काँग्रेस महासमिति : मलजल गर्ने कार्यकर्ता, फल खाने नेता

काँग्रेस महासमिति : मलजल गर्ने कार्यकर्ता, फल खाने नेता

काठमाडौं : नेपाली काँग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ। पार्टीको आधिकारिक नीति तय गर्नका लागि प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारदेखि सुरु बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे।

देशको पुरानो पार्टी काँग्रेसले महासमिति बैठकबाट नीति तिखार्न लागेको छ। मुलुकलाई सङ्कटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन पार्टीको महासमिति बैठक सफल हुने विश्वास महासमिति सदस्यहरूले गरेका छन्।

तर, नेता नै पिच्छेका गुटैगुटले भरिएको काँग्रेसलाई महासमिति बैठक मार्फत एकताको सन्देश प्रवाह गर्नु पर्ने चुनौती देखिएको छ। महासमिति बैठक भएको ललितपुर जिल्लाका काँग्रेस सभापति जितेन्द्र श्रेष्ठले एकताको सन्देश दिन आव्हान नै गरेका छन्।

सभापतिको एउटा गुट, सभापतिमा पराजित शेखर कोइरालाको अर्को गुट हुँदै महामन्त्रीको समेत गुटका कारण मङ्गलवार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चार वटा मात्रै प्रस्ताव पेस हुने भएका छन्।

फागुन १० गतेसम्म सञ्चालन हुने महासमिति बैठकका प्रतिवेदनहरू भने मङ्गलवार बिहान मात्रै पेस गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति देउवा भने महामन्त्री गगन थापाको चुनावी गठबन्धन नगर्ने निर्णय गरेर जानु पर्ने प्रस्तावका कारण तनावमा परेका छन्। महामन्त्री थापाले अबदेखि कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने विषय प्रतिवेदनमा समेटेपछि देउवा तनावमा परेका हुन्।

नेकपा माओवादी केन्द्रसँगको सत्ता सहकार्य भत्किए मुखैमा आउन लागेको प्रधानमन्त्री पद नै फुत्किने चिन्ताले देउवालाई तनाव बढाएको छ। महासमिति बैठकमा सभापति देउवाले महामन्त्री थापाको अडानलाई काउन्टर दिँदै उक्त प्रस्ताव तत्काल सम्बोधन हुन नसक्ने सङ्केत दिए।

भुईँ मान्छेका आवाज उठाएर पटक पटक सरकारको नेतृत्वमा पुगेको काँग्रेसका नेताहरू टुप्पोमा बसेर फेदमा मलजल गर्ने कार्यकर्तालाई लोभ्याउने गरिरहेको आरोप समेत लागेको छ। जनताको विश्वास जित्नु पर्ने ठाउँमा काँग्रेस नेतृत्व गठबन्धनको साथ टुट्ने डरमा देखिएको छ।

फेदमा बसेर मलजल गर्ने कार्यकर्तालाई बिर्सेर टुप्पोमा बसेर फल खाइरहने नेताहरूको प्रवृत्ति अन्त्य गर्न पार्टी उपसभापति एवं कानुन मन्त्री धनराज गुरुङले माग गरेका छन्।

गुरुङले जनताको मन जित्ने गरी पार्टी अगाडी बढ्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन्। उनले काँग्रेसबाट वडा अध्यक्ष भएका देखि मन्त्री बनेकाहरू सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन्।

तर, सरकारमा सहभागी मन्त्री गुरुङकै सम्पत्ति विवरण गोप्य राखिएको छ। एक्लै सार्वजनिक गर्ने हिम्मत गर्न सकेका छैनन्। वर्तमान मन्त्रिपरिषद्का कुनै पनि सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छैन।

सभापति शेरबहादुर देउवा थिति बसाल्न नसकेको सरकारका बारेमा चुइँक्क बोलेका छैनन्। उनलाई कार्यकर्ता कम हुने भन्दा सत्ता गुम्ने चिन्ताले सताएको छ।

शीर्ष नेताहरू जुँगाको लडाइँमा रहँदा महासमिति बैठकका प्रतिनिधिहरू भने मुलुकलाई सङ्कटबाट पार लगाउने गरी आवश्यक नीति बनाउन बैठक सफल हुने बताउँछन्।

सभापति देउवाको आर्सीवाद पाएर नेपाल तरुण दलको अध्यक्ष बनेका विद्वान गुरुङले व्यवस्थामाथि भइरहेको प्रहारलाई निस्तेज पार्ने गरी आवश्यक नीति बनाउन महासमिति बैठक सफल हुने बताए।

काँग्रेस महासमिति सदस्य डा. सुरेशकुमार कनौडियाले हिन्दु राज्यबारे मुलुकमा जारी बहसलाई सम्बोधन गर्न महासमिति बैठक महत्त्वपूर्ण हुने बताए।

मुलुकमा विद्यमान अनियमितता, भ्रष्टाचार अन्य गर्ने दिशामा पनि महासमिति बैठकले स्पष्ट नीति अङ्गीकार गर्नुपर्नेमा अर्का महासमिति सदस्य भोजराज श्रेष्ठले जोड दिए।

यो पनि

प्रजातन्त्रका नाममा लुटतन्त्र, ढोका खोलेको पूर्वराजाको सन्देश

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading