबिन गर्न राजासमक्ष माग राखेका थिए। तर, भ्रष्टाचारमा मुछिएका मन्त्री दरबारिया र स्वयं राजा मिलेर रिजाललाई देशमा राम्ररी सास फेर्न दिएनन्। उनले सन् १९८८ जुन १० मा भुटान छोडे।

रिजाल बाहिरिएपछि उनका समर्थकलाई सरकारले झूटा मुद्दा लगाउने, रिजालविरुद्ध भड्काउनेजस्ता अनेक कार्य गरे। यही कारण अन्य केही सचेत युवा पनि देशबाट बाहिरिँदै थिए।

सन् १९८९ नोभेम्बरको एक साँझ थिम्पुमा डासो जे.बी. क्षेत्रीलाई भेट्न उनको घरमा गएको थिएँ। यिनी एक त्यस्ता पात्र थिए, त्यस्ता अपवाद थिए जोसँग म बदलिँदै गएको देशको अवस्थाबारे खुलेर कुरा गर्थे। भूतपूर्व काउन्सिलर रहिसकेका उनी मेरा लागि खास थिए।

हाम्रो भेटमा देशको समसामयिक राजनीतिक घटनाक्रम र त्यसको निकासबारे छलफल हुने गर्थ्यो। भुटान सरकारले डासो रिजाललाई नेपालबाट पक्राउ गरेर ल्याएको खबर त्यही साँझ सुने। रिजालसँगै जुझारु युवाहरू जोगेन गजमेर र सुशील पोखरेललाई पनि सरकारले पक्राउ गरेर ल्याएको रहेछ।

यो खबरले म उत्तेजित भएको थिएँ। आफ्नो देशमा बसेर राजनीति गर्ने वातावरण नभएपछि सुरक्षाको खातिर नेपाल पसेका उनीहरूलाई त्यहाँबाट समेत अपहरण गरेर ल्याइनु निरङ्कुशताको पराकाष्ठा थियो। यद्यपि, सरकारले चालेको यस निन्दनीय कदमको देशभित्रबाट खुलेर कसैले विरोध जनाउन सकेनन्। उता, नेपालबाट रिजालसहित जोगेन र सुशीललाई पक्राउ परेपछि पि.एफ.एच.आर.बी.का कार्यवाहक अध्यक्षमा गोपाल घिमिरे चुनिए।

..

यस्तैमा म छुकाको छिमालाखा अस्पतालमा जिल्ला स्वास्थ्य अधिकारी (डि.एम.ओ.) को जिम्मेवारी सम्हाल्न पुगे। सरकारका तर्फबाट डाइरेक्टरले मलाई छिमालाखामा गएर डि.एम.ओ.को जिम्मेवारी सम्हाल्न भनेको थियो। त्यस अघिसम्म म मेडिकल अफिसर मात्र थिएँ।

हुन त म त्यस बेला भुटानको पहिलो फेलो सर्जन थिएँ तर कुनै खास पदमा थिइनँ। मभन्दा धेरै जुनियरहरू जो कुनै खास विषयमा विशिष्टता हासिल नै नगरी यसअघि नै ठुलठुला पदमा आसीन भइसक्दा पनि सरकारको दृष्टि ममाथि भने पर्न सकेको थिएन।

यता मन्त्री पदसमेत खान भ्याएकाहरूमा म कुनै योग्यता, क्षमता, दक्षता वा सम्बन्धित पदलाई चाहिने विषयगत विशिष्टता पाउँदिन थिएँ। त्यसो त मलाई पनि बढुवाका लागि पहल गर्नु भनेर सल्लाह सुझाव नआएको भने होइन। एक पटक मिनिस्टर पेन्जोलाले मैले आफ्नो बढोत्तरीका लागि फारम भर्न सल्लाह दिएका थिए।

‘मैले किन फारम भरिराख्ने? यदि म योग्य छु भने सरकारले मेरो मुल्याङकन गर्नुपर्छ र उचित ठाउँमा राख्नुपर्छ,’ मैले जवाफ दिएको थिएँ।

भुटानमा जति ठुलो ओहोदा त्यति नै ठुलो दरबारको ‘यस म्यान’ हुनु हो। त्यस्तो बढुवाको के अर्थ? बिचरा बढुवा भएर जानेहरूको टिठ लाग्दो हालत देख्दा मलाई विरक्त लाग्थ्यो।

‘मान्छेहरू चाहे रोयल फेमेलीबाट नै किन नहोस्, डा. साबले त कसैलाई बाँकी राख्नुहुन्न। हामीलाई उहाँसँग त बोल्न पनि डर लाग्छ,’ कुरैकुरामा ठ्याक्कै यस्तै आशयमा आफ्नो मनोदशा स्टेट ट्रेडिङ कर्पोरेसन अफ भुटानका म्यानेजिङ डाइरेक्टर आर.बी. बस्नेत (पछि बी.एन.डी.पी.का अध्यक्ष) की श्रीमती मनिकलाले एकपल्ट उर्मिलासँग व्यक्त गर्नुभएको रहेछ। मनिकलाको कुरामा त्यसैबेला त मैले कुनै प्रतिक्रिया जनाइनँ तर सोही कुरालाई अहिले सम्झँदा चाही तत्कालीन अवस्थामा म अलि ‘अबसर्ड’ खालकै मान्छे थिएछु। सायद अहिले पनि छु।

म जुन अवस्थामा थिएँ, ठिकै थिएँ। म अफिसरहरूसँग दोहोरो कुरा गर्न सक्थेँ। विवाद गर्न सक्थेँ। आलोचना गर्न सक्थेँ। चित नबुझेका विषयमा प्रश्न राख्न सक्थेँ। जबकि बढुवाको आशा गरेर बस्ने हो भने यो सब सम्भव नै थिएन।

तर म त्यति विधि अराजक पनि भइहालेको थिइन कि योगदानको कदर गर्दै नियम–कानुनका आधारमा बढुवा गरिएको खण्डमा त्यसको विरोध गरूँ। तर यो ममा लागू भइरहेको थिएन। जसले गर्दा सरकारबारे सोच्न म बाध्य भइरहेको थिएँ। मेरो भाषा, संस्कृति र मैले मान्दै आएको धर्मको बारेमा सोच्न बाध्य तुल्याइरहेको थियो मलाई।

प्रत्यक्ष वा परोक्ष रूपमा सरकारको एकल जातीय नीतिको मेरो जीवनमा पनि असर महसुस गर्दै थिएँ।

म पूर्ण राजनीतिक चेत भएको प्राणी थिइनँ। तर, बढोत्तरीलाई लिएर सरकारको नजर ममाथि पर्न नसक्नुको कारण मेरो भाषा, धर्म, संस्कृति आदि नै हो भन्ने बुझ्न मेरो त्यस बेलाको चेतना काफी थियो भन्ने लाग्छ। यसले मेरो मनमा सरकारप्रतिको वितृष्णालाई थप जागृत गराउन स्वाभाविक थियो।

सरकारले मलाई डी.एम.ओ. बनाएको थियो। मैले डाइरेक्टरकै पदको अपेक्षा कहिल्यै राखिनँ। तर, डी.एम.ओ. नै दिनु थियो भने पहिले नै किन दिइएन? यसरी त सरकारले मेरो कामको मूल्याङ्कन गर्न धेरै ढिलो गरेको प्रस्ट हुन्थ्यो। मलाई लाग्यो डी.एम.ओ. मलाई यसै थुमथुम्याउन मात्रै दिइएको हो।
म खुसी हुन सकिनँ।

त्यस बखत मैले केही प्रतिक्रिया जनाउने निधो गरेको थिएँ। आखिर डराउनु केलाई छ र। भोलि आवश्यक परे बरु स्पष्टीकरण दिउँला। यसर्थ, आफू बेखुसी रहेको जनाउन मैले डी.एम.ओ. का लागि नियुक्ति पत्र समाइनँ।

तर, उक्त अस्पतालको आवश्यकतालाई मध्यनजर राख्दै जिम्मेवारी भने रोकिनँ। मैले नियुक्ति पत्र नलिई जिम्मेवारी सम्हाले।

(पुस्तक विमोचनको सन्दर्भमा एक अंश साभार गरेका हौँ)

टेकनाथ रिजालको निर्वासन अध्याय २७ सुन्नुहोस

निर्वासनका अघिल्ला अध्यायहरु

मृत्युदण्ड दिन ल्याइएको भनेपछि…निर्वासन अध्याय-२६

टेकनाथ रिजालको निर्वासन अध्याय-२५

नेपालको बन्दी बनेका टेकनाथ रिजाल, १० वर्षको भुटानी जेल यातना निर्वासन अध्याय -२४

टेकनाथ रिजालको निर्वासन अध्याय-२३

भुटान दरबारको कोप-भाजनमा परेका Teknath Rizal को निर्वासन अध्याय-२२

टेकनाथ रिजालको निर्वासन अध्याय-२१

टेकनाथ रिजालको निर्वासन अध्याय-२०

हालै रिहा भएका भुटानी राजबन्दी मधुकरको नयाँ जीवनका लागि अपिल, निर्वासन अध्याय-१९

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१८

नेपाली भूमिमा भुटानी शासकको चङ्गुलमा टेकनाथ : निर्वासन अध्याय-१७

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१६

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन अध्याय-१५

नक्कली शरणार्थी : कैफियत प्रतिवेदनमा बिहीबार सुनुवाइ,निर्वासन अध्याय १४

निर्वासन अध्याय- १३

निर्वासन अध्याय-१२

नक्कली शरणार्थी : उच्च अदालतमा टेकनाथको निवेदन, निर्वासन अध्याय-११

नक्कली शरणार्थी प्रकरणका १७ जना उच्च पुगे, एक्लो पारिए टेकनाथ : निर्वासन अध्याय-१०

टेकनाथसँगै जेल पर्‍यो शरणार्थी व्यवस्थापन मुद्दा : निर्वासन अध्याय – ९

रिजालसँग भेटेको मानवअधिकार टोलीलाई अभियानले दियो धन्यवाद, निर्वासन अध्याय-८ (भिडियो)

टेकनाथ रिजालको निर्वासन अध्याय-६ र ७

नक्कली शरणार्थी : सचिव टेकनारायणको जेल कथा, टेकनाथको निर्वासन अध्याय-५

भुटानमा भ्रष्टाचार छानबिन गर्ने जिम्मेवारी पाएका टेकनाथ रिजालको निर्वासन अध्याय-४

अधिकारकर्मीहरूसँग टेकनाथको अपिल, न्यायका लागि लडिदिनुहोस् निर्वासन अध्याय-३

राजालाई अभिभावक मानेर सक्रिय हुन्थे टेकनाथ रिजाल : निर्वासन अध्याय-२ (भिडियो)

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading