पञ्जीकरणमा जन्ममिति र नाम सच्याउने गुनासो धेरै

पञ्जीकरणमा जन्ममिति र नाम सच्याउने गुनासो धेरै

काठमाडौं : जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेदका घटना स्थानीय पालिकामा दर्ता हुँदै आएको छ। ७५३ स्थानीय तहमा रहेका पञ्जीकाधिकारीले दर्ता गर्दै आएको घटना विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा रेकर्ड रहने गरेको छ।

कानुनमा भएको व्यवस्था अनुसार विभागले डेभलप गरेको सफ्टवेयरमा स्थानीय तहमार्फत हालसम्म ३१ लाख ५७ हजार बढीको अनलाइन जन्मदर्ता भएको छ। ६ लाख ८५ हजार बढी बसाइसराइ गरेका छन्।

पञ्जीकरण विभागको वेबसाइट अनुसार अनलाइन विवाह दर्ता सङ्ख्या १२ लाख ६१ हजार रहेको छ भने सम्बन्ध विच्छेद ६१ हजार बढी रहेको छ। ८ लाख ११ हजार बढीको मृत्यु दर्ता विभागको अनलाइनमा सिस्टममा भएको छ।

यो तथ्याङ्क विभागको अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने ६ हजार ६९१ वडा कार्यालयहरूको हो। विभागका अनुसार ७५३ वटै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैङ्किङ प्रणाली अपनाएका छन्।

स्थानीय तहले सेवाग्राहीका समस्या अनलाइनमार्फत नै समाधान गर्दै आएका छन्। पालिका आफैँले समाधान गर्न नसकिने समस्या विभागमा पठाउने गरेका छन्। विभागमा हालसम्म १ हजार ६१८ वटा अनलाइन गुनासो दर्ता भएको सङ्ख्या उल्लेख गरिएको छ।

नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा गल्ती सच्याउन कानुनले एक वर्षको अवधि दिएको छ। एक वर्ष पछि भने सच्याउन कानुनले अधिकार दिएको छैन। जन्म मिति र नाम सच्याउने गुनासो धेरै आउने गरेको विभागले जनाएको छ।

विभागले यस्ता गुनासो सम्बोधनका लागि ऐन संशोधन गर्न भनेको छ। ‘एक वर्षको ठाउँमा एक पटकका लागि जन्म मिति र नाममा गल्ती भएमा सच्याउन मिल्ने व्यवस्था गर्न ऐन संशोधनका लागि पठाएका छौँ,’विभागका एक अधिकारीले पहिचानसँग भने,‘ऐन संशोधन नभएसम्म यो समस्या हालका लागि जटिल रूपमा रहेको छ।’

विवाह दर्ता समेत अनलाइन प्रणालीबाट हुँदै आएको विभागले जनाएको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विभागले डेभलप गरेको सफ्टवेयर अनुसार दक्षिण एसियामै पहिलो पटक इन्द्रेणी (समलिङ्गी) विवाह दर्ता भएको थियो।

१३ मङ्सिरमा विभागले गरेको परिपत्र अनुसार माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको कानुनी रूपमा पहिलो विवाह दर्ता भएको थियो।

दोर्दी गाउँपालिका कार्यालयको पत्र अनुसार विभागले पहिलो पटक ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाहको अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ ब्यहोरा हातले लेखी विवाह दर्ताको प्रमाणपत्र जारी गर्न परिपत्र गरेको थियो।

विभागको परिपत्र अनुसार दोर्दी गाउँपालिकाले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई विवाह दर्ताको प्रमाणपत्र दिएको थियो। विभागको अनलाइन प्रणालीमा रहने गरी माया र सुरेन्द्रको विवाह दर्ता भएको पहिलो हो।

यो पनि

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading