मानसिक स्वास्थ्यको विषय अझ धेरै ओझेलमा: सरोकारवालाहरू

मानसिक स्वास्थ्यको विषय अझ धेरै ओझेलमा: सरोकारवालाहरू

काठमाडौं : स्वास्थ्य क्षेत्र सुधार र पहुँच वृद्धिका लागि मुलुकमा कानुन निर्माण र नीतिहरू बनाइए पनि विशेषगरी महिला श्रमिक स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको सरोकारवालाहरूले बताएका छन्।

मानसिक स्वास्थ्यको विषय अझ धेरै ओझेलमा रहेको भन्दै उनीहरूले यसका बारेमा पर्याप्त छलफल र स्थानीय तहसम्म पुग्ने कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिए।

तरंगिनी फाउन्डेसनले अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्धको अभियानका सन्दर्भमा आयोजना गरेको कार्यक्रमका वक्ताहरूले अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकको स्वास्थ्यमा पहुँचका विषयमा जोड दिए।

सो अवसरमा बोल्दै जनस्वास्थ्यविद् डा. शरद वन्तले बितेका दुई दशकयता सबैको लागि स्वास्थ्य भन्दै अभियानहरू चलाइए पनि त्यसको नतिजा सन्तोषजनक हुन नसकेको धारणा राखे।

उनले शहश्राव्दी विकास लक्ष्य, दिगो विकास लक्ष्य लगायतमा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न आकर्षक नारा सहित कार्यक्रम राखिए पनि त्यसले श्रमिक महिलाको अवस्थामा तात्त्विक फरक नपारेको विचार प्रकट गरे। उनले कानुन र नीति बनाउनु मात्र पर्याप्त नहुने कुरा प्रमाणित भइसकेको भन्दै महिला स्वास्थ्यको विषयलाई प्राविधिक रूपमा मात्र हेरेर नपुग्ने धारणा राखे।

जनस्वास्थ्यविद् वन्तले मानसिक स्वास्थ्य समग्र स्वास्थ्यकै एउटा पाटो भएको भन्दै तर बजारले सेवाग्राहीलाई ग्राहकमा रूपान्तरण गरिदिएकोमा चिन्ता जनाए। उनले मानसिक स्वास्थ्यको विषय पनि बजारीकरण गरिएको भन्दै त्यो रोक्न आन्दोलन नै आवश्यक रहेको धारणा राखे। त्यस्तो आन्दोलनको स्वरूप फरक हुने भन्दै वन्तले स्वास्थ्य सामाजिक मुद्दा भएको र यसलाई अस्पताल, नर्स जस्ता प्राविधिक व्यक्तिले मात्र सम्बोधन गर्न नसक्ने तर्क गरे।

सो अवसरमा बोल्दै मनोचिकित्सक डा. पुष्प शर्माले जनस्वास्थ्यको विषयसँग सम्बन्धित तथ्याङ्कको अभाव औँल्याए। उनले आत्महत्या, डिप्रेसन लगायतका विषयमा एकीकृत तथ्याङ्क राज्यसँग नै अभाव रहेको भन्दै त्यसको अभावमा प्रभावकारी नीति र कार्यक्रम बनाउन नसकिने विचार प्रकट गरे।

उनले नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन नै बन्न नसकेको भन्दै सो ऐनको आवश्यकतामा जोड दिए। स्वास्थ्य क्षेत्रमा अबको प्रमुख मुद्दा मानसिक स्वास्थ्य नै रहेको भन्दै उनले राज्यले यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

तरंगिनी फाउन्डेसनकी संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले सहजिकरण गरेको छलफलमा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मुलुकका ७७ वटा जिल्लाका ९४ वटा अस्पतालहरूमा सङ्कट व्यवस्थापन केन्द्र सञ्चालनमा रहे पनि त्यसका लागि पठाइने बजेटमध्ये ७५ प्रतिशतको हाराहारी अन्य काममा खर्च गर्ने गरिएको पाइएको बताइन्।

उनले महिला र अझ त्यसमा पनि हिंसामा परेका महिलाले मानसिक समस्या खेप्नु परिरहेको भन्दै उनीहरूलाई मनोपरामर्शको खाँचो औँल्याइन्। प्रहरीमा निवेदन लिएर जाँदा तथा अन्य व्यक्तिलाई घटनाका बारेमा बताउँदा बताउँदा पीडित महिला थप आहत हुने गरेको भन्दै स्थानीय स्तरमै मनोसामाजिक परामर्शदाताहरूको खाँचो रहेको उनको भनाई थियो।

