बस्नेत र प्रसाईँको सम्भावित झडप रोक्न निषेधाज्ञा

बस्नेत र प्रसाईँको सम्भावित झडप रोक्न निषेधाज्ञा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर देखि नयाँबानेश्वरसम्म निषेधाज्ञा जारी गरेको छ।

एमालेको युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले एकै दिन एकै स्थानमा प्रदर्शन गर्ने घोषण गरेपछि सोमबारदेखि लागु हुने गरी एक महिनासम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र प्रसाद आचार्यले जानकारी दिए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौँका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा आदेश जारी गरिएको हो। उक्त क्षेत्रमा ५ जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ।

एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला वा जम्मा भई अनशन, धर्ना, घेराउ र विरोध प्रदर्शनजस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबिच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने तथा हुलदङ्गा वा अशान्ति हुन सक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्ने भएकाले निषेधित क्षेत्र घोषणा गरिएको उल्लेख छ।

अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेतलाई मध्यनजर गरी जिल्ला सुरक्षा समिति काठमाडौँको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम देहायको क्षेत्रमा सोमबार देखि ३० दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख छ।

गणतन्त्र र राजतन्त्रवादीबीच घम्साघम्सी पर्ने सङ्केत

यही मङ्सिर ७ गते एमालेनिकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एकै समयमा कार्यक्रम गर्न लागेपछि सम्भावित जोखिम रोक्न स्थानीय प्रशासनले उक्त आदेश जारी गरेको जनाएको छ।

मङ्सिर ७ गतेको आन्दोलन प्रति चनाखो रहेको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बताएका छन्। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता अनुसार विरोध गर्ने र माग गर्ने स्वतन्त्रता सुनिश्चित भए पनि एकै ठाउँमा दुई पक्षीय उपस्थित हुँदा हुन सक्ने सम्भावित खतराका विषयमा सरकारले नजिकबाट नियाली रहेको उनले बताए।

निषेधाज्ञा जारी भए सँगै सुरक्षा निकायले माइतीघरमण्डलामा राखिएका तुल ब्यानर निकालेको छ। ५ जना भन्दा बढी भेला हुन नदिन सुरक्षा निकाय माइतीघर मण्डलामा परिचालन भैसकेको छ।

निषेधाज्ञा अघि नै मङ्सिर ७ गते माइतीघर मण्डलामा गर्ने भनिएको कार्यक्रम अन्यत्रै सार्न युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईँ समूह भने सहमत भैसकेका छन्।

सम्भावित झडप हुन नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुवै पक्षको कार्यक्रम एकै मिति र समयमा गर्न नपाउने गरी दुवै पक्षसँग छलफल गरेको जनाएको छ।

काठमाडौँ प्रशासनले माइतीघर–बानेश्वरलगायत क्षेत्रमा सभा, सम्मेलन गर्न रोक लगाएपछि युवा सङ्घ नेपाल र अनेरास्ववियुले सात गते गर्ने भनिएको कार्यक्रमको स्थान परिवर्तन गरेको छ। प्रशासनले माइतीघरमा रोक लगाएपछि तीनकुनेमा प्रदर्शन गर्ने निर्णय भएको युवा सङ्घ नेपालले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.