राजनीतिक परिवर्तन रातारात हुने भए पनि सामाजिक परिवर्तनका लागि समय लाग्ने भन्दै उनले यसमा निरन्तर प्रभावकारी अभियानको खाँचो औँल्याइन्।

सो अवसरमा बोल्दै श्रम मन्त्रालयका शाखा अधिकृत अम्बिका प्रसाद अधिकारीले महिला धेरैजसो अनौपचारिक क्षेत्रको श्रममा रहेको हुँदा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै उनीहरूको स्वास्थ्य सुविधामा पहुँच वृद्धि गर्ने सरकारको लक्ष्य रहेको बताए। उनले स्याङ्जाको फेदीखोला गाउँपालिका लगायतले त्यसको अभ्यास सुरु गरिसकेको भन्दै गत मङ्सिर ११ गतेसम्ममा देशभरिबाट गरी ३५ जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी दिए। उनले यो केवल प्रारम्भ मात्र भएको भन्दै अव यसले तीव्रता लिने र महिला श्रमिक सूचिकृत हुने अपेक्षा प्रकट गरे।

छलफललाई सहजिकरण गर्दै डा. रेणु अधिकारीले महिलामाथि हुने हिंसा जनस्वास्थ्यको विषय हो भन्दै मानसिक स्वास्थ्य सेवा पहुँचयोग्य हुनुपर्नेमा जोड दिइन्। जहाँ हिंसा हुन्छ, त्यहाँ मानसिक स्वास्थ्यको विषय हुन्छ भन्दै राज्यले महिला हिंसालाई सम्बोधन गर्ने हो भनेँ मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो।

सवैका लागि स्वास्थ्य अत्यावश्यक रहेको भन्दै उनले जबसम्म नागरिकको शिक्षा, स्वास्थ्य राम्रो बनाउन सकिन्न तबसम्म मानसिक स्वास्थ्य राम्रो नहुने बताइन्। महिला श्रमिक दोहोरो पीडामा रहेको भन्दै उनले स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन अझै प्रभावकारी अभियानको खाँचो औँल्याइन्।

छलफलमा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो नगरपालिकाले सुधारको प्रयास गरिरहेपनि कर्मचारी तथा प्रशासनबाट जनप्रतिनिधिहरूले अपेक्षाकृत सहयोग नपाएको गुनासो गरिन्। बुढानीलकण्ठ नगरपालिकाले यस अगाडी नै श्रमिक पञ्जीकरण लगायतको काम थालनी गरिसकेको छ।

तरंगिनीकी अध्यक्ष समिता प्रधानले आफ्नो संस्थाले घरेलु श्रमिकको अधिकार, उनीहरूको स्वास्थ्य सेवामा पहुँच लगायतका विषयमा पनि काम गर्दै आएको जानकारी दिइन्। उनले घरेलु श्रमिकले पनि पहिचान पाउनु पर्ने भन्दै उनीहरूको पनि शारीरिक मात्र नभई मानसिक स्वास्थ्यको विषयमा पनि रोजगारदाताले ध्यान दिनुपर्ने धारणा राखिन्।

कार्यक्रममा तरंगिनी फाउन्डेसनकी कार्यक्रम संयोजक लुमन्तिसिद्धि बज्राचार्यले नेपालमा महिला श्रमिकको अवस्था र उनीहरूले भोग्दै आएको स्वास्थ्य समस्याका बारेमा प्रस्तुति गरेकी थिइन्। स्वास्थ्य भनेको मानवअधिकारको विषय रहेको भन्दै विश्वव्यापी स्वास्थ्य कभरेजका लागि पनि श्रमिकको पहिचान हुन आवश्यक रहेको उनको भनाई थियो। अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन उनीहरूलाई दर्ता गरिनुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रममा सहभागी महिला श्रमिकहरूले घरेलु, मनोरञ्जन लगायतका क्षेत्रमा रहेका समस्याहरूका बारेमा अवगत गराउनुका साथै सम्बन्धित निकायले गरेको बेवास्ताका विषयमा आफ्नो धारणा राखेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading